‘बैंक अफ किड्नी’ का रुपमा परिचित काभ्रेमा रोकिएकै हो त मिर्गौला तस्करी?

‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन।

कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गौला तस्करीका घटना बाहिर आएनन्। के अब काभ्रेपलाञ्चोकमा मिर्गौला तस्करी रोकिएकै हो?

विसं २०७५ जेठ १० गते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई तस्करले झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराए।

त्यसपछि जिल्लामा मिर्गौला तस्करहरु फेरि पनि सल्बलाएको आशंका गरियो। त्यसअघि विसं २०७१ फागुनमा नमोबुद्ध नपा–२ की दुई सन्तानकी एक ३५ वर्षीया गृहिणीले श्रीमान् विदेश जाँदाको ऋण तिर्न नसकेर तस्करमार्फत रु ३ लाखमा एउटा मिर्गौला बेचेको घटना बाहिरिएको थियो।

घटनाक्रमका तथ्यांकले करिब दुई वर्ष १० महिनासम्मको अवधिमा मिर्गौला तस्करीको घटना घटेको पाइएन।

घटना बाहिर नआएको पनि हुनसक्ने काभ्रेपलाञ्चोकमा मानव अंग बेचबिखनविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनअधिकार संरक्षण मञ्च (पिपिआर) ले जनायो। ‘तस्करीका घटना बाहिर नआएको पनि हुनसक्छ, कोरोना सन्त्रासबीच मिर्गौला दिने र प्रत्यारोपणकर्ताको स्वास्थ्य संवेदनशीलताले नभएको पनि हुनसक्छ’, पिपिआरका निर्देशक शतिस शर्माले भने।

उनकाअनुसार सरोकारवाला निकायले यसबीचमा पनि मानव अंग बेचविखनप्रति विशेष ध्यान दिनु जरुरी छ।

घटना विवरणअनुसार काभ्रेपलाञ्चोकको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २५ वर्ष अघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो।

तत्कालीन होक्से गाविस–१ स्थित एकै परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए।

त्यसयता मिर्गौला तस्करी फस्टाउँदै गएपछि केही वर्षको अनुसन्धानबाट काभ्रेपलाञ्चोक प्रहरीले विसं २०७० वैशाखमा १० मिर्गौला तस्करलाई पक्रेर थप अनुसन्धानपछि सातजनालाई कानुनी कारबाही नै गरेको थियो।

त्यसपछिका केही वर्षमा मिर्गौला झिकेपछि शल्यक्रिया गरेर पठाउने गर्दा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हटेको भन्दै आर्थिक अवस्था कमजोर भएका परिवारलाई मिर्गौला बिक्री गराउन तस्करले थप हौस्याएको तथ्यसमेत खुलेको थियो।

त्यसअघि बिक्री गर्नका लागि मिर्गौला निकाल्दा पेटको बायाँतर्फ ६ देखि आठ इन्चसम्मको टाँकाको खत देखिन्थे।

दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेची छिमेकी र आफन्तले घृणा गर्ने डरले आफ्नो पीडा लुकाउँदै आएका जिल्लाका पुरुष पछिल्ला केही वर्षदेखि समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन्।

भारतको दिल्लीमा नोकरीको लोभमा परी २१ वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नपा–२ का नवराज मिजारले भने, ‘हामी चिरेको पेट छोपेर नुहाउने गर्थ्यौं, तर मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौं।’

नवराज भन्छन्, ‘मैले मिर्गौला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गर्थें, मिर्गौला बेचेको पैसा पनि सकेँ, जमिन पनि सकेँ, मैले रक्सी छाडेको पनि पाँच वर्ष भइसक्यो।’ उनलाई १५ वर्षअघि मिर्गौला बेचेका ज्याम्दीकै अर्का रामकुमार परियारले सहयोग गर्दै आएका छन्।

उनले आफूलाई पातलेखेतका विनोद परियारले जागिरको लोभ देखाई भारतको चण्डीगढ पुर्याएर मिर्गौला बेच्न बाध्य पारेको बताए। उनी भन्छन्, ‘भनेको जति पैसा पनि दिएनन्। त्यो पैसाले केही गर्न पनि सकिनँ। तर, अन्यलाई मिर्गौला बेच्दाको असरबारे भन्दै आएको छु।’

मिर्गौला बेचेका ज्याम्दीकै गणेश परियार र अमिक परियारले गाउँमा दलाललाई प्रवेश निषेध गरिएको बताए। उनीहरुले अब ज्याम्दीबाट कसैलाई पनि मिर्गौला बेच्नेजस्तो घृणित काममा लाग्न नदिने प्रण गरे। ‘हामी खुलेरै लागेका छौं, अब कसैको जीवन वर्वाद हुन दिन्नौँ’, गणेशले भने।

मिर्गौला बिक्री गर्नेले नै खुलेर यसविरुद्ध लाग्नु र सरोकारवाला संस्थाको अभियानले मिर्गौला तस्करी रोकिएको ठानिएको छ।

पिपिआरका जिल्ला संयोजक कृष्णप्यारी कर्मी भन्छन्, ‘मिर्गौला बेचेपछि हुने गम्भीर शारीरिक समस्याबारे जानकारी दिएपछि पीडितहरु आफैं चेतनामूलक अभियानमा लागेका छन्, यो निकै खुसीको अवस्था हो।’

पिपिआरको केही वर्षअघिको अध्ययन प्रतिवेदनमा पाँचखाल नगरअन्तर्गत होक्सेबाट ११२, पाँचखालबाट १०२ तथा मण्डनदेउपुर नगरको ज्याम्दीबाट ५६ ले आफ्नो शरीरको एउटा मिर्गौला बिक्री गरेको उल्लेख छ। यसमध्ये पुरुषभन्दा महिलाको संख्या तेब्बर देखिन्छ।

कानुनमा मिर्गौला दान गर्न आफन्त हुनुपर्ने उल्लेख छ।

गैरकानुनीरूपमा मिर्गौला बिक्री गराए मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र रु २ देखि ५ लाखसम्म जरिवाना र सजाय हुने उल्लेख छ। पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय