क–कसले पाउँछन् चीनबाट आएको ८ लाख खोप?

चीनले अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोपको लक्षित समूहबारे स्वास्थ्य मन्त्रालयले छलफल अघि बढाएको छ।

सो खोप कसरी र कस्ता व्यक्तिलाई दिने भन्नेबारे छलफल भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘खोप थोरै छ। कसरी र कस्ता व्यक्तिलाई लगाउने भन्ने विषयमा छलफल भइरहेको छ। केही दिनमा टुगों लाग्छ,’ डा. गौतमले भने।

आम सर्वसाधारणलाई दिने योजनामा रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले बताए।

‘खोप कम छ। सर्वसाधारणमध्ये नै खोप दिने लक्षित समूह छान्ने हो,’ डा. अधिकारीले भने, ‘लक्षित वर्गलाई प्राथमिकीकरण गरेर लगाउने कि भन्ने योजना गरिएको छ।’

उनले खोप लगाउनेहरुको उमेर समूहबारे यकिन नभएको बताए।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोप अनुदानमा दिएको हो।

सो खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइएको छ।

यो खोप पनि ‘कोभिसिल्ड’ जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ। खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा लगेर राखिएको छ।

आपूर्ति व्यवस्था शाखाले बनाएको कोल्डरुममा खोप राखिएको छ।

टेकुको भण्डारण केन्द्रमा ठाउँ अभावका कारण केही खोप एयरपोर्ट भन्सारमा बनाइएको अर्को भण्डारण कक्षमा राखिएको डा. गौतमले जानकारी दिए।

भारतबाट आएको खोप कोभिसिल्ड एक भाइलमा १० डोज हुन्थ्यो। तर चिनियाँ खोप एक भाइलमा एक डोज हुन्छ। जसले गर्दा टेकुमा भण्डारण अभाव भएको स्वास्थ्य विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

डा. गौतमले भारतमा ‘कोभिसिल्ड’ खोपको उत्पादन भएपछि नेपालमा तुरुन्तै आउने बताए। ‘हामीले खोप ल्याउनका लागि संवाद गरिरहेका छौं।

नेपाललाई पहिलो प्राथमिकतामा राखिएको छ। खोप उत्पादन हुनेबित्तिकै हामीले पाउँछौ,’ डा. गौतमले भने।

नेपाल सरकारले सेरमसँग २० लाख खोप खरिद गरेको थियो। जसमा १० लाख डोजमात्र प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय