काठमाडौंमै प्राण गयो तर भेन्टिलेटर भेटिएन

हेल्थपोस्ट नेपाल

आइतबार साँझ। काठमाडौंमा बस्दै आएका बझाङका भरतबहादुर सिंहको ब्लडप्रेसर एकाएक ‘हाई’ भयो।

अचानक बेहोस भएका उनलाई आफन्तले बासँबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सले (न्युरो अस्पताल) पुर्‍याए।

चिकित्सकले ब्रेनमा समस्या छ। भेन्टिलेटर छैन भन्दै वीर अस्पतालमा रेफर गरे।

बिरामीको अवस्था निकै गम्भिर भइसकेको थियो। झिनो आशा अनि चाँडै अस्पताल पुर्‍याउने हतारो। बल्ल बल्ल वीर पुर्‍याइयो।

वीरमा आकस्मिक कक्षका स्वास्थ्यकर्मीले रेडिमेड जवाफ दिए, ‘भेन्टिलेटर छैन, अन्तै लैजानुस्।’

कहाँ लैजाने ? बिरामीका आफन्तले त्यत्ति मेसो पनि पाएनन्।

त्रिवि शिक्षण अस्पतालबाट पनि उस्तै जवाफ आयो।

आफन्तले उपत्यका धेरै निजी अस्पतालमा फोन घुमाए।

कतै यति पैसा नभई भर्ना हुँदैन, कतै त भेन्टिलेटर खाली छैन भन्ने जवाफ आयो। कतै एकदमै महंगो।

वीरमा कार्यरत चिकित्सकले भन्दै थिए–छिटो भेन्टिलेटर भएको अस्पतालमा भर्ना गर्नुहोस्। तत्काल नै उपचार पाए बिरामी बाँच्नुहुन्छ।

धेरै कोसिस गर्दा वीरमा ल्याएको २ घन्टापछि काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंगलमा भेन्टिलेटरसहितको बेड खाली भएको जानकारी आयो।

त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो।

त्यहाँ लैजाने तयारी गर्दागर्दै बिरामीको मृत्यु भयो।

वीर अस्पतालका न्युरो सर्जन डा. राजिव झाका अनुसार प्रत्येक दिनजसो अस्पतालमा यस्ता केस भेटिन्छन्।

निजी अस्पतालले एक रात भेन्टिलेटरमा राखेको कम्तीमा पनि ४०–५० हजार असुल गर्छन्।

दैनिक ४०–५० हजार तिर्ने क्षमता बिरलै नेपालीसँग होला।

जसो तसो तिरेर ज्यान बचाएकाहरू पनि घर–बारबिहिन भएका छन्। र त, वीर अस्पताल करौडौं नागरिकको भरोसाको केन्द्रमा छ।

तर, त्यही भरोसामाथि भष्ट्राचारको खेल खेलिन्छ।

हाल वीरमा १० वटा भेन्टिलेटर बिग्रिएर थन्किएका छन्।

तर, उपकरण मर्मत गर्न अस्पताल प्रशासनको कुनै ध्यान छैन।

डा। झाका अनुसार न्युरो विभागमा ५ वटा आइसियु सहित भेन्टिलेर छन्।

अरु २ वटा भेन्टिलेटर बिग्रिएर छन्। तर, अस्पतालले मर्मत गर्न कुनै चासो दिएको छैन।

त्यसै त, नेपालमा न्युरो सर्जनको अभाव पनि उस्तै छ।

३ जनामात्रै सरकारी न्युरो सर्जन छन्।

‘सरकारको स्वास्थ्य नीति एकदमै कमजोर छ। तीनजना न्युरो सर्जन कसरी सेवा दिन सकिन्छ,’ डा. झा भन्छन्।

न्युरोका बिरामीलाई एक पटक भेन्टिलेटरमा राखेपछि महिनौँ दिनसम्म उपचार गरेर राख्नुपर्ने हुन्छ।

‘एक त जनशक्तिको अभाव छ। अर्कोतिर, भएको उपकरणको मर्मत छैन,’ डा. झा भन्छन्, ‘उपचार भइरहेका बिरामीलाई निकाल्न सक्ने अवस्था हुँदैन। नयाँ बिरामी राख्ने ठाउँ छैन। भेन्टिलेटरको अभावमा धेरै बिरामीको मृत्यु भइरहेको हुन्छ। आफ्नौ आँखा अगाडी यस्तो घटना हुँदा पनि केही गर्न सकिँदैन।’

मस्तिष्कघात, गम्भीर खालको चोटपटक र हृदयघातका गम्भीर बिरामीको उपचारमा प्रत्येक मिनेटको महत्व हुन्छ।

त्यस्तै, त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. सुभाष आचार्य आइसियु बेडको अभावमा धेरै बिरामीले दुस्ख पाएको अनुभव सुनाउँछन्।

‘प्रत्येक दिन आइसियु बेड नपाएका धेरै केस आइरहेका हुन्छन्। सकेसम्म त व्यवस्थापन गरिन्छ,’ डा. आचार्य भन्छन्, ‘ बिरामी यता–उता, उताबाट यता गर्दै मृत्यु हुन्छ।’

सरकारी अस्पतालमा उपचार सेवा सीमित हुनु तथा कमजोर व्यवस्थापन प्रणाली पनि मृत्यु बढ्दै गएको छ।

बिरामीलाई भेन्टिलेरको व्यवस्था नहुँदा सम्म हातको सहायताले पप्प दिएर राख्दा नि केही हद सम्म उपचार गर्न सकिन्छ। तर, धेरै अस्पतालमा भेन्टिलेटर छैन भन्दै रिफर गर्न चलन बढिरहेको चिकित्सक बताउँछन्।

‘अस्पतालका प्रशासकहरूसँग पैसा मोह बढी छ। भएका उपकरणको सही प्रयोग छैन,’ वीरका एक कर्मचारी भन्छन्, ‘अस्पतालको कमजोर व्यवस्थापनले पनि धेरै बिरामीको मृत्यु भएका छन्।’

रेफरल सिस्टममा समस्याले पनि बिरामीको मृत्यु बढेको डा. आचार्यको भनाई छ।

डा. झा आफूसँग बेड नभएको अवस्थामा सकेसम्म सरकारी र सरकारी नभए मेडिकल कलेजमा रेफर गर्ने नीति लिएको बताउँछन्।

वीरमा मात्रै होइन नयाँ उपकरण खरिद गरी कमिसनको खेल रच्ने धेरै सरकारी अस्पताल रहेका छन्।

वीरका पदाधिकारीले कमिसनको चक्करमा नपरि बिग्रेका उपकरण मात्रै मर्मत भएको भए धेरै बिरामीले नयाँ जीवन पाउने एक कर्मचारी बताउँछन्।

गरिबको तिरेको करबाट उपकरण खरिद हुन्छ। सेवा लिन नपाइ बिरामीको मृत्यु भएको छ।

सरकार भन्छ– पैसाको अभावमा कुनै बिरामी उपचारबाट बञ्चित हुनेछैन।

तर, सरकारी अस्पतालमा भएको उपकरणको सही प्रयोगमात्रै हुने हो भने पनि भरतबहादुर सिंहजस्ता धेरै जीवन बचाउन सकिन्छ।

 



One thought on “काठमाडौंमै प्राण गयो तर भेन्टिलेटर भेटिएन

  1. Yo ghatana pahilo hoina. 2047 Sal push mahina ma mero ama le pani yehi ventilator avab ko karan jhan gumaunuparyo. Hami sabai umerma a bath vayo.
    Yo aspatal ma vrastachar rog ko niakaran kahile hun6 ra yeuta ramro bebasthit aspatal ko rupma dekhda paunu. Deshko jetho ani sabaivanda badhi experienced Dr ko jamat vako hospital ma yesto samaya vognu ma ko jimmewar 6na yekchoti afai bichar garum na.
    Arko kura Rastria aviskar Kendra(mahabir Pun jyu) lai jimma dinus sabai ventilator marmat garidin 6 vrastachharko chalkhelbina nai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *