पहिले नाकमा बस्ने हो कोरोना,स्याकस्याक गरेर सफा गरेपछि चैट! : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी फैलन नदिने विषयमा आफू गम्भीर रहेको बताएका छन्।

बिहीबार नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ७० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपाय अपनाउनुपर्ने बताए।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनले बताए।

कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन नसके प्रधानमन्त्रीकै आलोचना हुने भएकाले आफूले यसतर्फ विशेष सतर्कता अपनाइरहेको उनले बताए।

‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेकै छ,’ उनले भने, ‘कोभिड जहाँ लागे पनि हमला प्रधानमन्त्रीलाई हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नुपरेन? प्रधानमन्त्रीले पनि अब कोभिडलाई लखेट्छ।’

‘अलि तातोतातो पानी लिँदै, नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैँ नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमादिऔं बेसरी गालगुल गरिदिऊँ, घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरि धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही पर्सेन्ट सुरक्षित गर्ने हो केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ,’ ओलीले भने।

कोरोनाविरुद्धको खोपले पनि सम्पूर्ण सुरक्षा दिन नसक्ने बताउँदै उनले सावधानी अपनाउनु नै कोरोना भाइरसको सर्वोत्तम औषधि भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय