झन्–झन् टाढियो क्षयरोग निवारणको लक्ष्य, प्रत्येक दिन ४७ ले गुमाउछन् ज्यान

नेपालमा क्षयरोगको उपचार तथा निवारणका लागि वार्षिक ८० करोड खर्च हुने गरेको छ। यति ठूलो रकम खर्च हुँदा पनि अझै ४१ हजार क्षयरोगी उपचारको पहुँजमा आउन नसकेको एक तथ्याङ्कले देखाएको छ।

त्यतिमात्रै होइन, नेपालमा मृत्युको हुने प्रमुख १० रोगमध्ये क्षयरोग एक हो।

आर्थिक वर्ष २०७५/७६ मा भएको ‘प्रिभ्यालेन्स’ सर्वेक्षणले नेपालमा प्रत्येक वर्ष ६९ हजारभन्दा बढी नयाँ बिरामी क्षयरोगी थपिने गरेको देखाएको छ।

हाल नेपालमा पुराना तथा नयाँ गरी क्षयरोगीको कूल संख्या करिब १ लाख १७ हजार रहेको आकलन गरिएको छ।

क्षयरोगकै कारण प्रत्यक वर्ष १७ हजार नेपालीको मुत्यु हुनेगरेको छ।

नेपालबाट सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ।

माथिल्ला तथ्यांकबाट पनि नतिजाबाट उल्टो दिशामा गइरहेको प्रष्ट देखिन्छ।

यसले क्षयरोग निवारण सरकारका लागि चुनौतिको विषय हुने देखिएको छ।

निवारणका लागि रणनीति नै फेरवेदल गर्नुपर्ने

प्रत्येक वर्ष २४ मार्चमा मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइन्छ।

यस वर्षको दिवसका लागि ‘संकेत समयको क्षयरोग अन्त्यको’ नारा तय गरिएको छ। तर, उक्त नारा बमोजिमको निवारणका लागि काम फिटिक्कै भएको देखिँदैन।

नेपालले क्षयरोग निवारणका लागि जुन रणनीति तय गरेको छ, सो फेरवदल गर्नुपर्ने सुझाव विज्ञहरूको छ।

साबिककै रूपमा कार्यक्रम चलाइराख्ने हो भने नेपालले २०३५ सम्ममा क्षयरोग निवारण लक्ष्य हासिल गर्न नसक्ने राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख डा. अनुज भट्टचनले बताए।

‘अहिले भएको गति र कार्यक्रमको रणनीतिको हिसाबमा क्षयरोगको निवारण गर्न सकिँदैन,’ उनले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘निवारणका लागि धेरै समस्या हाम्रो सामु छन्। जसको लागि कार्यक्रम नै परिवर्तन गरेर लैजानु जरुरी छ।’

उनका अनुसार निवारण लक्ष्यमा जनशक्ति, बजेट र उच्च नेतृत्वलाई सक्षम बनाउनुपर्छ।

‘हामी सेवा मात्र दिने भन्छौ। तर, सेवा दिनको लागि दक्ष जनशक्ति तथा स्रोत–साधन नभएपछि कसरी नतिजा राम्रो निकाल्न सकिन्छ,’ उनले भने।’

स्रोत–साधन अभाव र जनशक्ति अभाव

भौगोलिक विकटता तथा आर्थिक कमजोरीका कारण क्षयरोग उन्मूलनमा समस्या पर्दै गएको छ।

‘प्रयोगशाला तथा दक्ष जनशक्तिको अभावका कारण लक्ष्य हासिल गर्न कठिनाई भन्दै गएको छ,’ भट्टचनले भने, ‘नेपाल सरकारको प्रयत्नले मात्र उन्मूलन सम्भव छैन, अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक छ।’

लक्ष्यप्राप्तिका लागि रणनीति नै परिर्वतन गर्नुपर्ने तथा क्षयरोग केन्द्रकै पुनःसंरचना गरेर लाग्नुपर्ने विज्ञले बताएका छन्।

देश अहिले संघिय अवस्थामा गएको र समायोजनले क्षयरोगी परिचाहन दक्ष जनशक्ति यता–उति भएका कारण थप समस्या भइरहेको उनको भनाई छ।

‘संघीयता क्षयरोग उन्मुलनका लागि अवसर छ। तर, जनशक्ति नै अभावका कारणले काम गर्न सकिरहेका छैइननौं,’ भट्टचनले भने।

१५ प्रतिशतभन्दा बढी क्षयरोगी नीजि स्वास्थ्य संस्था धाउँछन्

नीजी अस्पतालमा उपचार गराएका बिरामीको तथ्यांक सरकारी संयन्त्रमा आउन सकेको छैन।

सरकारले बिरामीलाई उपचार अवधिका लागि यातायत तथा पोषण सहयोगका मासिक ३ हजारभन्दा बढि दिँदै आएको छ।

तर, उपचारको पहुँच सबै ठाँउमा बिस्तार नहुँदा सबै नागरिक सरकारी संस्थामा आकर्षित हुन सकेका छैइनन्।

क्षयरोगको प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नीजी स्वास्थ्य संस्थामा क्षयरोगका उपचारका लागि १५ प्रतिशत जाने गरेको अनुमान छ।

सो संख्यालाई राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा ल्याउन तयारी भएको डा. भट्टचनले बताए।

‘क्षयरोगका बिरामीहरूलाई लामो अवधिसम्म उपचार केन्द्रमा गएर दैनिक औषधि सेवन गर्नु पर्ने भएकाले असहज परेको छ,’ भट्टचनले भने, ‘आगामी ५ वर्षभित्रमा सबै बिरामीलाई घरमै औषधि खुवाउने गरी उपचार व्यवस्थापनको काम भएको छ।’

प्रत्येक दिन ४७ नेपालीको क्षयरोगले लिन्छ ज्यान

क्षयरोग केन्द्रको तथ्यांकअनुसार प्रत्येक दिन ४७ जनाको क्षयरोगले ज्यान लिने गरेको छ।

प्रत्येक वर्ष १७ हजार नेपालीले क्षयरोगका कारण मृत्युवरण गरिरहेको केन्द्रको तथ्यांक छ।

डा. भट्टचनका अनुसार हाल बागमती प्रदेश , प्रदेश २ र लुम्बिनी प्रदेशमा क्षयरोगका बिरामी बढि देखिएका छन्।

‘अहिले प्रमुखतया बाग्मती प्रदेश, प्रदेश २ र लुम्बिनी प्रदेशमा क्षयरोगको कार्यक्रम अगाडी लैजानुपर्ने देखिएको छ,’ उनले भने, ‘त्यसका लागि हामीले प्रदेश सरकारसँग समन्वय गरिहेका छौं।’

‘तराईका अविकसित क्षेत्रमा उपचार नपाएका मानिसलाई समेत नियाल्ने हो भने क्षयरोगीको बिरामी ५० प्रतिशत भन्दा बढी छ,’ भट्टचन भन्छन्, ‘पहिले–पहिले तराईमा बढी मात्रामा क्षयरोगी भेटिने गरेकोमा हाल हिमाली तथा पहाडी क्षेत्रमा धेरैमा रोग पहिचान हुने गरेको छ।’

खर्च वार्षिक ८० करोड, नतिजा निराशाजनक

आर्थिक वर्ष २०७७/७८ का ८० करोडभन्दा बढि छुटाइएको छ।

यसभन्दा अगाडिका आर्थिक वर्षमा पनि करिब ७० करोड बजेट छुटाइएको थियो। तर, वार्षिक करोडौं रूपैयाँ खर्चिदा पनि मुत्युको प्रमुख कारणमध्ये सातौं स्थानमा रहेको क्षयरोग घट्नुभन्दा बढ्दो दिशामा देखिएको छ।

क्षयरोगको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लागाई उपचारमा ल्याउनु प्रमुख चुनौती रहेको उनको भनाई छ।

यतिसम्म कि, समयसीमा तोकेरै रोग उन्मुलनका कार्यक्रम चलाइरहेको सरकारले क्षयरोगी ४१ हजार भन्दा नयाँ रोगीको आकलन गरेकोमा उपचारको दायारामा ल्याउन सकेको छैन।

उपचारको दायरामा आएका भन्दा बढी रोगी लुकेर रहेको अनुमान गरिरहँदा यो प्राणघातक सरुवारोग थप खतरनाक बन्ने जोखिम कायमै छ।

विज्ञहरू अनुसार एक संक्रमित व्यक्तिको समयमा नै पहिचान तथा उपचार नभएमा १० जना भन्दा बढीलाई संक्रमण सार्न सक्ने जोखिम हुन्छ। जसले गर्दा पछिल्ला दिनमा संक्रमणदर बढ्दै गएको छ।

यस्तो छ क्षयरोगको उपचार अभ्यास

नेपालको करिब ३ करोड जनसंख्यामध्ये आधा अर्थात १ करोड ५० लाखमा क्षयरोगको सामान्य जीवाणु रहेको विज्ञले बताउँदै आएका छन्। यद्यपि, जीवाणु भएका सबैमा क्षयरोगको संक्रमण भने हुँदैन

। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्यप्रणालीमार्फत ४ हजार ९ सय ५५ उपचार केन्द्रहरूबाट डिओटिएस उपचारसेवा उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी, ७ सय ६५ प्रयोगशाला, ६७ वटा जिन एक्स्पर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको निदानसेवा प्रदान गरिँदै आएको छ।

क्षयरोगको सम्पूर्ण उपचारसेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ। तोकिएका सरकारी स्वास्थ्यसंस्थाले प्रत्यक्ष निगरानीमा क्षयरोगीलाई औषधि खुवाउने गर्छन्।

नियमित औषधि सेवनले निको हुन्छ क्षयरोग
चिकित्सकका अनुसार नियमित औषधि सेवनले क्षयरोग सजिलै निको हुन्छ। पाँच वर्षमुनिका बालबालिका, मिर्गौंला प्रत्यारोपण गरिएका व्यक्ति, सोरायोसिसका बिरामी, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्ति तथा एचआइभि पीडित व्यक्ति भने क्षयरोगको उच्च जोखिममा रहने विज्ञहरू बताउँछन्।

विश्वमा एकतिहाई जनसंख्यामा क्षयरोगको ब्याक्टेरिया सुसुप्त अवस्थामा हुन्छ। क्षयरोगको कीटाणु सुसुप्त अवस्थामा रहेमा यसलाई लेटेन्ट ट्युबरक्लोसिस (क्षयरोग) भनिन्छ। तौल कम हुने र खाना मन नलाग्ने, ज्वरो आउने, राति धेरै पसिना आउने, छाती दुख्नेजस्ता लक्षण देखिन्छन्।

कसरी बच्ने?
– दुई साताभन्दा बढी समय खोकी लागेमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्ने,
– संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने,
– भीडभाडमा मास्क प्रयोग गर्ने,
– धेरै खोकी लागेमा वा खकारमा रगत देखिएमा तुरुन्तै खोकीको जाँच गराउने,
– पर्याप्त मात्रामा पोसिलो तथा झोलिलो पदार्थ सेवन गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय