कोरोना निको भएका एक तिहाइमा मानसिक समस्या 

कोरोना संक्रमणबाट निको भएका मानिसहरुमा मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ।

‘द ल्यानसेट साइक्याट्री’ नामक एक जर्नलमा छापिएको अध्ययनको रिपोर्टअनुसार संक्रमणबाट निको भएका हरेक तीन व्यक्तिमध्ये एक जनामा मस्तिष्क वा मानसिक समस्या देखिएको छ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले अमेरिकाका दुई लाख ३६ हजार तीन सय ७९ जना विरामीहरुमा यो अध्ययन गरेका थिए।

छ महिना लगाएर गरिएको उक्त अध्ययनमा १० वर्षभन्दा माथिका कोरोना संक्रमितलाई समेटिएको थियो। संक्रमित व्यक्तिहरुलाई इन्फ्लुएन्जा भएका एक लाख र श्वासप्रश्वासको रोग भएका २ लाख मानिससँग तुलना गरिएको थियो।

अध्ययनमा ३४ प्रतिशत व्यक्तिहरुमा कोरोना संक्रमणबाट निको भएको छ महिनापछि मानसिक तथा मष्तिस्क समस्या रहेको देखिएको छ।

त्यस्तै, १७ प्रतिशत मानिसहरुलाई एन्जाइटी डिस्अर्डर देखिएको छ भने १४ प्रतिशतलाई मुड परिवर्तन हुने समस्या देखिएको छ।

७ प्रतिशतलाई लागू पदार्थ दुरुपयोगको डिस्अर्डर र ५ प्रतिशतलाई इन्सोमिया देखिएको छ।

कसलाई बढी मानसिक समस्या देखिन्छ? 

कोरोना संक्रमणबाट गम्भीर समस्या निम्त्याएकाहरुलाई मानसिक तथा मष्तिस्क समस्या देखिएको छ।

‘अबको ६ महिनामा के हुन्छ भनेर भन्न सकिन्न। यसको अझै अध्ययन गर्न जरुरी छ,’ अनुसन्धानकर्ता म्याक्स टाक्वेटले भने।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोना भाइरसका कारण अहिले धेरै मानिसहरुमा मानसिक समस्या, एन्जाइटीजस्ता समस्या देखिन थालेको बताएका छन्।

एक अध्ययनका अनुसार कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुमा मस्तिष्कसम्बन्धी समस्या देखिन थालेको छ।

के संक्रमणबाट निको भइसकेपछि पनि मस्तिष्कसम्बन्धी समस्या देखिन्छ? 

कोभिड–१९ श्वासप्रस्वास सम्बन्धित रोगमात्र होइन, यसले हाम्रो अन्य शरीरको भागलाई पनि असर गर्न सक्दछ।

कोरोनाका लक्षणहरुले पछिसम्म पनि छाप छोड्दछ जसले मानसिक तथा शारीरिक स्वास्थ्यलाई गहिरो असर पार्दछ।

धेरैजसो कोरोना संक्रमण जितेका व्यक्तिहरुले हल्कादेखि गम्भीर जलन, स्ट्रोक र दिमागको समस्या भएको बताएका छन्।

त्यस्तै संक्रमणमुक्त भएका व्यक्तिहरुले टाउको दुखेको, मानसिक भ्रम भएको, रिँगटा लाग्ने, धमिलो देखिने अनुभव गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय