कोरोनाको डरसँगै हात धुने संस्कार बस्दै, संक्रामक रोगमा पनि कमी

कोरोना संक्रमणले विश्वलाई नै त्रसित बनाइरहेका बेला नेपालीहरुमा भने अन्य संक्रामक रोगहरुमा कमी आएको देखिएको छ।

गर्मी मौसम सुरु हुनेबित्तिकै हरेक दिनजसो ज्वरो, खोकी, फुड प्वाइजनिङ, पखाला तथा अन्य सरुवा रोगबाट ग्रसित भएर ७० देखि ८० जना विरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेकोमा त्यो संख्यामा कमी आएको हो।

तर गत वर्षदेखि संक्रमित बिरामीहरुको घुइँचोमा कमी आउन थालेको वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट डाक्टर शेरबहादुर पुनले बताए।

‘गर्मी सुरु भएलगत्तै विभिन्न खालका रोगबाट ग्रसित भएर मानिसहरु अस्पतालमा उपचार तथा परामर्श गर्न आउँथे तर एक वर्षदेखि मौसमी तथा संक्रामक रोगका बिरामीहरु कमै मात्र अस्पताल आउन थालेका छन्, उनले भने।

मानिसहरुमा आएको चेतनाकै कारण संक्रामक रोगको कमी आएको उनी बताउँछन्।

गत वर्ष कोरोना संक्रमण तथा लकडाउनका कारण मानिसहरु घरमै बसे र घरका खानेकुराहरु खाने बानी गर्न थालेका छन्।

त्यस्तै संक्रमित हुने डरले मास्कको प्रयोग तथा बारम्बार हात धोइरहने वा स्यानिटाइजर प्रयोग गर्ने बानी बस्यो। जसले गर्दा धेरैजसो रोगहरुमा कमी आएको उनले बताए।

पहिले गर्मी महिना सुरु भएपछि पेटको समस्या, झाडापखाला, आउँ, टाइफाइ, जण्डिस, ज्वरोका विरामीहरु बर्सेनि देखिन्छन्। साथै डेंगु र स्क्रब टाइफसको रोग लागेर विरामीहरु अस्पतालमा भरिभराउ देखिन्थे। तर कोरोनाको डरसंगै अन्य सरुवा रोगहरुमा भने कमी आएको छ।
‘लकडाउनको समयमा केही मानिसहरु बिरामी हुँदा पनि अस्पताल नआएका हुन सक्छन्, तर अहिले त्यस्तो अवस्था छैन। तैपनि फाटफुट मात्र विरामीहरु देखिएका छन्,’ उनले भने।

अहिले कमै मानिसहरु बाहिर रेष्टुराँ, सडकछेउ बेच्ने गरेका खानेकुरा खाने गरेका छन्।

त्यस्तै मानिसहरुले कोरोना संक्रमण होला भनेर साथीभाइ कमै भेट्ने गरेकाले पनि सरुवा रोगका बिरामीमा कमी आएको अनुमान लगाएका छन्।

सबैभन्दा महत्वपूर्ण त हातको सरसफाइ रहेको डा पुन बताउँछन्।

देशमा केही वर्ष अगाडिसम्म पनि मानिसहरुलाई हात धुन सिकाइएको थियो। आधाभन्दा बढी रोगहरु हातको सफाइ नभएका कारण लाग्ने गरेका छन्। मानिसहरुमा हात समय–समयमा धुनुपर्छ भन्ने चेतना नै थिएन।

‘तर कोरोना भाइरस एक हिसाबले हाम्रो लागि फाइदाजनक सावित भएको छ। यसले मानिसहरुमा हातको सरसफाइ गर्ने बानी बसालिदिएको छ,’ उनले भने।

अन्य पश्चिमा देशहरुमा जन्डिस, हैजा तथा झाडापखाला जस्ता रोगहरु कमै देखिन्छन् किनकि उनीहरु हातको सरसफाइमा ध्यान दिन्छन्, तर नेपालमा हात धुनेबानी नभएकै कारण यस्ता रोगहरु अहिलेसम्म पनि नियन्त्रण हुन सकेको छैन।

डा पुनका अनुसार कयौं स्वास्थ्य अनुसन्धानहरु तथा लेखहरुमा एउटा मानिसलाई एकै समयमा दुईवटा छुट्टा छुट्टै भाइरसले संक्रमण गर्न सक्दैन भन्ने तथ्य फेला परेको छ। त्यही कारण पनि कोरोना भाइरसको संक्रमण भइरहेको समयमा मौसमी भाइरसहरुले आक्रमण नगरेको हुन सक्ने उनी बताउँछन्।

तर यो कुरा सबैलाई लागू नहुन पनि सक्ने उनको भनाइ छ।

मौसम परिवर्तनसँगै भाइरस र ब्याक्टेरियाहरुले आक्रमण गर्ने भएकै कारण मानिसहरु विरामी परिरहन्छन्।

तर अहिले मानिसहरु सहजतासँगै बाहिर निस्कन थालेका छन्। बाहिरका खानेकुराहरु बढी खाने, हात मुख धुने अथवा मास्क नलगाउने हो भने फेरि पनि मौसमी फ्लुहरुको समस्या बढ्न सक्ने डा पुन बताउँछन्।

तर रोग हराउँदै जानु राम्रो भएतापनि शंका गर्नुपर्ने र अनुसन्धानको विषय भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय