मौसमी संक्रामक रोगबाट बच्चा कसरी जोगाउने?

डा. रमेश यादव

मौसम परिवर्तनसँगै विभिन्न रोगले बालबालिकालाई सताउन थालेको छ।

विशेषगरी पाँच वर्षमुनिका बालबालिका यसको सिकार भइरहेका छन्।

भाइरल ज्वरो, रुघाखोकी, एलर्जीको समस्या तथा दमका रोगी र ब्रोङ्कियोलाइटिस बढ्न थालेका छन्।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हिजोआज यस्ता समस्या बोकेर थुप्रै बिरामी आउने गरेका छन्।

हरेक दिन ७० जनासम्म बालबालिका अस्पताल भर्ना हुन आएका छन्।

अधिकांश अभिभावक आफ्ना सन्तानलाई रुघाखोकी लागेको, सास फेर्दा सिट्ठीजस्तो बज्ने गरेको, झाडापखाला लागेर परामर्श गर्न आउने गरेका छन्।

अधिकांश बालबालिकामा ब्रोङकियोलाइटिस–सास फेर्ने नली सानो भएर बाहिर सास निकाल्दा सिट्ठीजस्तो बज्ने, बालबालिकामा स्वाँस्वाँ हुने गरेको र एलर्जीले ग्रस्त भएर अस्पताल भर्ना हुन आएका छन्।

मौसम परिवर्तनसँगै वातावरण प्रदुषणले पनि बालबालिका बिरामी पर्नमा थप टेवा पु¥याएको छ।

बसन्त ऋतुमा पराग–सेचन हुने समय भएकाले रुखविरुवाको पराग जताजतै वातावरणमा मिसिएको हुन्छ, जसले मानिसमा एलर्जी पैदा गर्दछ।

रुखविरुवाका लागि पराग–सेचन गर्ने यो उपयुक्त समय भए पनि बालबालिका तथा एलर्जी वंशाणुगत रोग भएकालाई एकदमै कठिन समय हो।

यो समयमा रोटाभाइरस सक्रिय हुनेभएकाले बालबालिकालाई पखाला लाग्ने, निमोनिया, रुघा लाग्ने गर्दछ।

झण्डै ९५ प्रतिशत बालबालिकालाई रोटाभाइरसले ग्रसित बनाउँदछ भने हाल अस्पतालमा भर्ना भएका बालबालिकामा नोरोभाइरस ज्यादा देखिएको छ।

बसन्त ऋतुको समयमा नोरोभाइरस सक्रिय हुने गर्दछ।

हाल अस्पतालमा सोही भाइरसका कारण बालबालिकामा पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने र डिहाइड्रेसन भएका धेरै भर्ना भएका छन्। झण्डै ९५ प्रतिशत पाँच वर्षमुनिका बालबालिका यसकै कारण भर्ना भइरहेका छन्।

पानीको मात्रा कमी भएका कारण पनि बालबालिका बिरामी पर्न थालेका छन्।

अस्पतालमा बालबालिकालाई सलाइन पानी तथा जीवनजल खुवाएर हाइड्रेट गरिएको छ। यसैका लागि पनि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

त्यस्तै उनीहरूमा नुनको पनि कमी देखिएको छ।

कसरी सुरक्षित राख्ने बालबालिकालाई?

बालबालिकालाई बाहिर खेल्नबाट रोक्न त सकिँदैन तर उनीहरूलाई हात, मुख र आँखामा छुनबाट रोक्न सकिन्छ।

कोरोना संक्रमण पनि फैलिरहेको समय भएकाले बारम्बार हात धोइदिने गर्नुपर्छ। साथै उनीहरूलाई मास्कको प्रयोग गर्न लगाउने र अभिभावक आफैंले पनि प्रयोग गर्नुपर्दछ।

बालबालिकाका अगाडि खुला मुखले हाँच्छयु गर्नु हुँदैन। ठूला मानिसबाट नै उनीहरूलाई रोग सर्ने भएकाले सतर्क रहनुपर्दछ।

यो समयमा झाडा पखाला लाग्ने भएकाले बालबालिकालाई पानी प्रसस्त खुवाउनुपर्दछ भने झोलिलो खानेकुरा खान दिनुपर्दछ।

त्यस्तै उनीहरूलाई बाहिर किनेका खानेकुरा वा प्याकिङ गरेको जंक फुड खुवाउनु हुँदैन।

प्रदुषणले बालबालिकामा स्वासप्रस्वासमा समस्या आउने भएकाले घरभित्रको प्रदुषणलाई सकेसम्म कम गर्नुपर्दछ।

चुलोमा भन्दा ग्यासमा खाना पकाउँदा धुँवा कम उड्ने र बालबालिकालाई सास फेर्न सजिलो हुन्छ।

सामान्य अवस्थामा युवाले सास फेर्दा एक मिनेटमा १८ देखि २० पटकमात्र सास भित्रबाहिर गर्दछ।

तर, दुई महिनाभन्दा साना बालबालिकाले एक मिनेटमा ६० देखि ७० पटक, दुई महिनादेखि १२ महिनाको बच्चाले ४० देखि ५० पटक र एक वर्षदेखि पाँच वर्षका बालबालिकाले एक मिनेटमा ४० भन्दा कमपटक सास फेर्ने गर्दछ।

त्यसैले जति धेरै धुँवा तथा वातावरण प्रदुषण भयो, बालबालिका त्यतिकै खतरामा हुन्छन्।

त्यस्तै लामखुट्टेको धुप पनि बालबालिका भएको ठाउँमा बाल्नु हुँदैन।

एलर्जी भएमा बाहिर धेरै ननिस्कने र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधी प्रयोग गर्नुपर्दछ।

बालबालिकाका लागि हरेक मौसमका लागि भनेर छुट्टै खोप तयार गरिएको हुन्छ। संक्रामक रोग कुन समयमा आउँछ भनेर अनुसन्धानकर्ताले खोप बनाएका हुन्छन्। हरेक वर्ष वा मौसममा परक खोप आउने भएकाले बालबालिकालाई सुरक्षित राख्न खोप लगाइदिन सकिन्छ।

बालबालिकालाई पहिले नै रुघाखोकीबाट बचाउन त्यस्ता खोपको प्रयोग गर्न सकिन्छ।

( बाल रोग विशेषज्ञ डा. यादव विराट मेडिकल तथा शिक्षण अस्पतालमा कार्यरत छन्।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय