‘कचौरा’ जस्तो काठमाडौंमा नाचिरहेको विषालु हावा

डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा शुक्रबार दिउँसो बबरमहलतिर थिए। त्यत्ति धेरै चर्किन नसकेको घाम एकाएक हरायो। केही दिनदेखि धुम्म परिरहेको काठमाडौंको आकाश अचानक अँध्यारोजस्तै हुन थाल्यो।

उनले सोँचे– कतै ठूलै आगलागी पो भयो कि!

सरकारले गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण’मा शर्मालाई ‘डढेलो विज्ञ’का रुपमा खटाएको छ।

‘आँखा मिच्दै म घर कुद्न थालेँ। तर बबरमहलतिर मात्रै होइन रहेछ। यो त सबैतिर उस्तै पो रहेछ’ घर पुग्दा उनका परिवारका अरुले पनि ‘आँखा किन पोल्यो?’ भन्न थालेका थिए।

कस्तो हावा, कति खतरा?
कचौरा आकारको काठमाडौं दिउँसै अँध्यारिन थालेको थियो। धुम्म परेको आकासमा धुमिल तुँवालो भन्दा काठमाडौंवासीको मनभित्र ‘डर’को हावा बढी कुद्न थाल्यो।

किन काठमाडौंको हावा फोहर भयो? कहाँबाट आयो?

यो अचानक भएको भने होइन। प्रदुषणका कणहरू आजै आएर यहाँको आकाशमा जम्मा भएका होइनन्।

यहाँको हावामा प्रदुषणको मात्रा त बढि नै रहेको थियो। तर, केही दिन यता प्रदुषणको ‘ट्र्याप’मा परिरहेको काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुँवा पनि मिसिइरहेको थियो। शुक्रबारतिर त्यो धुँवाको मात्रा अलि धेरै बाक्लियो।

वन तथा भु–संरक्षण विभागको ‘वन डढेलो पहिचान तथा अनुगमन प्रणाली’ले देखाएको एउटा ताजा तस्विर अनुसार देशका ५४ जिल्लाका ४६१ ठाउँमा डढेलो लागिरहेको छ।

शर्माका अनुसार ‘एट्मसफेयर ग्राउन्ड क्लाउड’ मा जंगलमा लागेको डढेलोको धुँवाले ५० प्रतिशतभन्दा धेरै योगदान गरेको हुन्छ।

‘काठमाडौं त कचौराजस्तो छ। यसको भू–वनोट नै यस्तै छ। यहाँ जम्मा भएको धुलो धुँवा बाहिर निस्किन पाउँदैन। धेरै मुस्किल हुन्छ’ उनले भने ‘त्यसैले त्यो केही दिनसम्म यतै यतै धुम्म परिरहन्छ। वायु प्रदुषणमा जंगलमा लागेको डढेलोको धुँवाले ५० प्रतिशत योगदान दिएको हुन्छ।’

२०१२मा लाङटाङमा भीषण आगलागी भएको थियो। लामो समयसम्म त्यहाँ लागेको डढेलोको धुँवा काठमाडौंसम्मै आइपुगेको थियो। यहाँबाट त्यो धुँवा भारतसम्मै पुगेको थियो। र, त्योबेला पनि काठमाडौंको आकाश करिब करिब यस्तै थियो।

अहिले पनि ठ्याक्कै त्यस्तै भएको छ। देशका ४६१ ठाउँमा सल्किरहेको डढेलोबाट पुत्पुत्ताइरहेको धुँवा कहाँबाट कति काठमाडौंमा छिरेको छ भन्ने बारेमा अझैसम्म आधिकारिक अनुसन्धान भएको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा पश्चिम दिशाबाट बढी हावा छिरेको छ।

तर, कहाँकहाँबाट हावा भित्रिरहेको छ र काठमाडौंमा हावाको दिशा के छ भन्नेबारे मिहीन अध्ययन गर्ने प्रविधि नेपालमै छैन।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार देशका धेरै ठाउँका जंगलमा आगलागी हुँदा र धुलोका कणहरूसमेत त्यसमा मिसिएका कारण अहिले मौसम यस्तो देखिएको हो।

‘लामो समयदेखि खडेरी नै भइरहेका कारण अहिले बायुमण्डल सुख्खा छ। यस्तो अवस्थामा धुलोका कणहरू धेरै हुन्छन् र त्यसैमाथि जंगलमा आगलागी पनि भइरहेको छ’ उनले भने ‘त्यही धुलो र धुँवा मिसिएका कारण अहिले वायुमण्डलमा यस्तो समस्या देखिएको हो।’

अहिले त्रिभुवन विमानस्थलका धेरै उडानहरू पनि प्रभावित भएका छन्। भिजिबिलिटी कम हुँदा उडानहरूसमेत रोकिएको विमानस्थलले जनाएको छ।

भारतका कतिपय क्षेत्रमा पनि वायु प्रदुषण बढेको छ।

‘नेपालमात्रै होइन, छिमेकी भारतमा पनि यस्तै प्रदुषण देखिएको छ’ उनले भने ‘त्यसको कारण यता पनि बढेको हुनसक्ने अनुमान हो।’

यसपालि हिँउदमा धेरै वर्षा पनि भएन। त्यसैले पनि केही दिनदेखि आकाश धुम्म भइरहको छ। खासगरी हिँउदका बेला धेरै वायु प्रदुषण हुन्छ। कारण वर्षा हुँदैन र वायुमण्डलमा जमेको प्रदुषण हट्न समय लाग्छ। अहिले देखिएको यो वायु प्रदुषण पनि मनसुनका बेला केही कम हुनसक्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ। हावा चलिरहेको छैन र त्यो फैलिन पाएको छैन। यस्तो अवस्थामा प्रदूषणका कणहरु छरिन पाउँदैनन् र वायुमण्डलमा नै तैरिरहेका हुन्छन्।

देशका करिब ४६१ ठाउँमा सल्किरहेको डढेलोबाट उत्पन्न भएका प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकोले धेरै जसो स्थानहरुमा (मुख्यतया उपत्यकाहरूमा) प्रदूषण बढेको छ।

विभागका अनुसार वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम देखिन्छ।

त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्रध्यापक डा. रेजिना मास्केका अनुसार यो प्रदुषण हाम्रो देशको मात्रै होइन।

‘अहिले पनि काठमाडौं सहर विश्वकै प्रदुषित सहरका रुपमा देखिएको छ। आजै पनि पहिलो नम्बरमा छ’ उनले भनिन् ‘तर, यो प्रदुषण हाम्रो मात्रै हो कि अरु देशको पनि मिसिएको छ भन्नेबारेमा अध्ययन हुन जरुरी छ।’

उनका अनुसार यसबारेमा मिहीन अध्यन अनुसन्धान हुन जरुरी छ। नेपालको वायु प्रदुषणका बारेमा त्रिभुवन विश्वविद्यालयले चाँडै नै विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग मिलेर अनुसन्धान गर्दैछ।

त्यसमा सार्क राष्ट्रका विभिन्न विश्वविद्यालय तथा अमेरिकाका करिब ७ वटा विश्वविद्यालयका अनुसन्धाताहरू पनि सहभागी हुनेछन्।

‘यो एउटा देशको मात्रै कुरा होइन। हाम्रो देशमा पनि प्रदुषण त बढिरहेको छ। यो गम्भीर विषय पनि हो। तर कति प्रदुषण हाम्रो हो र कति आयातित हो भन्नेबारेमा अनुसन्धान हुन जरुरी छ। यो झनै गम्भीर हो’ उनले भनिनन् ‘हामी त्यसबारेमा पनि अध्ययन गर्छौं।’

शुक्रबारमात्रै काठमाडौंमा हावाको गुणवेत्ता ३५१ मापन गरिएको छ। जसका कारण काठमाडौं विश्वकै प्रदुषित सहरमध्य पहिलो नम्बरमा परेको छ। दोस्रोमा रहेको बंगलादेशको ढाका सहरको एयर क्वालिटी इन्डेक्स २१६ छ। त्यसपछि चीनको बेइजिङ सहर छ। र, भारतको मुम्बई अनि कोलकाता सहर धेरैमा धेरै वायु प्रदुषण छ।

वायुको गुणवेत्ता संकेत(एयर क्वालिटी इन्डेक्सअर्थात्, एक्यूआई)लेपार्टीक्युलेट म्याटर अर्थान् ‘पिएम’ १० र २.५ माइक्रोग्रामभन्दा पनि साना विषाक्त्त रसायका कणहरूको मात्राका आधारमा वायुको प्रदुषण मापन देखाउँछ। नेपाल सरकारले पनि पिएम २.५ लाई आधारभुत इकाइ मानेको छ। यो मात्रामा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका रसायन हुन्छन्। त्यो धुलो वा धुँवाका कणहरूमा व्याप्त हुन्छ।

काठमाडौंका विभिन्न ठाउँमा जडान गरिएका एयर क्वालिटी इन्डेक्सहरूले खतराको सिमा पार गरेका छन्। भैसेपाटी स्टेशनमा एयर क्वालिटी इन्डेक्स ५५१ पुगेको छ। हावामा प्रदुषणको यो मात्रा एकदमै खतरनाक हो। त्यस्तै कीर्तिपुरमा २२६ र रत्नपार्कमा २०० देखिएको छ। २०० भन्दा माथिको प्रदुषण स्वास्थ्यका लागि निकै खराब मानिन्छ।

स्वास्थ्य मन्त्रालयको आग्रह
वायु प्रदुषण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न, घरबाहिर मर्निङवाकमा नजान पनि आम नागरिकलालाई अपिल गरेको छ।

मन्त्रालयले बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ।

‘घर बाहिर निस्कनै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘कोभिड-१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौ/गराऔं।’

त्यसैगरी, धुलो, धुँवा उड्ने खालका पेशा, व्यवसाय निमार्णका कार्य केही दिनलाई बन्द गर्न निर्देशन दिएको छ।

छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार वायु प्रदुषण आफैंमा खतरनाक हो।

‘गाडी वा डढेलोको धुँवाले आँखा पोल्ने हुनसक्छ। धुलोका कणहरूले आँखा बिझाउने, चिलाउने जस्ता समस्या देखा पर्नसक्छन्’ उनले भने ‘निकै साना साना २ माइक्रोग्राम भन्दा साना धुलो, वा धुँवाका कणहरू सिधै रक्त्तसञ्चारका माध्यमबाट मुटुवा मिर्गौलासम्म पुग्न पनि सक्छन्।’

वायु प्रदुषणले गर्भमा रहेको बच्चालाई समेत हानी पुर्‍याउन सक्छ।

‘त्यसैले हामी यसबाट बच्नैपर्छ’ उनले भने ‘विषाक्त्त रसायनहरू मिसिएका कारण दुषित हावा आफैमा हानिकारक हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय