महामारीका जनस्वास्थ्य कमाण्डर डाक्टर !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुग्दा कुनै प्रदेशको फाइल पल्टाउँदै एक कर्मचारीसँग बुझ्दै थिए डा.समिर अधिकारी।

तीन दिन पहिले हेल्थपोस्टसँग कुरा गर्न समय दिएका डा. अधिकारीले हामीलाई आफ्नो कक्षमा आधा घन्टाभन्दा बढी कुराए।

त्यसबीच उनी निकै व्यस्त थिए। हामीसँग कुरा गर्दै गर्दा पनि डाक्टर अधिकारीले थुप्रै फाइलमा हस्ताक्षर गरे।

नेपालमा ‘लकडाउन’ गरिएको चैत ११ गते एक वर्ष पुग्यो। लकडाउन पाँच महिनासम्म रह्यो।

उक्त अवधिमा सबैले थुप्रै सास्ती खेपे।

अहिले अवस्था सहज छ। अवस्था सहज तुल्याउन डा. अधिकारीको पनि ठूलो भूमिका छ।

स्वास्थ्य मन्त्रालयको आपतकालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका प्रमुख तथा मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले कोरोना महामारीको केस्रा–केस्रा केलाएका छन्।

अहिले संक्रमण दर कम देखिएको छ। तर, अधिकारीको मन शान्त छैन। भारतमा दोस्रो चरणमा फैलिरहेको संक्रमणले उनलाई तर्साइरहेको छ।

र, उनी सम्भावित जोखिमको केस्रा केलाउँदै सावधानीका उपाय तयार पारिरहेका छन्।

सबैलाई सतर्क रहन आग्रह गरिरहेका छन्। गत वर्ष झैं उनको ध्यान सिमानाकाको आवतजावत व्यवस्थित गर्नेतर्फ अझै केन्द्रित छ।

अहिले हेर्दा मानिसलाई जीवन सामान्य अवस्थामा फर्किए झैं लागिरहेको छ।

यो अवस्था आउनुमा सरोकारवाला निकायको विशेष भूमिका छ।

कोरोना संक्रमण विश्वका लागि नै नौलो थियो। मानिसमा थुप्रै भ्रम थिए। मन्त्रालयले ती भ्रम चिर्न ठूला चुनौती चिर्नुपर्‍यो।

डा. अधिकारी जनताले पनि ठूलो जिम्मेवारी बहन गरेको सम्झिन्छन्।

लकडाउनमा कष्टकर जीवन बिताएर पनि जनताले संयमता अपनाउँदै सरकारलाई सहयोग गरेको उनको भनाइ छ।

यस्तो अवस्थाको ‘कमान्ड’ कसरी सम्हाल्ने भन्ने चिन्तामा थियो सरकार।

स्वास्थ्यको आपतकालीन ‘कमान्ड’ सम्हाल्ने निकाय स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र नै हो।

त्यसको प्रमुखका रूपमा डा. अधिकारीले कमान्ड सम्हाले।

‘यो कमान्ड कसरी सम्हाल्ने? सञ्चारमाध्यमबाट जनतामा लैजाने कुराहरू कसरी भन्ने? स्थानीय तहमा काम गर्ने स्वास्थ्यकर्मीलाई कसरी परिचालित कसरी गर्ने भन्ने कुरा भयो। र, त्यसको कमान्ड हामिले सम्हाल्यौं,’ उनले भने।

उनले ‘स्वास्थ्यको आपतकालीन अवस्था सञ्चालन र समन्वय गर्ने निकाय हाम्रै केन्द्र’ भएको बताए।

यसको प्रमुख भएको हैसियतले मन्त्रालयका निर्णय सञ्चारमाध्यमलाई भन्ने, कोरोना संक्रमितको उपचारमा काम गर्ने स्वास्थ्यकर्मीलाई भन्ने, अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्नेलगायत आफूले समन्वयकारी भूमिका खलेको उनी बताउँछन्।

सुरुमा रोगबारे सबै अनभिज्ञ थिए।

जनतालाई रोगबारे सुरुमा बुझाउन डा. अधिकारीको टिमलाई गाह्रो भयो।

आफ्नै निकायबीच पनि काम गर्न उनीहरूले सास्ती खेप्नुपर्‍यो।

‘सबैका फरक–फरक बुझाइ हुन्छन्। तिनलाई एकै ठाउँमा ल्याउनुपथ्र्यो। र, फिल्टर गरेर आधिकारिक कुरा सम्प्रेशण गर्नुपथ्र्यो,’ उनले भने।

डा. अधिकारीको टिमले अरू  देशका समस्या नजिकबाट केलाइरह्यो। र, टिमबाट आएको सुझावलाई नीतिगतरूपमा निर्णय गर्न थाल्यो। ती निर्णयलाई सबैको पहुँचमा पुर्‍याउने काम गर्न थाल्यो।

‘अन्य समयमा मन्त्रालयका फाइल उठाउने, टिप्पणी उठाउनेजस्ता प्रक्रिया धेरै लामो हुन्छन्। महामारीमा त्यो हुँदैन। युद्धजस्तै हुन्छ। गोली ठोक्नुपर्ने हो कि मानिसलाई उठाएर लैजानुपर्ने हो। तत्काल डिसिजन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्।

उनले आफूहरूसँग भएका सूचना र प्रमाणका आधारमा कतिपय निर्णय चाँडोचाँडो गर्ने गरेको बताए। त्यस्ता कतिपय निर्णय अर्को दिन फेर्नुसमेत परेको उनको अनुभव छ।

महामारीमा द्रुत गतिमा काम गर्नुपर्ने भएकाले सबै निकायसँग छलफल गर्ने समय नहुने उनी बताउँछन्।

सन २०१५ मा आपतलीन केन्द्र स्थापना भएको थियो। छोटो समयमा नै केन्द्रले थुप्रै काम गर्न सकेको भन्दै डा. अधिकारीले खुसी व्यक्त गरे।

‘सुरुदेखि हामी सरकारका तीनजना कर्मचारी यो शाखामा काम गथ्र्यौं। एकजना १०औं तहको प्रमुख, एकजना मेडिकल अफिसर र शाखा अधिकृत, अरू टेक्निकल सपोर्ट गर्नेगरी आइटीको मान्छे र मेडिकल अफिसर गरी दुईजना राखिदिएको छ। एकजना सपोर्ट स्टाफ गरी ६ जना छौं,’ उनले भने।

अहिले सातै प्रदेशमा यस्तै खाले प्रादेशिक आपतलीन केन्द्र स्थापना भइसकेका छन्।

मुलुक संघीयतामा गइसकेपछि स्वास्थ्यको नयाँ प्रणाली सबल भइसकेको थिएन। सोही समयमा महामारी फैलियो। यस्तो अवस्थामा सूचना पाउन निकै गाह्रो भएको डा. अधिकारीको भनाइ छ।

महामारीमा सरकारले डा. अधिकारीको टिमलाई जिम्मेवारी दियो। उनीसामु थुप्रै चुनौती पनि थिए।

तर, उनले तिनलाई सामान्य ठाने। चिर्दै गए। काँधमा आएको जिम्मेवारीबाट पछि हट्नु हुँदैन ठाने। ‘मैले नगरे कसले गर्छ’ भन्ने दायित्वले सधै थिचिरह्यो।

र, उनीजस्तै सबै सरोकारवाला निकाय तथा व्यक्तिहरू कटिबद्ध भएर काम गर्न थाले। जसले गर्दा आजको सहज अवस्था आयो।
दिनरात नभनी आफूहरूले काम गरेको उनी बताउँछन्।

पारिवारिक समस्या र चिन्ता एकातिर थियो। अरू कामको बोझ अर्कातिर। यहीबीचमा थपिएको महामारी नियन्त्रण गर्नुपर्ने दायित्व पनि।

उनीसँग थुप्रै स्वास्थ्यकर्मीले सास्ती खेप्नुपरेको कथा पनि छन्। ‘हामीले भनेका कतिपय सूचना जनतालाई तर्साउन, डराउन भनिएको जस्तो बुझिएको थियो। तर, त्यो समय नै त्यस्तै थियो,’ उनले भने।

यो रोग नयाँ हुनु नै सबैका लागि चुनौतीपूर्ण भएको डा. अधिकारीले बताए। दिनहुँ नयाँ–नयाँ कुरा खुल्दै जाने भएकाले आफूहरूले पनि त्यहीरूपमा अगाडि बढ्नुपरेको उनको भनाइ छ।

सुरुमा मन्त्रालयले दिनकै बोली फेरिराख्छ भन्ने भए पनि पछि सबैले यसबारे बुझकाले मन्त्रालयलाई सहज हुँदै गएको डा. अधिकारीले बताए।

विश्वभरिका वैज्ञानिक नै कोरोना खोप उत्पादनमा लागेकाले एक वर्षमै खोप उत्पादन हुन सकेको उनले बताए। त्यसले विश्वमा नै आसाको सञ्चार गरेको डा. अधिकारीको भनाइ छ।

उनी एक वर्षलाई फर्केर हेर्दा चुनौतीका रूपमा मात्रै देख्दैनन्, अवसरका रूपमा पनि लिन्छन्।

छोटो समयमा यति काम गर्न नसकिने भएकाले आफूहरूले पाएको अवसर र कामबाट उनी सन्तुष्ट छन्।

यसले आफूहरूलाई कहिले पनि नआत्तिने, कहिले पनि नडराउने र समस्या परेको समयमा संयम भएर काम गर्नुपर्छ भन्ने ठूलो पाठ सिकाएको उनले बताए।

सुरुमा कसरी हुन्थ्यो काम?

कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेलाई सम्मान गर्दै

सुरुमा कोरोना परीक्षण, कोरोनाबाट मृत्यु हुने, कोरोनाका आइसोलेसन क्वारेन्टिनमा, स्थानीय तहमा भएका समस्याका कुरा आफूहरूले नै गरेको उनी बताउँछन्।

‘नयाँ प्रणालीमा काम गर्ने गरी देशभर सञ्जाल बनिसकेको थिएन। कुनै एउटा तहमा काम गर्ने स्वास्थ्यकर्मी अर्को तहसम्म जिम्मेवार हुनुपर्छ भन्ने पनि थिएन,’ उनले भने, ‘त्यसले गर्दा एकदमै समस्या भयो। मन्त्रालयबाट फोनै गरेर कोही कोरोना पोजिटिभ आउँदा कुशल व्यवस्थापन गर्न निर्देशन दिन्थ्यौं।’

उनले एक व्यक्तिबाट फोन गरेर व्यवस्थापनको काम सुरु गरिएको बताए। झापादेखि कञ्चनपुरसम्मका सबै नाकामा फोन गरेर आफूहरूले उच्च सावधानी अपनाउन निर्देशन दिएको उनले बताए।

‘कतै कमजोरी हुँदा हामीले यो गर्न सकिएन भनेर सचिवलाई ब्रिफिङ गथ्र्यौ। मान्छे रातदिन आइरहेका छन्। जुन बाटोबाट आउँछन् भनेका थियौं, अर्कै बाटोबाट आइरहेका छन्। रातिको समयमा आइरहेका छन् भनेर सुझाव दिएका थियौं,’ उनले भने।

पछि दैनिक मन्त्रालयले कोरोना ब्रिफिङ गर्न थाल्यो। देशभरिबाट आएका डाटालाई डा. अधिकारीकै टोलीले भेरिफाई गर्नुपथ्र्यो।

पछि आफूहरूले टिम बनाएर काम गर्न सुरु गरेको उनी बताउँछन्। ‘पछि सरुवा रोग हेर्ने हाम्रो छुट्टै महाशाखा छ। त्यसैलाई जिम्मेवार बनाउँदै लैजानुपर्छ भन्ने भयो। र, इडिसिडीलाई यी सबै काम गर्ने गरी जिम्मेवारी दियौं,’ उनले भने।

केसको अध्ययन गर्ने, स्थानीय तहसम्म टोलीहरू बनाउने काम पनि समयमै सुरु गरिएको उनले बताए। यसले बिस्तारै सिस्टम बस्दै गएको उनको भनाइ छ।

सातै प्रदेशमा इडिसिडी गठन गरिएको र त्यसले जिल्ला–जिल्लामा समन्वय गरेर काम गरेको डा. अधिकारीले बताए। जसले गर्दा अहिलेसम्म सहजरूपमा काम भइरहेको उनको दाबी छ।

‘सुरुमा सामान पाउन गाह्रो थियो। मास्क, स्यानिटाइजर पाउन गाह्रो थियो। पछिपछि सामान व्यवस्थापन पनि सहज गर्दै गयौं,’ उनले भने।

संक्रमणदर बढ्दै गर्दा मानिसमा त्रास रहेको अवस्थामा मन्त्रालयले सबैलाई आश्वास्त पार्दै लगेको उनले बताए।

कोरोनाकालमा थुप्रै प्रयोगशाला स्थापना गरेर द्रुत गतिमा काम गरिएको उनको भनाइ छ। यसले एम्बुलेन्स व्यवस्थापनदेखि थुप्रै कुरा सिकाएको बताए।

यसले सबै पालिकामा अस्पताल हुनुपर्ने पाठ सिकाएको डा. अधिकारीको भनाइ छ।

रेस्पोन्स गर्ने सम्बन्धमा उनको टिमले सास्ती खेप्नुपर्‍यो। ‘हामीले जनताका जिज्ञासा सुन्न मोबाइल नम्बर सार्वजनिक गर्‍याैं। त्यसले समस्या पूर्ति भएन। हटलाइन नम्बर ११३३ सुरु गर्‍याैं। यो चौबिसै घन्टा सुरु गर्‍याैं। यसमा काजमा जनशक्ति ल्यायौं,’ उनले भने, ‘कसैलाई संक्रमण हुँदा एम्बुलेन्सलाई खबर गर्ने, अस्पताल लैजाने काम गर्‍याैं।’

कुनै काम गर्नुपर्‍यो भने सम्बन्धित महाशाखालाई पत्र लेखेर चाँडो गरिदिन आग्रह गर्ने गरेको उनी सम्झिदन्छन्।

सरकारको निर्देशनअनुसार नै काम गर्दा सरोकारवालासँग मिलेर काम गर्दा कतिपय अवस्थामा चाँडो हुनुको सट्टा ढिला भएको समेत उनको अनुभव छ।

कसरी गर्थे समय व्यवस्थापन?

‘कोरोनाको उच्च अवस्थाबाट अहिले केही राहत मिलेको छ। सुरुमा सिस्टम नै थिएन। त्यो बेला कामको निकै प्रेसर थियो,’ डा. अधिकारीले भने।

काम बाँडफाँट हुँदा अहिले केही हल्का भएको उनी बताउँछन्। ‘मन्त्रीज्यूको अनुपस्थितिमा आफू गएर बोल्नुपरेको छ।

सचिवज्यूको अनुपस्थितिमा पनि गइएको छ। महाशाखा प्रमुख गएकोमा त सामान्यरूपमा जानुपरेको छ। आफ्नो भूमिका छँदैछ,’ उनी भन्छन्।

कुनै कर्मचारी बिरामी हुँदा एकै कर्मचारीले चार–पाँच जनाको भूमिका निर्वाह गरेको समेत उनले बताए।

उनलाई पनि कोरोना संक्रमण भएको थियो। संक्रमण भएको समयमा उनले घरमै बसेर पनि थुप्रै काम गरे। डा. अधिकारीसँग २४ घन्टा ल्यापटप हुन्छ। कुनै काम गर्दा उनी तुरुन्तै गरिहाल्छन्।

कोरोनाको उच्च जोखिम हुँदा उनले कुनै दिन बिहान ७ बजे अफिस पुगेर राति १२ बजेसम्म पनि काम गरेका छन्। कुनै दिन घर पुगेर राति २ बजेसम्मै काम गरेका छन्।

सञ्चारमाध्यम र दूरदराजका मानिससँग पनि उनले सम्पर्कमा रहनुपर्ने हुन्थ्यो। उनी प्रायः फोन उठाउँथे। सकेको सुझाव दिन्थे। घरमा परिवार पनि छ। त्यहाँ पनि समय दिनुपर्ने बाध्यता।

नियमित विज्ञका रूपमा अध्ययन गर्नुपर्नेलगायत चुनौतीलाई उनले बोझका रूपमा लिएनन्। सधैं जिम्मेवारीकै रूपमा लिए। अहिले उनी त्यो बेला कसरी कामको व्यवस्थापन गरियो भनेर सोच्दा आफैं अचम्म पर्छन्।

कोरोनाकालमा हिरो, हिरोइन, भिलेनजस्ता थुप्रै भूमिका एकै व्यक्तिले निर्वाह गर्नुपरेको उनी हाँस्दै सुनाउँछन्।

आफैं कोरोना संक्रमित हुँदा कसरी काम गरे?

आफैं संक्रमित हुँदा काम गर्ने विषय निकै गाह्रो हो। तर, डा. अधिकारीले संक्रमण हुँदा पनि काम गरे।

उनले आफू नरहेको अवस्थामा कसरी काम गर्ने भनेर अगाडि नै योजना बनाएका थिए।

‘कर्मचारीलाई तपाईं एक दिन एब्सेन्ट हुनु काम कसरी चल्छ? म एक दिन एब्सेन्ट हुन्छु काम कसरी चल्छ? भनेर आफ्नो मेजर भूमिकाबाट बाहिरिँदै टिमकै साथीलाई जिम्मा दिएर एक्सपर्ट बनाएका थियौं। त्यसैले हामीलाई काम गर्न सहज तुल्यायो,’ उनले भने।

कुनै इमरजेन्सी कुरा एक व्यक्तिमा मात्रै निर्भर हुनुहुँदैन भन्ने आफ्नो धारणा रहेको उनी बताउँछन्।

यतामात्र नभएर विभिन्न अस्पतालमा पनि यही सिस्टम लागू गरिएको उनले बताए।

घरमै बसेर अरू कुरा गरिए पनि फोनमा बसेर बोल्न सकिने अवस्था नरहेकाले त्यो चाहिँ नगरिएको उनले बताए।

उनले प्रविधिको अत्यधिक प्रयोग गरेर काम गरेको बताउँछन्।

कुनै मिटिङमा जाँदा ल्यापटप बोकेर त्यतै बसेर पनि काम गरिएको डा. अधिकारी अनुभव सुनाउँछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *