दुषित हावाको दुश्चक्र : चर्को मूल्य चुकाउनै बाँकी छ

गजेन्द्र बाेहरा /काठमाडौं
प्रकाशित
२०७७ चैत १६ गते २०:०६

गत शुक्रबारदेखि काठमाडौं खाल्डोमा निसास्सिएको घाम अझैं तंग्रिन सकेको छैन। घामका किरणमाथि ‘बिर्को’ बनेर धुम्मिएको प्रदुषण झन्-झन् बाक्लिन थालेको छ।

बेला बेला झुल्किन खोज्ने घाम पनि क्षणमै निरीह बन्छ र निन्याउरो भएर आकाशगंगामा बाक्लिएको प्रदुषणमै बिलिन हुन्छ।

यो कहिलेसम्म हुन्छ? जल तथा मौसम विज्ञान विभागले ‘केही’ दिनसम्म रहने अनुमान त गरेको छ। तर, उसको अनुमानअनुसार यो प्रदुषणको ‘बादल’ फाट्ने छाँट भने देखिँदैन। बरु दिन दिन स्वास्थ्यमा समस्याहरू थपिन थालेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौंको ‘भिजिबिलिटी’ निकै कम छ। अर्थात् स्वस्थ आँखाले काठमाडौंमा मुस्किलले हजार मिटरसम्म देख्न सकिन्छ। त्यो पनि मधुर दृश्य। त्यसैका कारण शुक्रबारदेखि नै हवाइ उडानहरू अवरुद्ध भएका छन्।

वायुको गुणवेत्ता संकेत (एयर क्वालिटी इन्डेक्सअर्थात्, एक्यूआई)लेपार्टीक्युलेट म्याटर अर्थान् ‘पिएम’ १० र २.५ माइक्रोग्रामभन्दा पनि साना विषाक्त्त रसायका कणहरूको मात्राका आधारमा वायुको प्रदुषण मापन देखाउँछ। नेपाल सरकारले पनि पिएम २.५ लाई आधारभूत इकाइ मानेको छ। यो मात्रामा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका रसायन हुन्छन्। त्यो धुलो वा धुँवाका कणहरूमा व्याप्त हुन्छ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जोडिएका हावामा प्रदुषणको मात्रा देखाउने मेसिनहरूमा त्यसको मात्रा निकै बढेको देखिन्छ। सोमबार साँझपख प्रदुषणका कणहरू केही कम छन् नत्र २.५पिएमको मात्रा त निकै चढेको थियो। साँझपख पनि धेरैजसो स्टेशनहरूमा त्यसको मात्रै २८५ सम्म देखिएको छ।

मौसम विग्रिएको कि हावा?

मौसम त उस्तै हो। शुक्रबारअघिसम्म जस्तो थियो त्यस्तै नै। मौसम सफा नै छ। बिग्रिएको चाहिँ काठमाडौंको हावा नै हो। अर्थात् लामो समयदेखि काठमाडौंको हावामा मिसिएका प्रदुषणका मसिना कणहरू थुप्रिदैँ थुप्रिदैँ गएर त्यो बाक्लिएको हो।

‘यो मौसमलाई दोष दिने कुरा होइन। मौसम त उस्तै छ। पहिला जस्तो थियो त्यस्तै नै’ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागीय प्रमुख प्राध्यापक डा. दीपक अर्याल भन्छन् ‘अहिले काठमाडौंको हावा नै खराब भएको हो। यहाँको हावा नै प्रदुषित भएको हो।’

कस्तो हावा?
‘विश्वको सबैभन्दा प्रदुषित हावा। सबैभन्दा खराब हावा’ वातावरणविद उत्तमबाबु श्रेष्ठ भन्छन् ‘हामीले अहिले संसारकै सबैभन्दा खराब सास फेरिरहेका छौं। यो अझैं खराब हुन्छ। अहिलेको भन्दा झन् दूषित।’

श्रेष्ठका अनुसार यो हावामा शुक्रबार नै प्रदुषण थुप्रिएको होइन।

‘हावा पहिलादेखि नै दुषित थियो। त्यो बढेको देखिएको मात्रै हो’ उनी भन्छन् ‘यहाँ फोहोर त थियो नै। त्यसमाथि देशभरि बढेकाे डढेलाेकाे धुँवा पनि मिसियो। हावा झन् दुषित भयो।’

तर, दोष त काठमाडौंको हावामा मिसिन आएको डढेलोको धुँवाको मात्रै छैन।

‘यसपालि जंगलमा डढेलो धेरै लाग्यो त्यो अलग कुरा हो’ श्रेष्ठ भन्छन् ‘जंगलमा आगो त पहिला पनि लाग्थ्यो। भारततिरबाट पहिला पनि प्रदुषणका कणहरू उड्दै आउँथे।’

फरक यत्ति हो, अब काठमाडौंको हावाले पचाउनै नसक्नेगरी प्रदुषणका कणहरू त्यसमा बाक्लिए।

त्यसलाई पखाल्ने ‘तुफानी’ हावा चल्नै सकेको छैन। गत असोजदेखि पानीका छिटाएको मात्रै छ। झरी बनेर दर्किनै सकेको छैन। अर्थात् यसपालि हिँउदे वर्षा नै भएन। पानी पार्न आएको हावाले पनि उल्टै धुँवा र धुलो ल्याएर आयो। प्रदुषण अझैं थपियो।

‘यो निकै लामो खडेरीका कारण पनि यस्तो भएको हो। पानी नपरुन्जेल सायद यस्तै रहन्छ’ प्राध्यापक अर्याल भन्छन्।
अर्थात् यो हिँउद ‘शून्य वर्षाको खडेरी’ भयो।

अब के गर्ने?
गर्नुपर्ने त थुप्रै काम छन्।

‘तर बिडम्वना त कस्तो भइदियो भने हामी कुरामात्रै गर्‌यौं। चालिस वर्षसम्म हामीले वायु प्रदुषण नियन्त्रणका लागि केही पनि काम गर्न सकेनौं’ वातावरणविद श्रेष्ठ भन्छन् ‘अब धेरै ढिला भइसकेको छ। यसका आर्थिक, सामाजिक अनि मानवीय  क्षतिको चर्को मूल्य त हामीले बेहोर्नै बाँकी छ।’

हो, काठमाडौंको हावामा प्रदुषणका कणहरू बाक्लिन थालेको वर्षौं भइसकेको छ। अब यो प्रदुषण क्षणिक रहेन। हावामा, डढेलोको धुँवा मिसियो। हावा चलेन। वा पानी परेन। वा मौसम यस्तै भयो।

‘यी सबै उम्किने प्रयासमात्रै हुन्। हाम्रा नीति निर्माताहरूले उम्किने प्रयासमात्रै गरे। कसरी यसको समाधानतिर जान सकिन्छ भन्ने प्रयासै गर्न चाहेनन्’ श्रेष्ठ भन्छन् ‘काठमाडौंको वायु प्रदुषण अब स्थायी भइसक्यो। विश्वकै सबैभन्दा प्रदुषित सहरको नाममा काठमाडौं दर्ज भइसक्यो।’

सरकारले चर्को धुँवा फाल्ने सवारीहरू नियन्त्रण गर्न सकेन। निमार्ण क्षेत्र र त्यो कामलाई व्यवस्थित गर्नै सकेन। दुई किलोमिटर बाटो पिच हुन तीन वर्ष लाग्न थाल्यो। धुलो त्यसै बढ्छ।

इँटाभट्टाहरूको धुँवा नियन्त्रण हुनै सकेन। वस्तीका अलि माथिल्ला टुप्पासम्म चिम्नीहरू जोडिए पनि अन्तत: त्यो धुँवा यही वायुमण्डलमै मिसिने हो।

सडक बनाउँदा काठमाडौंका हज्जारौं रुख काटिए। त्यसको सट्टाभर्नामा कहिल्यै अरु नयाँ रुखहरू रोपिएनन्। सडक बने। पिच भए। काला, चिल्ला भए। तर सहर उजाड भयो। हरियाली कतै देखिन्न।

गर्नुपर्न काम त यस्तै र यिनै हुन्।

‘तर, हामीले तत्काल गर्नुपर्ने काम पनि गरेनौं। दीर्घकालीन योजनाका बारेमा त झन् सोच्दा पनि सोचेनौं’ श्रेष्ठ भन्छन् ‘यो हावा एकैपटक वा एकै दिनमात्रै प्रदुषित भएको होइन। लामो समयदेखि हामीले यस्ता काम गरिरहेका छौं अनि हावा दुषित भयो। तर, नियन्त्रण वा न्युनीकरणका लागि त कुनै कामै गरेनौं।’

र, यसको निकै महंगाव मूल्य चुकाउनैपर्छ।

श्रेष्ठका अनुसार यो मात्रै वातावरणको मात्रै कुरा होइन। यो ‘वातावारणवादी’हरूको मात्रै मुद्दा होइन। कुनै प्रकृतिप्रेमीको मात्रै सवाल होइन।

‘यो आर्थिक समस्या हो। सामाजिक समस्या हो। एक प्रकारले भन्ने हो भने त यो राजनीतिक र वर्गीय समस्या पनि हो’ श्रेष्ठ भन्छन् ‘धनीहरूले, पहुँच हुनेहरूले गाडीमा अनि घरघरमा एयर क्युरिफायर राखेर केही बँच्न सक्लान्। तर सडकमा हिँड्ने। सडकमै काम गरिखानेहरू कसरी बच्ने?’

पक्कै पनि। योसँग आर्थिक, सामाजिक अनि आम नागरिकको दैनिक जनजीविका पनि जोडिएको छ। वायु प्रदुषणको मूल्य हामीले यसैगरी चुकाउनै परेको छ।

चार–चार दिनसम्म देशका आन्तरिक तथा बाह्य सबै उडानहरू ठप्प छन्। हवाइ क्षेत्रले मात्रै करिब २४ करोड आम्दानी गुमाउनुपर्‌यो। तर यो केबल ‘जहाज उडाउने’हरूसँग मात्रै जोडिएको छैन। यसमा सडकका मजदुरदेखि अनेकन जीवन गाँसिएका छन्। समग्रमा देशकै अर्थतन्त्र गाँसिएको छ।

वायु प्रदुषणका कारण हामीले चुकाउनुपर्ने ‘आर्थिक मूल्य’को यो एउटा सूचकमात्रै हो। आर्थिक क्षेत्रका धेरै ‘शीर्षक’मा यसको असर लामो समयसम्म रहिरहन्छ।

अस्पतालहरूमा दुषित हावाको छिटा लागेका बिरामीहरू भरिन थालेका छन्। काठमाडौंका उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने समस्या बढ्न थालेका छन्। मन्त्रालयका अनुसार दुषित हावाका कारण मानिसलाई सासै फेर्न गाह्रो हुने समस्या बढेका छन्। मन्त्रालयले दैनिकजसो दुषित हावाबाट ‘बच्न’का लागि अपिल गरिरहेको छ।

कोरोनाको एउटा दुष्चक्रबाट बाहिरिन खोजिरहेका आम नागरिकका लागि दुषित हावा अर्को ‘पर्खाल’ बनेर खडा भएको छ।

दुषित हावाका कारण प्रत्यक वर्ष नेपालले गुमाउने करिब ४२ हजारको ज्यान मानव स्वास्थ्यका लागि हामीले चुकाउनुपर्ने जिन्दगीको अर्को मूल्य हो।

यही प्रदुषणका कारण सरकारले देशभरका स्कुल चार दिनसम्म बन्द गर्ने निर्णय नै गर्नुपर्‍‌यो। कोरोनापछि तंग्रिन थालेको शिक्षा क्षेत्र फेरि बन्द हुने अवस्थामा पुगे।

वायु प्रदुषणका कारण हामीले चुकाउनु पर्ने यस्ता सामाजिक मूल्य त अझै कति छन् कति। यो मात्रै सुरुवात हो।

‘यो कसैले पनि कुनै एउटा समूह वा कसैको समम्यामात्रै नठाने हुन्छ। यो हामी सबै साझा समस्या हो’ श्रेष्ठ भन्छन् ‘हामी जेसुकै वा जोसुकै भएपनि सबैले फेर्ने सास त एउटै हो।’

अर्थात् यही, संसारकै सबैभन्दा दुषित र खराब हावा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय