कोरोना खोप लगाइसकेपछि १० को मृत्यु, सरकारले अनुसन्धान गर्दै

नेपालमा कोरोना खोप (कोभिसिल्ड) लगाइसकेपछि १० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ।

तर, सो मृत्यु खोप अथवा अन्य कारणले भएको हो एकीन गर्न सरकारले अनुसन्धान गरिरहेको छ।

सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका मानिसलाई कोरोना खोप दिएको थियो।

अधिकांस मृत्यु हुनेमा वृद्धवृद्धा नै रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्रोतका अनुसार, हालसम्म १० जनाको मृत्यु रिपोर्ट प्राप्त भएको छ। तर, स्थानीय तवरबाट उनीहरू मृत्यु खोपले नभई प्राकृतिक कारणले भएको रिपोर्टिङ गरेका छन्।

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लामा खोप पाएपछि केही दिनमा मृत्युको घटना घटेको थियो।

‘पहिलो चरणमा खोप अभियानमा मृत्युको ‘केश’ आएको थिएन। तर, वृद्धवृद्धामा खोप दिएपछि मृत्युको केही घटना घटे,’ स्रोतले भन्यो।

स्थानीय तहबाट आएका यी घटनामाथि थप अनुसन्धान भइरहेको खोपपश्चात हुने अवान्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा।धनराज अर्यालले बताए।

कोरोना खोपले देखिएको असरबारे स्थानीय तहमा रहेका खोप विज्ञ तथा विश्व स्वास्थ्य संगठनका अधिकारीले पहिलो चरणको अनुसन्धान गर्छन्।

सो अनुसार उनीहरूले केन्द्रको तहमा रिपोर्टिङ गर्छन।

‘कोरोना खोपका कारणले मृत्यु हुने सम्भावित कुरालाई बिरामीको असरसँग हेरी नजिकबाट नियाल्ने काम गरिन्छ,’ अर्यालले हेल्थपोस्टसँग भने, ‘केन्द्र तहमा आएको रिपोर्टिङमा अझै त्यसलाई गहिराइमा पुगेर अनुसन्धान गर्दछौं।’

कोरोना खोपको असरबारे रिपोर्टिङ विश्व स्वास्थ्य संगठनसम्म पुर्याउनुपर्ने उनले बताए।

‘यो खोपको कारणले हामीकहाँ धेरै जनामा गम्भीर समस्या देखिएको छैन,’ उनले भने, ‘केहीमा ज्वरो आएर अस्पताल बसेपछि रिकभर भएका छन्।’

मृत्युको केशहरू स्थानीय तहबाट आएको रिपोर्टलाई अध्ययन गरिहेको उनले बताए।

तर, प्राप्त केशहरू खोपकै कारणले भएका हुन् भन्ने एकीन भइसकेको छैन।

मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति छन्।

‘एउटै स्थानबाट मृत्यु भएको केश आएको छैन। विभिन्न स्थानबाट मृत्यु भएको केही घटनाको रिपोर्टिङ भएको छ,’ उनले भने।

हालसम्म नेपालमा १७ लाखको हाराहारीमा कोरोना खोप लगाइएको छ।

चिकित्सकका अनुसार ‘कोभिसिल्ड’ खोप एकदमै प्रभावकारी रहेको छ।

सो खोपको प्रभावकारीता ७० प्रतिशतसम्म रहेको अनुसन्धानले देखाएको छ। तर, केही व्यक्तिमा खोपले असर पनि गर्न सक्छ।

त्यस्तो संख्या लाखौंमा १–२ हुनसक्ने खोप विज्ञले जनाएको छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ७७ हजार ६ सय ४० जनामा संक्रमण देखिएको छ।

जसमध्ये २ लाख ७२ हजार ९ सय ६२ संक्रमणबाट मुक्त भएका छन्।

हालसम्म ३ हजार ३१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय