गौरीफन्टा नाकाबाट भित्रिएका ३४ जनामा कोरोना पुष्टि, नयाँ भेरियन्टको आशंका

पछिल्ला केहीदिनयता भारतमा कोरोना संक्रमण तीव्र बन्दा नेपाल आउने नागरिकमा पनि संक्रमण दर बढ्न थालेको छ। भारतका विभिन्न स्थानबाट नेपाल आउने नागरिकको गौरीफण्टा नाकामा गरिएको एन्टिजेन परिक्षणमा हालसम्म ३४ जनामा संक्रमण पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायका अनुसार पछिल्लो एक साताको अवधीमा गौरीफण्टा नाका भएर नेपाल प्रवेश गरेका ७ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरुलाई अन्य मानिसको सम्पर्कमा नआउने व्यवस्थासहित  होम आइसोलेसनमा बस्नेगरी पठाइएको छ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार गौरीफण्टा नाकासँगै कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउने नागरिकमासमेत कोरोना संक्रमण पुष्टि हुनथालेको छ। सो नाकाबाट आउने मध्ये हालसम्म ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

घर जान सम्भव भएका व्यक्तिलाई सुरक्षित तवरले घर पठाइने गरिएको र घरसम्म पुग्न असम्भव भएका नागरिकलाई स्थानीय तहसँग समन्वय गरेर १० दिनसम्म आइसोलेसनमा राख्ने व्यवस्था गरिएको कार्कीले बताए। ‘घर जान सम्भव भएका तथा आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई स्थानीय तहसँग समन्वय गरेर सीमा नजिकै आइसोलेसनमा बस्ने व्यवस्था गरिएको छ’, उनले भने, ‘घरजान सक्नेलाई होम आइसोलेसनमा बस्ने शर्तसहित सुरक्षित तरिकाले घर पठाइने गरिएको छ।’

भारतमा कारोना संक्रमण फैलिएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतबाट नेपाल आउने नागरिकको सीमा नाकामै एन्टिजेन प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने गरिएको छ।

परीक्षण नै नगरी भाग्छन् नागरिक

दोस्रो लहरमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले भारतबाट आउने नागरिकको सीमा नाकामै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको भएपनि भारतबाट आएका कतिपय नागरिक भने परीक्षणको दायरामा नआउँदै भाग्ने गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार टाढा घर भएका नागरिक स्वास्थ्य परीक्षण गर्न झर्को मान्ने र परीक्षणको दायरमा नआउँदै भाग्ने गरेका हुन्।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायका अनुसार पछिल्लो समय गौरीफण्टा नाका भएर कर्णाली र प्रदेश ५ का नागरिकसमेत आउने गरेका छन्। उनीहरुले स्वास्थ्य परीक्षण गर्न नमान्ने र भाग्न खोज्ने गरेको उपाध्यायले बताए। ‘अन्य प्रदेशमा घर भएका नागरिक सीमामा स्वास्थ्य परीक्षण नगराई भाग्न खोज्ने प्रवृत्ति रहेको छ’, उनले भने, ‘शनिबार पनि चारजना दैलेखका मानिस भागेर गए। उनीहरुकै कारण समुदायमा कोरोना संक्रमण फैलिने खतरा बढेको छ।’

नयाँ भेरियन्ट परीक्षण गर्न काठमाडौं पठाउनुपर्ने बाध्यता

कोरोनाको नयाँ भेरियन्ट परीक्षण गर्ने केमिकल र जनशक्ति अभाव हुँदा सुदूरपश्चिम प्रदेशमा समस्या भएको छ। पिसिआर ल्याब भएपनि नयाँ भेरियन्टको कोरोना परीक्षण गर्ने जनशक्ति र केमिकल नहुँदा स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। यसरी स्वाब परीक्षण काठमाडौं पठाइँदा रिपोर्ट आउन ढिलाई हुने गरेको कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय