कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज साँझ निधन भएको हो। अस्पतालले साँझ ८.२३ बजे निधन भएको जनाएको हो।

गत फागुन १३ गते राति शरीरको देब्रेपट्टि समस्या देखिएलगत्तै उनलाई वीर अस्पताल लगिएको थियो। वीरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममा निधन भएको हो।

नर्भिकमा जोशीको मस्तिष्कको शल्यक्रियासमेत भएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

नवीन्द्रराज जोशी : शालीन, इमान्दार र लोकप्रिय नेता 
जोशीको जन्म २०२० साल पुस २४ गते काठमाडौंमा भएको थियो। नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भइ राजनीतिक यात्रा सुरू गरेका जोशी नेविसंघका महामन्त्री पनि बनेका थिए।

२०३६ सालमा नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित भएका जोशी २०४० सालमा महामन्त्रीमा निर्वाचित भएका थिए। यसैगरी स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसका सचिवमा पनि उनी निर्वाचित भएका थिए।

काठमाडौंबाट चुनाव लडेर दुई पटक संविधानसभा सदस्यमा निर्वाचित भएका जोशी तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट उद्योगमन्त्री बने।

त्यसअघि जोशी २०४८ सालमा काठमाडौं महानगरपालिकाका उपमेयरमा निर्वाचित भएका थिए। उपमेयरमा निर्वाचित हुँदा उनको उमेर २७ वर्षमात्र थियो।

काठमाडौं महानगरपालिकामा सबैभन्दा कम उमेरमा निर्वाचित हुने जनप्रतिनिधिको कीर्तिमान अझै उनकै नाममा छ। उपमेयर छँदा जोशीले काठमाडौंको आधुनिकीकरण र सांस्कृतिक सम्पदा संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र गणेशमान सिंहबाट प्रभावित जोशी शालीन, इमानदार र जनप्रिय नेताको रूपमा आफ्नो छवि बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय