भारतमा अनियन्त्रित हुँदै कोरोना, एकै दिन ८१ हजार संक्रमित थपिए

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना नियन्त्रणबाहिर गएको छ।

शुक्रबार भारतमा २४ घण्टामा ८१ हजार ४ सय ६६ संक्रमित थपिएका छन् भने ४ सय ६९ जनाको मृत्यु भएको छ। यो आँकडा सन् २०२१ कै सबैभन्दा धेरै हो।

यसअघि बिहीबार ७२ हजार ३ सय ३० संक्रमित थपिएका थिए।

स्वास्थ्य मन्त्रालया अनुसार भारतमा ६ लाखभन्दा बढी सक्रिय संक्रमित छन्। हालसम्म १ लाख ६३ हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको छ।

शुक्रबार केन्द्रीय क्याबिनेट सचिव राजीव गाबाले केन्द्रशासित प्रदेश र राज्यको समीक्षा बैठकमा ११ राज्य र केन्द्रशासित प्रदेशको अवस्था चिन्ताजनक रहेको बताए।

उनका अनुसार कोरोनाको वृद्धिदर जुन २०२० मा ५.५ प्रतिशत थियो भने मार्च २०२१ मा बढेर ६.८ प्रतिशत भएको बताए।

यसअघि २०२० को सेप्टेम्बरमा भारतमा दैनिक कोरोना संक्रमितको संख्या ९७ हजारसम्म पुगेको थियो।

अहिले पनि महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ शुक्रबार ४७ हजार ८ सय २७ जनाका संक्रमण देखिएको छ भने २ सय २ जनाको मृत्यु भएको छ। मुख्यमन्त्री उद्धव ठाकरेले यस्तो अवस्थामा पुनः लकडाउन लगाउन सकिने बताएका छन्।

संक्रमण तीव्र रुपमा बढेपछि उत्तर प्रदेश, कर्नाटक, हरियाणा र दिल्लीमा विद्यालय बन्द गरिएका छन्। पञ्जाब, महाराष्ट्र, गुजरात, हिमान्चल प्रदेशमा अफलाइन कक्षामा प्रतिबन्ध लगाइएको छ। दिल्ली सरकारले अर्को आदेश नहुन्जेसम्मका लागि विद्यार्थीहरुलाई विद्यालयमा बोलाउन नसकिने बताएको छ।

शुक्रबारसाँझसम्म भारतभर ७ करोडभन्दा बढी मानिसलाई खोप लगाइसकिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *