कोरोना संक्रमणबाट जोगिन झापामा कस्तो छ त तयारी?

हेल्थपोस्ट नेपाल

एकसाताको बीचमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु र १२ जनामा संक्रमण पुष्टि भएसँगै झापामा स्वास्थ्य सतर्कता बढाइएको छ।

दोस्रो चरणको संक्रमणबाट पहिलो पटक चैत १२ गते बिहीबार कनकाई नगरपालिका-३ सुरुङ्गा बजारकी ३९ वर्षीया पुलनादेवी मण्डलको मृत्यु भएको थियो।

सुरुङ्गा बजारमा पसल चलाउँदै आएकी उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

पछिल्लोपटक तीन दिनअघि बिर्तामोड नगरपालिका-१ की ३१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

उनीहरू दुबैजना भारत पुगेर घर फर्किएका थिए।

कोरोना संक्रमणको जोखिम उच्च भएपछि झापामा विगतका क्वारेन्टाइन र होल्डिङ सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

सीमामा कडाइ गर्नुका साथै मेची पुलमा नेपाली सेनाले चार दिनअघि होल्डिङ सेन्टर स्थापना गरेको छ। प्रशासनका अधिकारी र सुरक्षाकर्मीले सीमानाकाको अनुगमन सुरु गरेका छन्।

सेनाले राख्यो  होल्डिङ सेन्टर 

पूर्वी सीमानाकाको मेची पुलमा नेपाली सेनाले टेन्ट लगाएर होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ। आवत-जावतलाई कडाइ गर्दै चेकजाँचलाई थप व्यवस्थित गर्न सेनाको टोलीले दुइवटा टेन्ट निर्माण गरेको छ।

भारतमा कोरोना संक्रमण तीव्र भएसँगै झापाको खुला नाकामा चेकजाँचमा कडाइ गर्नुका साथै मेची पुलमा सेनाले होल्डिङ सेन्टर स्थापना गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

‘सीमा वारपार गर्ने कार्यलाई व्यवस्थित र नियन्त्रण गर्ने काम भइरहेको छ’, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘अति आवश्यक कामबाहेक आवत-जावतमा कडाइ गरिएको छ।’ संवेदनशील नाकाको स्थलगत अवलोकनलाई पनि निरन्तरता दिइएको छ।

बुधबारे हटिया लागेन, साप्ताहिक बजार बन्द

दोस्रो चरणको कोरोना संक्रमण फैलिँदै गएपछि बिर्तामोड नगरपालिकाले सधैं भीडभाड हुने बुधबारे हटियालगायत नगरक्षेत्रका सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ।

बुधबारे हटियामा दैनिक २ सयभन्दा बढी व्यापारीहरु जम्मा हुने गरेका छन्। सो हाटका अधिकांश व्यापारी सीमावर्ती भारतबाट आउने गरेका छन्।

बिर्तामोड नगरपालिकाले बढी भीडभाडमा कोरोना संक्रमण फैलिनसक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको हो।

नगरस्तरीय कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठक बसेरै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

बिर्तामोड क्षेत्रभित्र बुधबारे हटिया, बिर्ताबजार, गरामनी, सैनिक बजार, चारपाने, चैतुबारीलगायतका स्थानमा हाटबजार लाग्ने गरेको छ। ती सबै हाटबजार बन्द गरिएको हो।

त्यसैगरी नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने निर्णय गरिएको भएपनी त्यो भने पटक्कै कार्यान्वयन भएको छैन।

२५ जनाभन्दा बढी जम्मा हुने बैठक, सेमिनार, गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णय गरिएपनि त्यो निर्णयमा नै सीमित भएको छ।

बिर्तामोड नगरपालिकाले कोरोना संक्रमणप्रति सजग र सतर्क रहन मंगलबारदेखि माइकिङ गर्दै आएको छ। त्यसलाई स्थानीयले सुनेको नसुन्यै गरिरहेका छन्।

झापामा कोरोनाको अवस्था 

हालसम्म  झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ।

कोरोना संक्रमण न्यूनीकरण भएको करिब अढाई महिनापछि झापामा कोरोना संक्रमितको मृत्यु भएको हो।

झापामा अझै ११ जना कोरोनाका सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

४ हजार ६४५ जनामा संक्रमण पुष्टि भएकोमा ४ हजार ४८७ जना निको भएर घर फर्किएका छन्।

जिल्लामा ३७ हजार ७२४ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए।

उनले अहिलेसम्म ५२ हजार ७०७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *