कोरोना खोप : दोस्रो डोजलाई नहताऔं, बरू जोखिम वर्गलाई समेटौं

सरकारले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने निर्णय गरेको छ।

तर, विज्ञले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै दोस्रो डोज दिनुभन्दा जोखिम समूहलाई पहिलो डोज दिनुपर्ने सुझाव दिएका छन्।

खोपको पहिलो मात्राले मात्रै पनि सुरक्षा दिन्छ।

त्यो भन्दा बढि राम्रो सुरक्षा प्राप्त गर्नको लागि दोस्रो डोजको आवश्यकता पर्ने संक्रामक रोग तथा सघन उपचार विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्।

भारतमा फैलिरहेको कोरोना लहरले पनि नेपालमा प्रभाव पार्ने निश्चित छ।

विभिन्न अनुसन्धानमा पहिलो डोज लगाएपछि ७५ प्रतिशत भन्दा बढी प्रभावकारी देखिएको छ।

१२ हप्ताभन्दा पछि दोस्रो डोज लगाएको खण्डमा त्यसको प्रभावकारीता बढेर ८० प्रतिशत भन्दा माथि पुग्ने देखिएको छ।

भाइरस र खोप दुवै नयाँ भएकाले समयमा खोप लगाउन सकिएन भने त्यसले कस्तो प्रभाव पार्छ अहिले नै भन्न नसकिने अधिकारी बताउँछन्।

पहिलो डोज खोपले कति प्रभावकारी भएको छ भन्ने अनुसन्धानकै क्रममा रहेका छन्।

विश्व स्वास्थ्य संगठनले १२ हप्तासम्मपछि दोस्रो डोज लगाउन सकिने निष्कर्ष लगाएको छ।

पहिलो डोज लगाएको तीन महिनासम्म खोपले काम गरेको विभिन्न अनुसन्धानले देखाएका छन्।

‘१२ हप्तापछि पनि हाम्रो शरीरमा रोग संग लड्ने एन्टिबडी रहन्छ,’ डा. अधिकारी भन्छन्, ‘एकैपटक प्रभावकारीता हटेर जाँदैन। तर, कति मात्रामा रहन्छ भन्ने विषय अनुसन्धानको क्रममा छ।’

नेपालजस्ता मुलुकमा हाल खोपको सहज उपलब्धता छैन।

‘खोपको जता–जतै अभाव छ। अहिलेको कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै जोखिम वर्गलाई पहिलो डोज खोप उपयुक्त देखिन्छ,’ डा. अधिकारी भन्छन्।

खोप लगाउनुभन्दा अगाडी मानिसमा ‘एन्टिबडी’ कस्तो छ भन्ने परीक्षण गनुपर्ने उनी बताउँछन्।

खोपको पाउन सहज नभएको अवस्थामा अहिले ‘एन्टिबडी’ भएका मानिसमा खोप तत्काल आवश्यक पर्दैन।

‘जसको शरीरिमा एन्टिबडी बनेको छैन। कमजोर एन्टिबडी भएका मात्रै खोप दियौँ,’ उनी भन्छन्।

केही दिनदेखि नेपालमा संक्रमणको केस बढिरहेको छ।

भारतमा पनि संक्रमण दोस्रो लहर सुरू भएकाले त्यसको असर नेपालमा पर्ने भन्दै जतिसक्दो धेरै जनसंख्यालाई पहिलो जोड दिएर ‘एन्टिबडी’ बनाउनुपर्ने डा. अधिकारीको तर्क छ।

त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर अनुप बाँस्तोला सुवेदीको तर्क प्रति सहमत नै छन्।

वृद्ध, दीर्धरोगीहरू र जोखिम वर्गमा परेका व्यक्तिलाई खोपकोे प्राथमिकतामा राखेर पहिलो डोज लगाउनुपर्ने डा. बाँस्तोला बताउँछन्।

विश्व स्वास्थ्य संगठनले पनि पहिलो डोज नै प्राथमितामा दिन आग्रह गरेको छ।

त्यहि अनुसार अधिंकास राष्ट्रले पहिलो डोजलाई प्राथमितामा राखेका छन्।

यो विषयमा मन्त्रालयमा पनि छलफल चलेको खोप सल्लाकार समितिका डा. श्यामराज उप्रेती बताउँछन्।

‘कोभ्यास’को खोप आउने आशाले खोप सल्लाकार समितले दोस्रो मात्रा ८ देखी १२ हप्तापछि दिने निर्णय गरेको थियो।

पहिला नै निर्णय भएकाले पहिलो चरणका व्यक्तिलाई निर्धारित समयमा खोप दिइने डा. उप्रेतीले बताए।

कहिले उपलब्ध हुन्छ खोप?

भारतले ‘कोभिसिल्ड’ निर्यातमा रोक लगाएकाले नेपालमा आउने खोप कहिले आउँछ भन्ने अन्योल छाएको छ।

खोप उत्पादन कम भएकाले कहिँले आउँछ भन्न नसकिने स्वास्थ्य सेवा विभागका आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. डा.भीमसिँह तिंकरी बताउँछन्।

‘सेरमले खोप तत्कालै दिन नसक्ने भन्ने जवाफ दिएको छ,’ डा. तिंकरीले भने, ‘ तर, केही समयपछि ‘कोभ्यास’ बाट आउने सम्भावना छ।’

नेपालले खरिद गरेको १० लाख खोप पनि केहिले उपलब्ध हुने भन्ने एकिन नभएको डा. तिंकरीले बताए।

कोभ्यासबाट नेपाललाई अब २२ लाख डोज खोप आउने भनिएको छ।

वैशाख मध्यसम्ममा भारतको कोभ्यासबाट आउने अनुदानको खोप नेपाल आइपुग्ने अपेक्षा गरिएको तिंकरीले बताए।

तर, तत्काल नै कति डोज आउने भन्ने निश्चित भएको छैन।

कति छ बाँकी खोप?

नेपालमा हालसम्म १६ लाखले खोप लगाएका छन्।

जसमध्ये, पहिलो डोज लगाएका सवा ४ लाखलाई दोस्रो डोज दिने निर्णय सरकारले गरिसकेको छ।

हाल ‘कोभिसिल्ड’ ६ लाखको हाराहारीमा भएको व्यवस्थापन महाशाखाले जनाएको छ।

पहिलो चरणकालाई दोस्रो डोज लगाएपछि बाँकी पुग्न–नपुग २ लाख डोज बाँकी रहन्छ।

चीन सरकारबाट अनुदानमा ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ।

खोप खरिदमा सेरमसँग तत्काल ५० लाख डोज उपलब्ध गराउन सरकारले अनुरोध गरेको थियो।

‘५० लाख डोज खोप तत्काल नै उपलब्ध गराउनका लागि पत्र पठाएको १५–२० दिन भइसकेको छ। तर, अहिले उपलब्ध नसक्ने भन्ने जानकारी दिएका छन्,’ डा. तिंकरीले भने।

नयाँ प्रकारको कोरोना भाइरस विरूद्ध  खोपले काम गर्छ?

नेपालमा हाल युकेको ‘भेरियन्ट’ फैलिएको हो भन्ने आशंका गरिएको छ।

हालको अवस्थामा नमुना सर्वेक्षण नयाँ भेरियन्ट बढेको देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण प्रसाद पौडेलले बताए।

‘हाल नेपालमा युके भेरिन्यट नै बढेको आंशका गरिएको छ,’ डा. पोडेलले भने, ‘संक्रमणको गति पनि पछिल्लो समयमा बढ्दै गएको छ।’

डा. पौडेलले जिन सिक्वेन्सिङको नतिजा ४–५ दिनमा आएपछि थप कुन भेरियन्ट हो भन्ने पुष्टि गर्न सकिने बताए।

नयाँ भेरियन्टलाई सबै खोपले काम गर्न नसक्ने बाँस्तोला बताउँछन्।

हाल बनेका खोप प्रभावकारी छन्। तर, नयाँ भेरियन्टमा खोपले कति काम गर्छन्  भन्ने बारे अझै पुष्टि भएकाे छैन।

डा. बाँस्तोलाका अनुसार युके भेरियन्टलाई काम गर्न देखिएको छ। तर, साउथ अफ्रिकन भेरियन्टलाई काम नगर्न सक्छ।

‘युकेको नयाँ भेरियन्टमा खोपले काम गरेको देखाएको छ। बेलायतको अध्ययनले अस्पताल भर्ना हुने दर र गम्भीर हुने कम देखिएको छ,’ डा. बाँस्तोलाले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय