छातीमा ‘जोखिम भत्ता हराएको’ सूचना टाँसेर सडकमा उभिइरहेका डाक्टर मल्लिक

माइतीघर मण्डलामा आजकल हरेक दिनजसो एउटा श्वेतधारी मानव उभिइरहेको हुन्छ। उसको छातीमा एउटा प्लेकार्ड हुन्छ।

‘मेरो कोभिड–१९ को भत्ता हराएको सूचना। कृपया पाउने महानुभावले ९८४१६८००१९ मा सम्पर्क गरिदिनु होला। धन्यवाद!’

त्यो प्लेकार्डमा लेखिएको छ- ‘मास्क स्यानिटाइजर र सामाजिक दूरी कायमै छ। तर, तपाईंको नियत कायम छैन!

अस्पतालको ड्युटी सकेर सातादिनदेखि माइतीघरको छेउमा उभिएका उनी हुन् – डाक्टर अजित मल्लिक। उनको एउटै मात्र माग छ– जोखिम भत्ता।

कोरोना संक्रमणको समयमा दिनरात नभनी खटिएर बिरामीको सेवा गरेका छन्, डा अजितले।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट डाक्टरी सेवा सुरु गरेका मलिक काम गर्दागर्दै कोरोना संक्रमण फैलियो। लकडाउन भयो।

शिक्षण अस्पतालले पनि कोरोना अस्पातल झैं शाखा छुट्याएर संक्रमित बिरामीहरुलाई उपचार गर्न सुरु गर्‍यो।

संक्रमितहरूको उपचारमा उनलाई पनि खटाइयो। मलिक सुखी नै भए। संक्रमितको खुब सेवा गरे। कुनै ‘अब्जेक्सन’ गरेनन्।

कहिले क्वारेन्टाइनमा बसे। आफैं संक्रमित पनि भए।

संक्रमण बढ्दै गयो। उनी दुई पटक त क्वारेन्टाइन बसे।

यसैबीच सरकारले कोरोना संक्रमित बिरामीहरुमाझ रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई २५ देखि १०० प्रतिशतसम्मको जोखिम भत्ता दिने घोषणा गर्‍यो।

यो खबरले उनलाई काम गर्न झनै उत्साहित बनायो। बिरामीको सेवा गर्नु आफ्नो कर्तव्य र धर्म थियो नै त्यसैमा पनि सरकारले सम्मानपूर्वक जोखिम भत्ता दिने भनेपछि काम गर्न झनै हौसिए उनी।

अझै पनि कोरोना संक्रमण पूरै हराएको छैन। बरू नयाँ-नयाँ ‘भेरियन्ट’ हरूले फेरि जिस्काइरहेका छन्। तर, पहिलेजस्तो खालको जुनुन मलिकमा थियो, अब रहेन।

एक वर्षसम्म काम गर्दा पनि सरकारले उनलाई जोखिम भत्ता दिन सकेन।

सेवा गरेको फल पाउँछु भनेर कुर्दाकुर्दै उनको कार्यकाल नै सकियो। अनि लागे अर्कै अस्पतालमा सेवा दिन। तर, सरकारले देखाएको आशा त कसरी मर्थ्यो र!

सरकारले दिन्छु भनेर घोषणा गरेपछि जोखिम भत्ता लिन के को अफ्ठ्यारो?

आफ्नो हकका लागि आफैं लड्छु भनेर उनी एक्लै सडकमा निस्किए।

माइतीघरको सडकमा आठ दिनदेखि एक्लै उभिइरहेका छन्, डाक्टर अजित।

दिनभर बिरामीको सेवामा खटिन्छन्, अनि ड्युटी सकेर लम्किन्छन् माइतीघर मण्डलामा प्लेकार्डको साथमा।

‘यो मेरो बाध्यता हो। मेरो अधिकारको लागि म आफैं आवाज उठाउँछु,’ उनले भने।

त्रिवि शिक्षण अस्पतालमा मेडिकल अधिकृत आठौं तहमा रहेर उनले करारमा काम गरे। उनको सधैंको ड्युटी कोरोना शाखामै पर्‍यो। लकडानको अवधिमा पनि काम गरे।

आफ्नो कार्यकाल सकिएर अर्कै अस्पतालमा सेवा दिन थाले पनि पटक-पटक अस्पतालमा धाइरहे। तर, उनलाई भत्ता दिइएन।

‘मेरो लडाई अस्पतालसँग होइन सरकारसँग हो। सरकार आफैंले कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा काम गर्ने डाक्टरहरुलाई भत्ता दिने भनेर घोषणा गरेको थियो। हामी पनि मानिसहरुको सेवामा खट्यौं। पैसाको लोभमा खटेको होइन, मानवताको लागि खटेको। खटेको ज्याला सरकारले दिन्छु भनेपछि ज्याला त लिनै पर्‍यो नि!’ उनले भने।

‘अस्पतालले नदिएको भए अस्पतालकै प्रांगणमा उभिन्थेँ तर, सरकारसँग सरोकार राख्ने भएकोले सडकमा उभिएको हुँ’, उनले भने।

सरकारले कोरोना संक्रमणमा काम गरेको ‘जोखिम भत्ता’ नदिएसम्म डाक्टर अजितले सडक छोड्ने छैनन्।

संक्रमणको अवधिमा कतिसम्म काम गरे उनलाई यकीन छैन। तर, सरकारले आफ्नो कामको मुल्याङ्कनको आधारमा भत्ता दिनुपर्ने उनको माग छ।

‘मैले काम गरेको सबै रेकर्ड अस्पतालको पेपर रोस्टरमा लेखिएको छ। मैले ड्युटी गर्ने समयमा हाजिर गरेको छु’, उनले भने। यसैलाई आधार मानेर दिनुपर्ने र सरकारले त्यो सबै जाँच गरेर हेरोस् भन्ने उनको जोड छ।

एक्लै सडकमा उनी उभिएको देखेर केही मानिसहरु हाँसेर जान्छन् त कोही उनलाई समर्थन जनाउँछन्।

केही भन्छन् उनको कदम सही छ, त कोही ‘केही पाउँदैनौ फर्केर जाउ’ भन्छन्।

उनको छेउबाट गुज्रेका हरेक व्यक्तिको सल्लाह र सुझाबले उनको अडान डगमगाएन। झनै बलियो बनेर निस्कियो।

उनी भन्छन्, ‘हजारौं स्वास्थ्यकर्मीहरुले मैले जस्तै भत्ता पाएका छैनन्। तर, उनीहरु बोल्न सकिरहेका छैनन्। या त श्रम शोषण सहन बाध्य छन्। उनीहरु चुप बसिरहेका छन्। तर, यो मेरो समस्या हो। भत्ता नदिँदा मलाई अफ्ठ्यारो परेको छ र मैले नै यसको सामना गर्छु।’

‘हामीले कर तिरेका छौं। हाम्रो अधिकार मागेको हो।’ उनले भने।

आमाबुबाको सपना पूरा गर्न विदेशमा पढी डाक्टर बनेका थिए उनी। सपना साकार पनि पारे। नेपालमा आएर थाहा भयो उनलाई यो पेशा किन चुने, र हाल कस्तो अनुभव भइरहेको छ भनेर।

‘आशिर्वाद र माया पाउँदा मैले सही पेशा चुने जस्तो लागेको थियो। तर, आशिर्वादले नै जिन्दगी चल्दैन। रहेछ,’ उनले भने।

‘कुनै आमाबुबाले आफ्नो छोराछोरी डाक्टर छन् भनेर गर्व नगरेपनि हुन्छ। किनकी, यहाँ सबैभन्दा अपमानित भनेको डाक्टर पेशा नै हो। धेरै पीडा छ।’ उनले भने।

यो पेशामा आदर नै छैन। विदेशमा पढेर आएँ, यहाँ आउँदा अवस्था निकै कमजोर। बरु यो भन्दा टेबल-कुर्सीमा बस्ने, घुमीरहने खाने-पिउने जागिर खानेहरु नै राम्रो हो।

‘चिकित्सकलाई सामाजिक इज्जत छ तर, इज्जतको कदर छैन’, चिकित्सा क्षेत्रमा भएको बेथिति देखेर हैरान भएका उनले भने, ‘नेपालमात्र यस्तो देश हो जहाँ डाक्टर आफैं अधिकार माग्न सडकमा उत्रिनुपर्छ।’

‘विदेशमा चिकित्सा पेशाको अनुभव गरेर आएँ। त्यहाँको स्वास्थ्य सुविधाको गुणस्तर, चिकित्सकलाई गर्ने आदर, दिइने तलब सुविधा, दर्जाले मनै लोभ्यायो। तर, यहाँको अवस्था देखेर हतोत्साहित भएँ’, उनी दुखेसो पोख्दै भन्छन्, ‘हामी त जिन्दगी बचाउने मान्छे हो। हाम्रो पनि जिन्दगी छ। जिन्दगी नै छैन भने के छ। सबै मरेर आर्यघाटमा जाने हो। त्यहाँ जान नदिन हामीजस्ता मान्छेको आवश्यकता पर्ने हो तर, हाम्रो कुनै कदर नै छैन।’

मानसिक समस्या झेलेर र घरका कुनै सदस्यलाई संक्रमण होला भन्ने डरै डरले ग्रसित रहेर काम गरेका उनले आफ्नो सुविधाको लागि थोरै पनि अपेक्षा किन गर्न नहुने भन्दै सडकमा उत्रिएका हुन्।

आफैं कोरोना संक्रमित भएको १० औं दिनमा निको भई भोलिपल्ट सेवा दिन हाजिर भएका उनी ६० वर्ष माथिमा बुबाआमालाई संक्रमण हुने डरले कयौं दिन घरबाट टाढा रहे। ‘तर, खै त यसको मुल्याङ्कन?’, उनी प्रश्न गर्छन्।

सडकमा उभिएपछि उनलाई धेरै ठाउँबाट फोन आयो।

फोनबाट उनलाई ‘समर्थनका लाथि आउँ?’, भन्दै सोध्ने गरेका छन्। तर, उनको उही जवाफ रहन्छ, ‘तपाइँको खाँचो छ भने आउनुस्। मलाई खाँचो छ त्यही भएर म यहाँ आएको हुँ।’

‘म यहाँ आन्दोलन गर्न आएको होइन। यो मेरो रहर पनि होइन बाध्यता हो’, उनले भने।

‘मेरो साथीहरुले किन जान्छौं, नजाउ। एक्दै गएर केही हुँदैन, सरकार नै यस्तो छ, देशै यस्तो हो भनेर गाली गर्छन्। सबैले गाली गर्‍यो भने देश कसरी सुध्रिन्छ?’, उनी प्रश्न गर्दै भन्छन्।

‘म शिक्षित मान्छे हो। म आफ्नो शिक्षा र विवेकशील क्षमताको कदर गर्छु। र, सही ठाउँमा यसको उपयोग गर्छु। मलाई खाँचो छ, त्यसैले म आएको हुँ। जसलाई खाँचो छैन हेर्दै, हाँस्दै गुडलक भन्दै जान्छन्।’, अजितले भने।

अजितलाई नै समर्थन गर्ने भन्दै कोही युवाहरु उनीसँगै उभिन्छन् अनि निस्किन्छन्। काभ्रेदेखि एक नर्स पनि उनलाई समर्थन गर्न आइन्।

अजितलाई धेरैले जिस्काउने पनि गर्छन्, ‘आयो सेलिब्रेटी’ भनेर।

‘म कुनै सेलिब्रेटी होइन। आफ्नो काम–कर्तव्य पूरा गर्छु। स्वास्थ्य उपचार दिन्छु र साथीभाइसँग गफ गर्ने समयलाई उपयोग गरेर आफ्नो अधिकार माग्न आएको हुँ।’, उनले भने।

अरुले जिस्काउँदा उनलाई झनै प्रोत्साहन मिल्छ। ‘जबसम्म मान्छेलाई आलोचना गरिँदैन, तबसम्म मान्छे अगाडि बढ्न सक्दैन। यही आलोचनाले सडकमा एक्लै उभिने प्रेरणा मिलेको छ,’ उनले भने।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय