भक्तपुरमा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण

हेल्थपोस्ट नेपाल

भक्तपुरमा शनिबार निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. २ स्थित जेसिस स्कुलको प्रांगणमा बिहानदेखि परीक्षण सुरु भएको हो।

स्तन र पाठेघर क्यान्सरबाट धेरै महिलाहरु पीडित बनिरहेको भन्दै भक्तपुर नगरपालिकाले शिविर सञ्चालन गरेको हो।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर उपचार निकै महँगो भएका कारण समयमै यो रोगको पहिचानको लागि नगरपालिकाले नगरका सबै वडाहरुमा निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए।

रोगले व्यक्तिमा शारीरिक र मानसिक असर पुर्‍याउने हुँदा समयमै आफूसँग रोग भए÷नभएको परीक्षण गरिरहनुपर्ने उनले बताए।

नगरपालिकाले जनस्वास्थ्य सेवा केन्द्रमार्फत निरन्तर जनतालाई सेवा प्रदान गर्दै आइरहेको बताउँदै प्रजापतिले नगरपालिकाद्वारा निर्माणाधीन ख्वप अस्पतालले स्तरीय र सुविधासम्पन्न स्वास्थ्य सेवाहरु प्रदान गर्ने दाबी गरे।

नगरपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडावासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको बताए।

नगरपालिकाले गरिब  जनतालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक ऋण तथा छात्रवृत्ति, कृषि प्राविधिक तालिम, घरदैलो नर्सिङ सेवालगायतका कार्यहरुमा जोड दिँंदै आएको उनले जानकारी दिए।

कार्यक्रममा वडासदस्य तुल्सीलक्ष्मी दुमरुले स्वस्थ रहनु भनेकै धनी हुनु हो भन्दै नियमित व्यायाम र स्वास्थ्य जाँच गरिरहनुपर्नेमा जोड दिइन्।

वडा नं. २ का स्थानीय राजन जतिले कोभिड महामारी फैलिएको समयमा राम्रोसँग उपचार नपाएका धेरैजना अहिले विभिन्न रोगका समस्या देखिएको बताए।

उनले वडाले सञ्चालन गर्ने यस्ता गतिविधिहरुमा सक्रिय सहभागिता रहनु सकारात्मक रहेको बताए।

शिविरमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर रोशनी छुकांले महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए—नभएको पत्ता लगाइने जनाइन्।

व्यक्तिगत सरसफाइमा ध्यान दिन सकेमात्रै धेरै रोगबाट बच्न सकिने उनले बताइन्। शिविरको उद्घाटन नगरपालिकाका प्रमुख प्रजापतिले गरेको हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *