‘जिन सिक्वेन्सिङ’ कसले गर्ने भन्ने अन्यौलले कोरोनाको भेरियन्ट परीक्षणमा ढिलाई

कोरोना संक्रमणको नयाँ लहर देखिए पनि फैलिएको भाइरसको कुन हो पत्ता लगाउँन गरिने जीन सिक्वेन्सिङ भने अन्योलमा परेको छ ।

सरकारी अधिकारीले भारतबाट नेपाल आएका कोरोना संक्रमितहरुको नमुना संकलनगरी जिन सिक्वेन्सिङ परिक्षण गर्न लागिएको बताएपनि कसले र कसरी गर्ने भन्नेमा अझै अन्योल देखिएको छ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै अधिकारीको भनाई बाझिएको छ।

महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले झण्डै १५ वटा नमुना संकलन गरी सिक्वेन्सिङको काम गर्न लागिएको दावी गरे।

‘भारतबाट नेपाल आएका व्यक्तिहरुमा नयाँ स्वरुपको कोरोना भाइरस छ कि छैन भनेर बुझ्नका लागि नुमना परिक्षण गर्न लागिएको हो,’ डा. पौडेलले भने।

हाल भारतमा नयाँ भेरियन्ट ‘डबल म्युट्यान्ट’ भाइरस देखा परेको छ। भारतमा ७ सय ७१ जना मानिसहरुमा नयाँ स्वरुपका भाइरस प्रमाणित भएको छ। भारतमा दैनिक हजारौं संक्रमितहरु थपिन थालेका छन्।

त्यस्तै विभिन्न स्वरुपमा कोभिड–१९ बेलायत, अफ्रिका र ब्राजिलमा पनि देखिन थालेको छ।

नयाँ भेरियन्टबाट बेलायतमा ७३६, अफ्रिकामा ३४ र ब्राजिलमा एक जना संक्रमित भएका छन्।

नेपालमा कोरोना संक्रमणमा परेका व्यक्तिहरुमा नयाँ प्रकारको भारइरस हो वा होइन थाहा पाउन जीन सिक्वेन्सिङ गर्नुपर्छ।

डा. पौडेका अनुसार ल्याबमा राखेर परीक्षण गर्नुपर्ने हुन्छ।

परिक्षणका लागि र्‍याण्डम स्याम्पलिङ गरेर नमूना सुदुरपश्चिमबाट संकलन गरेर ल्याउन लागिएको छ ।

पौडेलका अनुसार संकतिल नमुना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउनेछ ।

‘सिक्वेसिङ गर्न पर्ने नमुनाहरुको लागि कन्सोर्टिएम खडा गरिएको छ। त्यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टिमले मद्दत गर्नेछ। यो तत्काल शुरु भइनसकेको र नमूना आउने बित्तिकै सुरु हुन्छ,’ उनले भने ।

पहिले तीवटा नमुनामा नयाँ भेरियन्ट देखिएपछि हङकङमा नमुना परिक्षण गर्न पठाइएको थियो। उक्त नमुनामा नयाँ स्वरुप रहेको प्रमाणित पनि भएको थियो।

‘हामीले आफ्नै स्रोत साधनले परीक्षण गर्ने उद्देश्यले नमुना संकलन गरिएको छ। सबै कोरोना संक्रमितहरुको परिक्षण गर्न नसकिने हुँदा र्‍याण्डम स्यामपल संकलन गरी परीक्षण गर्न लागिएको हो,’ उनले भने।

राष्ट्रिय जनसंख्या प्रयोगशालाको नेतृत्वमा रहेको कन्सोर्टिएममा रहेर त्रिवि तथा नास्टले आवश्यकता अनुरुप सहयोग गर्नेछ।

‘भाइरसको सिक्वेन्सिङ हाम्रो देशमा धेरै प्रयोगमा आएको छैन। नयाँ भाइरसको जीन नै हेर्नुपर्ने भएकोले छुट्टै प्रविधिको आवश्यकता रहन्छ।’

नेपालमा सिक्वेन्सिङका लागि त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभाग, काठमाण्डौ विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त प्रविधि रहेको छ।

डा. पौडेलका अनुसार प्रयोगशालामा पुरानो प्रविधिबाटै सिक्वेन्सिङ गर्न मिल्ने र नयाँ प्रविधि पनि भित्राउन लागिएको छ।

उनका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पनि अनुसन्धानका लागि सिक्वेन्सिङको कार्य गरिरहेको छ।

परिषदका सचिव प्रदीप ज्ञवालीले काठमाण्डौ विश्वविद्यालयको सहयोगमा अनुसन्धानको लागि कार्य अघि बढाएको जानकारी दिएका छन्।

‘हाम्रो काम भनेको अनुसन्धान गर्ने हो। भेरियन्ट पत्ता लगाउने काम प्रयोगशालाले गर्छ,’ उनले भने।

जनस्वास्थ्य प्रयोगशालाले सिक्वेन्सिङ गर्नका लागि विभिन्न विश्वविद्यालय तथा प्रयोगशालाहरुलाई क्षमता विकासको गर्न सिकाइरहेको ज्ञवालीले बताए ।

‘हामीले क्षमता विकास गर्नका लागि सहयोग पुर्‍याइरहेका छौं र यसको निरिक्षण पनि गछौं,’ उनले भने।

हाल काठमाण्डौ विश्व विद्यालयले चार वटा प्रविधिमा सिक्वेन्सिङ गर्ने तयारी गरिरहेको छ भने अन्यले पनि तयारी थालेको छ।

किन ढिलाई भयो सिक्वेन्सिङ?

जनस्वास्थ्य प्रयोगशालाका निर्देशन डा. रुना झाले सिक्वेन्सिङ कसले गर्ने भन्ने अन्यौलकै कारण ढिला भएको बताइन् ।

केही समयअगाडि यसको काम नेपाल राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने भनिएको थियो । अहिले यो जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ ।

‘जुन काम जस्ले गरिरहेको हो उसैले उक्त काम गर्ने स्वास्थ्य मन्त्रालयको निर्णयपछि हामीले परीक्षण गर्ने तयारी गरेका छौं,’ झाले भनिन्।

प्रयोगशालामा परीक्षण गर्ने प्रविधि पनि नभएको कारण परीक्षणमा ढिलाई भएको उनले बताइन्।

‘हामीले कन्सोर्टिएम बनाइसकेका छौं। अब नयाँ प्रविधि पनि आउन लागेको छ। केही समयमा हामी नमुनाहरु संकलन गरेर परीक्षण गर्न थाल्नेछौं।’

सिक्वेन्सिङ र पिसिआरमा के फरक?

सिक्वेन्सिङ गर्नु भनेको रुटिन पिसिआर जाँच गर्नु जस्तो होइन। यी दुवै परीक्षण फरक हो।

पिसिआर भाइरस शरीरमा छ वा छैन भनेर पत्ता लगाउनका लागि गरिन्छ।

सिक्वेन्सिङ भनेको वैज्ञानिक प्रयोजनका लागि गरिन्छ। डाइग्नोसिसका लागि भन्दा पनि भाइरसको जीन (वंशाणु) नै फरक हो की भनेर परीक्षण गरिन्छ।

जीन सिक्वेन्सिङ अन्य इन्फ्लुएन्जामा प्रयोग भएता पनि कोभिड–१९को सन्दर्भमा पहिलो पटक हुन लागेको हो।

‘हामीसँग परीक्षण गर्न सक्ने जनशक्ति भएपनि अनुभवि जनशक्ति छैन,’ डा. पौडेलले भने,‘अर्कै भाइरसका लागि काम गरिरहेका व्यक्तिहरु छन् तर यसका लागि अलि एड्भान्स टेक्नोलोजी भएकाले अनुभव अलि कम छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय