कोरोना संक्रमणमा नयाँ मोडः अनि शुन्यमा पुगेको भर्ना दर उकालो लाग्यो

फाइल फोटो

कोरोना महामारीको पिकमा पुगेको ग्राफ विस्तारै झर्दै थियो ।

चैत १ मा टेकुमा कोरोनाका २ जना आइसोलेसनमा भर्ना भए ।

दुई जना संक्रमित भर्ना थपिँदासम्म अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई लागेको थियो– दुई डिस्चार्ज भएपछि अस्पतालमा केश ‘शुन्य’ हुनेछ।’

एक वर्षपछि आनन्दको श्वास फेरिनेछ।

तर, केही दिनपछि नै उनले गरेको त्यो आकंलनमा नयाँ मोड आयो ।

घट्ला भनेको नयाँ संक्रमण दर बढ्न पो थाल्यो । १० दिनभित्र ९ केस अस्पताल भर्ना भएका छन्।

टेकुमा मात्रै होइन। नयाँ संक्रमित भर्ना दर शुन्यमा पुगेका उपत्यकाका अधिकांश अस्पतालको अवस्था टेकूजस्तै छ ।

‘१० दिन अगाडिसम्म पनि अब सहज अवस्था बन्दै जाला भन्ने लागेको थियो,’ डा. राजभण्डारीले भने, ‘ तर, अप्रत्याशीत रुपमा संक्रमण बढेको छ।’

टेकु अस्पतालमा मात्रै ७ जनाको आइसियु तथा २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालमा ७ जना भर्ना भएका छन्। जसमध्ये ३ जनाको आइसियुमा उपचार भइरहेको छ। जब एक हप्ता अगाडी यो संख्या १ मात्रै थियो ।

त्यसैगरी, सशस्त्र प्रहरी अस्पताल (बलम्बू)को अवस्था नै उही नै छ।

एक हप्ता अगाडी २ जना संक्रमित अन्तरंगमा रहेकोमा अहिले २४ पुगेको छ।

पाटन अस्पतालमा पनि कोरोना परीक्षण गर्न संख्या ह्वातै बढेको छ। भर्ना दर मात्र होइन् प्रयोगाशालाहरुमा परीक्षणको दर पनि बढेको छ ।

४–५ दिन अगाडी २० वटाको हाराहारीमा नमूना परीक्षण हुने गरेकोमा सय हाराहारीमा पुगिसकेको छ ।

जसमा संक्रमित हुने संख्या ८ प्रतिशतसम्म छ ।

त्यस्तै, अस्पताल भर्ना हुने दर पनि बढेको छ।

केहिदिन अगाडी १०–१५ जना भर्ना भएकोमा हाल ३० भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ।

चिकित्सकहरुले अहिलेको संक्रमण दरलाई महामारीको दोस्रो लहर बताएका छन् ।

अस्पतालमा दैनिक बिरामी र परीक्षणगर्दा संक्रमित बढ्दै जानुले थप खतराको संकेत निम्ताएको डा. राजभण्डारी बताउँछन्।

अहिले अस्पताल भर्ना हुनेमा अधिंकाश कलेज अध्यापन गराउने शिक्षक, होटलमा कार्यक्रम गर्न मानिस र तराईबाट स्वास्थ्य समस्या भएर रिफर भएर आएका केसहरू छन्।

हाल टेकुमा दैनिक कोरोना २–३ वटा गम्भीर अवस्थाका बिरामी भर्ना भइरहेका छन् ।

भर्ना बिरामी प्रकृतिलाई हेर्दा नेपालमा दोस्रो लहर भित्रिसकेको संकेत गरेको डा. राजभण्डारी बताउँछन्।

‘अन्तराष्ट्रिय विमानस्थलमा आएका मानिसलाई राम्रोसँग चेकजाँच छैन। होटल बुक गरेको मानिसलाई घरमा जान दिइएको छ। सरकारले व्यवस्थापनको पाटो कमजोर हुँदा दोस्रो लहर फैलनले अवस्था आयो,’ डा. राजभण्डारीले भने।

‘स्थल तथा हवाई मार्गबाट आएका मानिसको अझै पनि अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाइएको छैन।

यस्ता पक्षको निगरानी न त स्थानीय निकायबाट भएको छ न माथिल्लो तहबाट नै भएको छ, यसको जिम्मा कसले लिने?’ उनी भन्छन्।

उच्च संक्रमण दर रहेको ‘युके भेरियन्ट’ नेपालमा भित्रिसकेको छ।

युकेबाट आएका मानिसको सम्पर्कमा आएको १८ वटा नमुना संकलन गरी परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ।

‘युकेबाट आएका मानिसको परीक्षण गर्दा उत्तिकै भेरियन्ट हो भन्ने आशंका गरेका छौ,’ उनले भने , ‘नेपालमा पनि नयाँ भेरियन्ट फैलिसकेको छ।’

त्यस्तै, त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा. सन्तकुमार दासले पनि १० दिनदेखि कोरोना बिरामीको भर्ना हुने दर बढिरहेको बताए।

‘संक्रामक रोगको महामारी विभिन्न चरणमा हुने हुन्छ। भाइरस वातावरण रहिरह्यो भने रूप परिवर्तन गर्ने हुन्छ,’ डा. दासले भने, ‘ पछिल्लो अवस्थाले पनि नेपालमा दोस्रो लहर सुरू भइसकेको छ।’

भारतमा पनि डबल म्युटेन्ट भेरियन्ट फैलिसकेको छ।

त्यस्तै, सशस्त्र प्रहरी अस्पताल(बलम्बु)का कोरोना फोकल पर्सन डा. प्रविण नेपाल पनि अस्पतालमा कोरोनाका बिरामीका बढ्ने नयाँ खतराको सकेंत देखाएको बताउँछन्।

‘१० दिन अगाडी अस्पतालमा एकजना बिरामी भर्ना भएका थिए,’ डा. नेपालले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘तर, केहिदिनको बिचमा सो संख्या ह्वातै बढेको छ।’

‘परीक्षण गरेर नयाँ भेरियन्ट हो, कि होइन भन्ने छुटाइएको छैन। तर पनि, भारत तथा युरोपका देशमा कोरोना संक्रमण बढेसँगै नेपालमा बढ्दै गएको छ। यसले पनि कोरोनाको नयाँ लहर ल्याएको पुष्टि हुन्छ,’ डा. नेपाल थप्छन्।

हाल शंकास्पद गरेका बिरामी धेरै रहेको डा. नेपालले बताए।

‘कोरोनाका लक्षण भएका तर, पुष्टि नभएका धेरै बिरामी अस्पताल भर्ना भएका छन्,’ डा. नेपालले भने, ‘ यसले पनि नयाँ लहर आएको भन्ने शंका गर्न सकिन्छ।’

‘अहिले सबै अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ हुने संख्या अत्याधिक बढेको छ। यसले पनि दोस्रो लहरको सुरू गरेको देखाउँछ,’ डा. नेपालले भने।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले ४–५ दिनमा परीक्षण गर्न आउने संख्या बढेको बताए ।

कोरोनाको नयाँ लहर आएको खण्डमा व्यवस्थापन गर्न थप चूनौति हुने उनको आकंलन छ।

‘अहिले सर्वसाधरण लकडाउन स्वीकार गर्दैन,’ डा. श्रेष्ठ भन्छन्, ‘कोरोना लागिहाले के हुन्छ। कोरोना प्रति सर्तकता, डर नै छैन।’

डा. राजभण्डारी कोरोना संक्रमण रोक्न लकडाउन मात्रै विकल्प नभएको दावी गर्छन् ।

‘मानिसको गतिविधिलाई परिवर्तन गर्नुपर्छ। लकडाउन नै संक्रमण रोक्ने विकल्प होइन,’ राजभण्डारी भन्छन्।

डा. राजभण्डारीको अनुसार पहिलो नम्बरमा संक्रमण रोक्नका लागि सिमा नाकाबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्दछ।

त्यसैगरी, यातायात, कलेज, अफिस, बैंकलाई सिफ्टमा चलाउनुपर्दछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय