वीर अस्पतालले सुरू गर्‍यो रात्रिकालीन फार्मेसी सेवा, निजीमा जानुपर्ने बाध्यता हट्यो

 

नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले आइतबारबाट रात्रिकालीन फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ।

यसअघि अस्पतालले जनशक्ति अभावको कारण देखाउँदै रात्रिकालीन सेवा सञ्चालन गरेको थिएन।

अस्पताल प्रशासनले केही समय अघि करारमा ९ जना जनशक्ति थप गरेसँगै २४ सै घन्टा फार्मेसी सेवा सञ्चालनमा ल्याइएको फार्मेसी प्रमुख श्याम मण्डलले बताए। यसभन्दा अगाडी अस्पतालले बिहान ७ देखी साँझ ७ बजेसम्म मात्रै सेवा दिँदै आएको थियो।

योसँगै रातिको समयमा वीरका बिरामीले फार्मेसी सेवा लिन निजीमा जानुपर्ने बाध्यता हटेको छ।

निजी फार्मेसीमा औषधि महंगो हुने भएकाले दिउँसै पनि अस्पतालभित्रैकै फार्मेसीमा औषधि किन्न लाइन हुन्छ।

तर, रात्रीकालिन सेवा पनि सुचारू गरेसँगै विपन्न वर्गका लागि धेरै राहत हुने विश्वास गरिएको छ।

अस्पतालको फार्मेसीले दिने छुट र विश्वसनीयताका कारणले अस्पतालकै फार्मेसी हरेक बिरामी र तिनका आफन्तको रोजाईमा गर्दै आएको छ।

‘रात्रिकालीन सेवा उपलब्ध नहुँदा निजी बिरामीले मंहगो औषधि किन्नु पर्ने बाध्यता थियो,’ मण्डलले भने, ‘वीरमा २४ घन्टा फार्मेसी सेवा उपलब्ध हुने भएपछि निजीमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।’

अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा ५० प्रतिशतसम्म बढी छुट हुने मण्डलले बताए।

बिमा गरेका बिरामीले रातिको समयमा निजी फार्मेसीमा पैसा तिरेर औषधि लिनुपर्ने बाध्यता थियो। अब बिमा गरेका बिरामीले पनि निजीमा जानुपर्नेछैन।

वेवारिसे बिरामी तथा असहायका लागि फार्मेसीबाट निःशुल्क औषधि पाइने मण्डलले बताए। हाल फार्मेसीमा २० जनाको जनशक्तिले सेवा दिइरहेका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय