छोरा बचाउन बुढी आमाले देखाएको त्यो अदम्य साहस!

हेल्थपोस्ट नेपाल

सन्तानप्रति आमाको समर्पण र स्नेह कति हुन्छ त्यसको उदाहरण बनेकी छिन् जनकपुरकी ७० वर्षीया राजकुमारी मिश्र। बिहानै पूजापाठ गरेर छोरा शम्भुको स्यहार सुसारमा लाग्छिन् उनी।

पिठ्युको हड्डी कमजोर भएर आफैं थला परिसकेकी राजकुमारीलाई छोराका ज्यान जोगाउने धोको मरेको छैन। कोठाभित्र ओछ्यानमा सुतिरहेका शम्भुलाई नियाल्छिन्। स्यहार सुसार गर्छिन्। र, दुई पैसाको जोहो गर्न बाहिर निस्किन्छिन्।

ज्यानले बुढी भइसकेकी राजकुमारीलाई पैसा जोहो गर्न त्यति सहज कहाँ छ र। तर, छोरालाई निको पार्ने अठोट लिएकी उनलाई आफ्नो ज्यानको थोरैपनि परवाह छैन।

पाँच वर्षअघि २४ वर्षीय छोरा शम्भुको मोटरसाइकल दुर्घटना भएको थियो। खुट्टामा चोट लाग्यो। जनकपुरमै उपचार गराए। तर, घाउ निको भएन।

राजकुमारीले छोरालाई उपचारका लागि काठमाडौं ल्याइन्। डाक्टरले क्यान्सर लागेको भन्यो। र, भरतपुर लगेर उपचार गराउन सल्लाह दियो।

राजकुमारीले भरतपुर लगेर उपचार गराइन्। छोरोलाई निको पार्ने भोक त्यतिमै सकिएन उनको। भारतको दिल्ली र राजस्थानसम्म पनि पुगिन्।

जवान छोरा बिरामी भएर घरको ओछ्यानमा सुतिरहेको कसरी हेर्न सक्छिन् एक आमाले। शम्भुको उपचारका लागि राजकुमारीले भएका घरघडेरी सबै बेचिन्।

छोराको ज्यान अझै निको भएको छैन। पैसा छैन, घरघडेरी पनि बेचेर सकियो तर, शम्भुलाई निको पारेरै छोड्ने साहस छोडेकी छैनन् राजकुमारीले।

‘काठमाडौंदेखि दिल्लीसम्म उपचार गराउन घरबार बेचेँ। शम्भुलाई निको भएको छैन। पैसा सकिएपछि जनकपुरमा भाडाको कोठा लिएर छोरासँग बसिरहेकी छु,’ राजकुमारीले भनिन्, ‘मेरो हाड कमजोर भइसकेको छ। छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ।’

अर्थ र शरीर दुबैले थला परिसकेकी राजकुमारी अरूसँग पैसा मागेरपनि छोराको उपचार गराइरहेकी छिन्।

जवान छोरा आँखा अगाडि ओछ्यानमा सुतिरहेको देख्दा उनको मन पिरोलिन्छ।

र, पैसाको खोजीमा घर बाहिर निस्किन्छिन्, राजकुमारी। छोराको उपचारका लागि पैसाको जोहो गर्न छरछिमेक आफन्तकहाँ पुग्छिन्। मागेरै भएपनि स्वास रहुन्जेल छोराको ज्यान जोगाउने कोसिस नछोड्ने राजकुमारी बताउँछिन्।

‘भाडाको घरमा बस्छु, बहालपनि तिर्नुपर्ने हुन्छ। छोराको उपचारका लागि सातामा कम्तिमा पाँच हजार रुपैयाँ चाहिन्छ,’ उनी भन्छिन्, ‘मागेर पैसा जोहो गर्छु। जसोतसो अहिलेसम्म छोरालाई बचाएको छु। स्वास रहुन्जेल उसको ज्यान जोगाउन सक्दो कोसिस गर्छु।’

जवान छोराको ज्यान जोगाउन एकजना बुढी आमाको अदम्य साहस देखेर जनकपुरका केही युवा हातहरू अगाडि बढेका छन्। र, सहयोगका लागि सबैसँग अपिल गरेका छन्।

जनकपुरको जिरोमाइलस्थित मोटरसाइकल शोरुमको गल्लीमा बहालमा बसिरहेकी राजकुमारीलाई त्यहीँ पुगेर वा महोत्तरीको पिपरा गाउँपालिकाको एभरेस्ट बैंकमा रहेको उनको ०६२००५०१२०२७४९ नंको खातामा आर्थिक सहयोग गरिदिन तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले आग्रह गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *