बढ्दै ‘रहर’ को बालविवाह

धनु विश्वकर्मा
प्रकाशित
२०७७ चैत २२ गते १४:४६

बाजुराको बडिमालिका ७ की सुनिता विक (१७) ले २ वर्षअघि ८ कक्षामा पढ्दापढ्दै भागेर बिहे गरिन्। बिहे गर्दा उनको उमेर १५ वर्षको थियो भने श्रीमान गोपाल विक १६ वर्षका।

बिहे भएको वर्षदिन नबित्दै उनले बच्चा जन्माइन्। बच्चा जन्मिएपछि उनको स्कुल पनि छुट्यो। श्रीमान गोपाल कमाउन विदेशिएका छन्। उनी छोरी स्याहार्न, वस्तुभाउ हेर्न, घरपरिवार सम्हाल्न व्यस्त हुने गर्छिन्।

वृद्ध अवस्थामा पुगेका सासुससुरालाई स्याहार गर्दागर्दै घाम कतिखेर छानामाथि पुगेर ढल्कन्छ पत्तै पाउँदिनन्।

पढाइ त कता छुट्यो, छुट्यो।

 सुनिता र गाेपालकाे प्रेमकाे कथा 
सुनिता सिराडी गाउँकी हुन् भने गोपाल जिल्लीका। गोपालको गाउँबाट सुनिताको गाउँ पुग्न करिब १ घण्टाको पैदल यात्रा गर्नुपर्छ। गोपाल र सुनिता नाताले साली–भेना पर्थे। सुनिता लजालु स्वभावकी थिइन्। भेनासँग उनी खासै बोल्दिनथिन्। तर साथीहरूले उनीहरूलाई नाम जोडेर जिस्काइरहन्थे।

गोपालले सुनितालाई मन पराउँदा रहेछन्। तर गोपालले आफूले मन पराएको कुरा सुनितालाई कहिल्यै भन्न सकेनन्। एकदिन एक जना नजिकका केटी साथीमार्फत् आफूले सुनितालाई मन पराएको कुरा भन्न लगाएछन्। गोपालसँग मोबाइल थियो। तर सुनितासँग थिएन। यसैले पनि उनले दोस्रो व्यक्तिमार्फत् आफ्नो मायाको कुरा सुनितासामु व्यक्त गरे।

गोपालले सुनितालाई मन पराएको कुरा एकान-दोकान–मैदान भयो। विस्तारै धेरै साथीले थाहा पाए। अर्की केटी साथीको मोबाइलमा गोपालले कल गर्थे। त्यसपछि बल्ल सुनितासँग कुराकानी हुन्थ्यो। कुरा गर्दै जाँदा एक अर्कालाई मन पराएको अनुभूत हुन थाल्यो। कहिलेकाहीँ त घण्टौँ बोल्ने गर्थे।

अलग कक्षामा पढ्ने भएकाले विद्यालयमा उनीहरु खासै बोल्न पाउँदैनथे। कहिलेकाहीँ गाउँमा मेला लाग्दा,  सदरमुकाम आउँदा राति अबेरसम्म कुराकानी गरेपछि मात्रै घर जान्थे।

सुनिताको मनमा भने कताकति डर पनि थियो। गाउँमा साथीहरूलाई थाहा छ अब घरमा आमाबुबाले थाहा पाए के हुने होला भन्ने लागिरहन्थ्यो। एकदिन गाउँमै असोजको महिनामा ‘अनन्ते’ भन्ने मेला लाग्यो। सबै जना मेला हेर्न गए। सुनिता पनि गइन्। गोपाल पनि साथीहरूसँगै आएका थिए। उनीहरू भेटघाट र कुराकानी गरेर बसे। साथीहरूले मेलामा सुनिता र गोपाल सँगै बसेका छन् भनेर हल्ला फिँजाएछन्। त्यसपछि त गोपालले ‘अब लाज भयो भागौं’ भन्न थाले। सुनिता पहिले त मानिनन् तर भित्रभित्रै घर कसरी जाने भने डर लागिसकेको थियो। अन्ततः उनी गोपालको घर आउन राजी भइन्। अनन्ते मेला लागेको मौकामा राति करिब १ बजे गोपालका साथीहरू र सुनिता गोपालको घर आए।

भोलिपल्ट बिहान सुनिताका परिवार खोज्न आउँछन् भनेर साथीहरूका सल्लाहअनुसार राति नै उनीहरू माथि लेकको छानोमा लुक्न गए। साथीहरूले लेकसम्म पुर्‍याए अरू तल गाउँ आए।

गाउँमा गोपालकी आमा ओखलमा धान कुट्दै थिइन्। गोपालका साथीहरूले गोपालले श्रीमती ल्याएको कुरा सुनाए। आमा त खुसी भइन् र हत्त न पत्त गोपालका बुबालाई सुनाइन्। गोपालको बुवा पनि गोठबाट आएर दूध ठेकीमा हाल्दै थिए। आमाले छोराले बुहारी ल्याएको कुरा सुनाइन् । दुवै जनाले ‘अब पल्लो गाउँले इस्टकी छोरी हो, खबर गर्न आउँछन् चनाखो भएर बस्नु’ भने।

मेला गएकी छोरी छिमेकी गाउँको केटोसँग भागी भनेर थाहा पाए सुनिताका बाबुआमाले। खोज्न गोपालको घर आइपुगे। सुनिता र गोपाललाई सँगै राखे। सोधपुछ गरे। उनीहरू दुवैले आफूखुसी विवाह गरेको बताए र करिब छ महिना प्रेममा रहेको पनि बताए। दुवैतर्फका आमाबुवा राजी भए। अब मंसिरमा बिहे गर्ने पक्का भयो।

उनीहरूको धूमधाम बिहे भयो। बिहे भइसकेपछि गोपाल त विद्यालय जान सुरु गरे। तर सुनिताले भने असहज मानिन्। घरमा काम भए पनि सासुससुराले विद्यालय जाऊ भने। पहिले पहिले गइन् तर बिस्तारै विद्यालय जानै छोडिन्। दुई जिउकी भइन्। पेट पनि बढ्दै गयो। बिहे गरेको वर्ष दिन नबित्दै उनले बच्चा जन्माइन्। अहिले उनको छोरी एक वर्षकी भइसकेकी छिन्। उनको तोते बोली सुरु हुन लागिसकेको छ।

छोरी जन्मेको करिब २ महिनामै गोपाल हातमा हरियो पासपोर्ट बोक्दै कतार गए । गोपालले एसइई दिए। बुवा पनि वृद्ध उमेरका। अन्तत  गोपाल विदेशिए। अहिले सुनिता छोरी स्याहार्छिन्। घरमा सासुससुरा मात्र छन्। नन्दको बिहे भएको पनि दुई महिना भयो। वस्तुभाउ पनि टन्नै पालेकी छिन्।  खेतबारीमा धान कोदो लगाइराखेकी छिन्। बेलाबेला फुर्सदमा मात्रै माइती जान्छिन्। गोपालले आफ्नो पुरानो मोबाइल छाडेर गएका छन्। सुरुवालको खल्तीमा घरी-घरी गोपालको फोन आउँछ। महिना पुगेपछि पैसा पठाइदिन्छन्। उनी घर खर्च चलाउँछिन्। गोपालले विदेश जाँदा लागेको ऋण पनि लगभग तिरिसकेकाछन्।

पहिले बाध्यता, अहिले रहर
कर्णाली र सुदूरपश्चिममा सुनिताका जस्ता थुप्रै किशोरीका कथा छन्, जो सानै उमेरमा बिहे गर्छन्।

‘पहिले अभिभावकले सानै उमेरमा बिहे गरिदिने चलन थियो। तर आजभोलि केटाकेटी आफैँले मन पराएर बिहे गर्छन्,’ स्थानीय लक्ष्मी निमाविकी शिक्षिका थुँगादेवी विक भन्छिन्।

अब प्रश्नचाहिँ शिक्षित भएरमात्रै पुग्दो रहेनछ त्यसका लागि बालविवाह गर्नुहुन्न भन्ने चेतना जागृत हुनुपर्छ। सोही वडाका वडाध्यक्ष धर्मराज उपाध्यायका अनुसार वडा नम्बर ७ मा बालविवाह एकदम धेरै छ।

बालविवाहको अर्को पाटो पनि छ। उमेर नपुगी कानुनी रूपमा उनीहरूको बिहे दर्ता हुँदैन। तर बच्चा जन्मिसकेको हुन्छ। अनि, बच्चा पनि जन्मदर्ता पाउनबाट वञ्चित हुन्छ।

लक्ष्मी निमाविका प्रधानाध्यापक लालचन्द्र जैसीका अनुसार बालविवाह भएपछि किशोरहरुलाई समस्या नभए पनि किशोरीहरु पुन:स्थापित हुन एकदम गाह्रो हुन्छ।

अपरिपक्व उमेरमा बिहे गर्दा स्वास्थ्यमा निकै असर पर्ने, दायित्वबोध बढी हुने, आफू खेल्ने बेलामा बच्चालाई खेलाउनु पर्ने, भविष्य नै अन्योल हुने कुरा चुथी स्वास्थ्य-चौकीका हेल्थ असिस्टेन्ट अर्जुन बिस्ट बताउँछन्। ‘धेरै संघसस्थाहरूले बालविवाहविरुद्धका कार्यक्रम दिनदिनै गरेका देखिन्छन्, तर नतिजा भने शून्य छ। अब किन भनेर प्रश्न गर्ने बेला भयो,’ उनी भन्छन्।

पिसविन नामक संस्थाले लामो समयदेखि बाजुरामा बालविवाहसम्बन्धी कार्यक्रम गर्दै आएको छ। तर लक्ष्य अनुसारको नतिजा नआएको संस्था आफैं स्वीकार्छ।

समाजको संस्कार अभिभावकले मात्रै होइन छोराछोरीले पनि देखिरहेका हुन्छन्। ‘त्यो समाजको पाठ्यक्रम हो जुन हरेक व्यक्तिको मानसपटलमा हुन्छ। त्यो यत्तिकै परिवर्तन हुँदैन,’ पद्मकन्या कलेजमा मनोविज्ञान विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत बिनु भट्टराई भन्छिन्, ‘समाज परिवर्तन गर्न सजिलो छ तर संस्कार सजिलो छैन।’

कानुनी रूपमा बालविवाह गर्नु अपराध मानिन्छ। तर यस्ता समाजमा बालविवाह रोकिएका छैनन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार बालविवाह भयो भनेर जाहेरी दिन सकेसम्म त आउँदै आउँदैनन्, आइहाले पनि जाहेरीकर्ता प्राय केटी पक्षमात्र हुन्छन्। ‘यस्तोमा दुवै पक्षलाई राखेर छलफल गरिन्छ, केटाकेटी पनि मन मिलेर भागेको भन्छन्। केटीमा दाग लाग्यो भन्दै दुवै पक्ष मिल्छन् र अबिर जात्रा गरेर घर फर्किन्छन्,’ उनी भन्छन्।

डिएसपी भाटका अनुसार गाउँका अगुवा नेताहरू आएरै नै मिलापत्र गर्छन्। यसमा प्रहरी कार्यालय पनि दोषी भएको उनी स्वीकार गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय