कोरोना संक्रमितको मृत्यु सम्भावनालाई प्रदुषणले अझै बढायो

हेल्थपोस्ट नेपाल

गत एक वर्षयता कोरोना भाइरसको मार खेपिरहेका मानिसहरुले केही महिनादेखि वायुप्रदुषणको सकस पनि झेलिरहेका छन्।

प्रदुषणले धुम्म पारेको तुवाँलोमय वातावरणले कोरोनाबाट हुने मृत्युलाई पनि बढाएको छ।

प्रदुणकै कारण कोरोना संक्रमितको मृत्युको मुखमा पुग्ने गरेका छन् भन्ने सायदै कसैले कल्पना गर्न सक्ला। तर, प्रदुषणको मात्रा र कोरोना संक्रमितको मृत्युदर बढ्दै जानु एकआपसमा सम्बन्धित रहेको अध्ययनले पुष्टि गरेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले वातावरण प्रदुषण र कोरोना संक्रमितको मृत्यु सम्बन्धमा गरेको अध्ययनमा २५ प्रतिशतले संक्रमितको मृत्यु हुने सम्भावनालाई प्रदुषणले बढाएको उल्लेख छ।

गत एकवर्षदेखि वातावरण प्रदुषणले कोरोना संक्रमितको मृत्यु कसरी बढाउँछ भनी अध्ययन गरेको परिषदले पूर्वप्रारम्भिक निष्कर्षमा विश्वको तथ्याङ्कमा नेपालमा हुने मृत्युको संख्या बढी देखाएको छ।

हालै अमेरिकामा गरिएको एक अध्ययनले धेरै लामो समयसम्म कम पिएम २.५ (एक माइक्रोग्राम पर क्युबिक मिटर) भएको वातावरणमा मानिस रहिरहँदा ८ प्रतिशतले कोरोनाको मृत्यु बढाउने देखाएको थियो।

हावामा प्रदुषणको मापदण्ड अनुसार पिएम २.५ एकदमै सूक्ष्म कण हो। कतिसम्मको प्रदुषित हावाले स्वास्थ्यमा असर गर्छ भनेर पिएम २.५ ले मापन गर्दछ।

विगत केही महिनादेखि काठमाडाैं उपत्यकामा प्रदुषणको मात्रा एकदमै बढेको पाइएको छ।

गत पुस महिनामा नेपालको प्रदुषण मात्राले विश्वका सबै देशलाई पछाडि पारेको थियो।

त्यसबेला हावामा प्रदुषणको मात्रा बिहानको समयमा ४८७ माइक्रोग्राम रहेको थियो, जुन अन्य देशभन्दा दोब्बर थियो। त्यसै समयमा किर्गिस्तानमा २९६, भियतनाममा २४१ र बंगलादेशमा २०३ माइक्रोग्राम थियो।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० देखि २५ माइक्रोग्राम स्वास्थ्यका लागि सुरक्षित हुन्छ।

२५ देखि ४० माइक्रोग्राम भए हल्का प्रदुषित हावाका रूपमा लिइन्छ।

त्यस्तै ४० देखि ७५ माइक्रोग्रामलाई प्रदुषित र स्वास्थ्य समस्या हुनेलाई असर गर्दछ।

७५ देखि १५० माइक्रोग्रामलाई अतिप्रदुषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदुषण भए खतराजन्य परिस्थितिका रूपमा हेरिन्छ र यसबाट सकेसम्म जोगिएर बस्नुपर्ने हुन्छ।

तर, लामो समयदेखि नेपालीहरुले १५० माइक्रोग्राम भन्दा माथिको प्रदुषण खेपिरहेका छन्। जसका कारण उनीहरुमा नसर्ने रोगको लक्षण तथा रोग नै देखा पर्दछ।

परिषदले गरेको अनुसन्धानमा पनि कोभिड–१९ बाट मृत्यु हुने बिरामीहरु नसर्ने रोगबाट ग्रसित छन्।

अध्ययनबाट कोभिड–१९ को मृत्युमा वायुप्रदुषणले असर गर्ने तथ्य फेला परेको हो।

परिषदका अनुसन्धान प्रमुख डाक्टर मेघनाथ धिमालले लामो समयको प्रदुषणका कारण मानिसहरुमा स्वासप्रस्वासको रोग वृद्धि भएको र यसले कोरोना संक्रमितको मृत्युलाई बढाएको बताए।

नसर्ने रोग बढ्दै जानुको दोस्रो मुख्य कारण वायुप्रदुषण हो।

बढ्दो प्रदुषका कारण मानिसहरुमा स्वासप्रस्वासजन्य रोग, रक्त धमनी सम्बन्धी रोग, इस्केमिक मुटुरोग तथा फोक्सो क्यानसरजस्ता रोगहरु बढ्दो क्रममा रहेका छन्।

जति प्रदुषणको मात्रा पिएम २.५ बढ्दै जान्छ, मानिसहरुमा हाइपरटेन्स, किड्नी रोग तथा मधुमेहसम्मको वृद्धि हुन्छ।

प्रदुषणको मात्रा कम गर्न सके नसर्ने रोगलाई १५ प्रतिशतले कम गर्न सकिने अध्ययनले देखाएको छ।

धिमालका अनुसार अध्ययन गर्दा कोरोना सुरु भएको एक वर्षको दैनिक संख्या तथा प्रदुणको दैनिक मात्रालाई तुलना गरिएको हो।

‘प्रदुषण बढेको बेलामा कसरी मृत्यु बढ्यो भनेर मोडलिङ गरेर हेरेका थियौं।

मोडलिङ गर्दा एक माइक्रोग्राम पर क्युबिक मिटर बढ्दा कति कोरोनाको केश बढ्यो भनेर एक वर्षको अध्ययन गरिएको थियो। यसमा वातावरण प्रदुषणका कारण झण्डै २५ प्रतिशतले कोभिड–१९ को मृत्यु बढाएको देखिएको छ।’, उनले भने।

यस अनुसन्धानमा तापक्रम, वर्षा र प्रदुषणको मात्रालाई हेरिएको थियो भने अन्य थप पारामिटरको पनि अनुसन्धान भइरहेको छ।

‘प्रदुषणसँगै कोरोना संक्रमण पनि बढ्दै छ। यसलाई एकदमै संवेदनशील रुपमा हेरिनु जरुरी छ।

यसरी नै प्रदुषण बढ्दै गए, कोरोना संक्रमण भएका व्यक्तिहरुको मृत्यु बढ्दै जानेछ,’ धिमालले भने।

हरेक वर्षजस्तो कायमै रहेको प्रदुषणमा वन डढेलोले अझ बढाउन मद्दत गरेको छ।

यो आर्थिक वर्षमा २७ सय भन्दा बढी वन डढेलो लागेको तथ्यांक रहेको छ भने ७३ जिल्लाबाट डढेलोको रिपोर्ट भएको छ।

‘पहिलेदेखि नै प्रदुषण थियो, यसमा थप वन डढेलो र वर्षा नभएको कारण तुवाँलो बढेको छ। यसले स्वास्थ्यलाई झनै घातक बनाएको छ।’

विश्वभर दोस्रो भेरियन्टको कोरोना भाइरस फैलिरहेको छ। छिमेकी देशमै सातसय बढीमा ‘डबल म्युटेन्ट’ भाइरस देखिएको छ। यस्तो

अवस्थामा नेपालमा प्रदुषणको मात्रा बढ्दा कोरोनाबाट मृत्युहुने संख्या पहिले भन्दा दोब्बर नहोला भन्न सकिन्न।



Leave a Reply

Your email address will not be published. Required fields are marked *