न्याम्सको सिनेट बैठक आइतबार बस्दै, छैनन् अस्पताल सुधारका नयाँ एजेन्डा

हेल्थपोस्ट नेपाल

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल को सिनेट (सभा) भोलि (आइतबार)बस्ने भएको छ।

प्रतिष्ठान कार्यकारी परिषदको गत शुक्रबार बसेको बैठकले आइतबार सिनेट बैठक बोलाउने निर्णय गरेको थियो।

विगतमा परिषद बैठक न्याम्स कार्यालयमा नै बस्ने गरेको थियो। तर, सिनेटको बैठकमा नयाँ खालको एजेन्डामा छलफल हुने देखिएको छैन।

प्रतिष्ठानकी रजिष्ट्रार प्रमिला देवानका अनुसार विगत झैं नियमित छलफल हुनेछ।

‘वार्षिक योजना पारित गर्ने, साधारण सिनेटले गर्नुपर्ने नियमित कुरामा नै छलफल हुनेछ,’ देवानले भनिन्।

कर्मचारी युनियनले अस्पताल सुधार र कर्मचारीहरुका धेरै मागका विषयमा चासो दिइरहेका छन्।

कर्मचारीहरुले अस्पताल सुधार र कर्मचारीका हकहितका लागि २४ बुँदे माग राखेका छन्।

उनीहरुले उक्त माग परिषद बैठकबाट पास गरेर सिनेटमा लैजान पनि माग गरेका छन्।

आइतबार बस्ने सिनेट बैठकमा २४ जनाभन्दा बढी विभिन्न उच्च पदाधिकारीको सहभागिता हुनेछ।

जसमा जनसंख्या तथा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, राज्यमन्त्री नवराज रावत, प्रतिष्ठानका उपकुलपति डीएन शाह, मेडिकल काउन्सिलका अध्यक्ष डा‌. भगवान कोइरालाको सहभागिता हुनेछ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगको स्वास्थ्य सदस्य, स्वास्थ्य, शिक्षा तथा अर्थ सचिव, नेपाल अनुसन्धान परिषदका अध्यक्षलगायत सहभागी हुनेछन्।

यता, अस्पताल सुधारका २४ बुँदामा छलफल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने कर्मचारी युनियनका सचिव दीपक मुडभरी बताउँछन्।

प्रतिष्ठान अस्तव्यस्त हुनुमा हाल रहेका पदाधिकारीको ठूलो हात रहेको युनियनको आरोप छ।

वीर अस्पतालको उकपरण खरिद प्रक्रियामा पनि भ्रष्टाचार भइरहेको र त्यसको छानविन गर्नुपर्ने माग युनियनले राख्दै आएको छ।

युनियनले बिरामीलाई सहज र छिटो सेवा दिनुपर्ने, आइसियु बेड थप गर्नुपर्ने, कर्मचारीको स्तर वृद्धि, ट्रमा सेन्टर वीर अस्पताल मातहातमा सञ्चालन हुनुपर्नेजस्ता माग अगाडि सारेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *