स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही

हेल्थपोस्ट नेपाल

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको हो।

तीनै जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गरेर सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएको छ।

कोभिड–१९ को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकोले सार्वजनिक स्थानमा आवत जावत गर्दा अनिवार्य रुपले मास्कको प्रयोग गर्न र स्वास्थ्य मापदण्ड अपनाउन विज्ञप्तिमा भनिएको छ।

छिमेकी मुलुक भारतमा समेत कोभिड–१९ को संक्रमण बढ्दै गएको र त्यसको प्रभाव काठमाडौं उपत्यकामा समेत देखिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले होली पर्वपनि घरभित्रै मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

‘सार्वजनिक स्थलमा भिडभाड गर्ने, होली पर्वलाई घरभित्र सीमित रही सामाजिक, सांस्कृतिक मर्यादा अनुसार खेल्ने, घर बाहिर सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालन गर्न अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *