त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक सेवासहितको ‘आइसियु’ सञ्चालनमा

 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक सेवासहितको आइसियु सेवा सुरु भएको छ।

करिब पौने ६ करोडको लागतमा १२ शय्याको आइसियु सेवा आजदेखि सञ्चालनमा आएको हो।

विशेष गरी कोरोना संक्रमण तथा अन्य संक्रामक रोगहरुलाई लक्षित गरी सेवा सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक दिनेश काफ्लेले बताए। हरेक शय्यालाई छुट्टै क्याबिन बनाइएको छ। जसमा आधुनिक मोनिटर तथा उपकरणहरु जडान गरिएका छन्।

‘क्याबिनभित्र बिरामीमा भएको संक्रमण नर्स तथा डाक्टर र अन्यलाई नसरोस भनेर ‘नेगेटिभ प्रेसर’(भित्र फेरेको सास वा हावा बाहिर नआउने र भेन्टिलेटर मार्फत फिल्टर हुने) र छुट्टै क्युबिकल्सहरु जडान गरिएको छ,’ उनले भने।

काफ्लेले यस्तो आधुनिक आइसियु बेलायतमा मात्र देखेको बताउँदै नेपालमै सुरु गर्न पाउँदा खुसी भएको बताए। शिक्षण अस्पतालमा जम्मा १२ वटा आइसियु रहेका छन्।

एउटै कोठाभित्र लहरै शय्या राखेर बनाइएका आइसियुभन्दा यो आइसियु एकदम फरक रहेको र सुविधासम्पन्न भएको अस्पतालका जनस्वास्थ्य उपनियन्त्रक राम विक्रम अधिकारीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निर्माण गरिएको आइसियुमा विद्युतले चलाउन मिल्ने शय्या रहेका छन्।

अस्पतालमा हरेक वर्गका बिरामी आउने भएकाले सबैलाई पहिलेकै रु १५ सयमा सेवा दिने अस्पताल प्रशासनले जानकारी दिएको छ।

उद्घाटन कार्यक्रममा पुगेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्वास्थ्य मन्त्रालयले आइसियु निर्माणमा विश्वविद्यालयलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

शिक्षण अस्पतालाई सरकारले वास्ता नगरेको र कोरोना महामारीमा असहयोग भएको बताउँदै उनले हाल सरकारसँगको सम्बन्ध सुध्रिएको बताए।

अस्पतालले सरकारका कार्यक्रमहरु लागू नगरेको बताउँदै स्वास्थ्य मन्त्रालयले शिक्षण अस्पताललाई बेवास्ता गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय