स्वास्थ्य बीमा कार्यक्रम बुधबारबाट ७५ वटा जिल्लामा

हेल्थपोस्ट नेपाल

सरकारले बुधबारबाट ७५ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने भएको छ।

२०७२ चैत्र २५ कैलालीबाट सुरू भएको कार्यक्रम यस वर्षदेखि सबै जिल्ला तथा स्थानीय तहमा कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए।

हाल बिमा कार्यक्रममा ६९ जिल्ला समावेश भएका छन्। बुधबारबाट थप ६ जिल्लामा सेवा विस्तार गर्ने बोर्डले जनाएको छ।

स्वास्थ्य बिमा दिवसको अवसर पारेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भर्चूअल माध्यमबाट मोबाइल एमएमएस सेवा सुरूवात गर्ने कार्यक्रम रहेको छ।

बुधबारबाट ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बिमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू गरिने बोर्डले जनाएको छ।

बिमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको रु तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७०० बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ।

हालसम्म ३७ लाख ४२ हजार ६ सय ५६ जनाले बिमा गराएका छन्। तीमध्ये १४ लाख ४५ हजार ५ सय ३३ जनाले मात्र बिमा कार्यक्रमको सुविधा लिएका छन्।

तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेका छन्।

बोर्डले बिमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ।

‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गछौं,’ बसौलाले भने, ‘ पछि सेवाको गुणस्तरलाई बढावा दिँदै जान्छौँ।’

बसौलाले जनशक्ति अभावले बिमा कार्यक्रममा थप चुनाैती थपिएको बताए।

सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बिमा गरेको बसौलाले बताए।

वडास्तरमा एक जना दर्ता सहयोगी खटाएर बिमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने उनले बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *