२४ वर्षीया छोरीले दिइन् बाबुलाई कलेजो
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ।
शनिबार भक्तपुरका ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो।
केन्द्रका प्रशासन प्रमुख हरि पोखरेलका अनुसार केन्द्रमा भएको कलेजो प्रत्यारोपण छैटौं पटक हो।
४४ वर्षीय धन प्रजापतिलाई उनकै २४ वर्षीया छोरीले कलेजो दान गरेकी हुन्।
उनका अनुसार प्रत्याराेपणमा डा छेतेन योञ्जन, डा अनिसा तिवारी, डा ललित दास, एनेस्थेसियामा डा आरती राई, डा शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता लगायतको टोली संलग्न थियाे।
टोलीलाई भारतको म्याक्स अस्पतालका विज्ञ टोलीले सहयाेग गरेकाे पोखरेलले जानकारी दिए।
योसँगै नेपालका तीन वटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ।
केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा १ गरी १२ जनामा प्रत्यारोपण भएको हो।
कलेजो प्रत्यारोपण नेपालमा कम हुनुको कारण दक्ष जनशक्तिको अभाव र निकै खर्चालु भएको उनी बताउँछन्।
प्रत्यारोपण गर्नका लागि केन्द्रका डाक्टरहरुले प्रशिक्षण लिइरहेका छन्। केन्द्रमा कलेजो प्रत्यारोपण गर्नकै लागि २० लाख रुपैयाँ आवश्यक पर्ने पोखरेलले बताए।