के नेपालमा कोरोनाकाे नयाँ भेरियन्ट फैलिएकै हो? के गर्दै छ सरकार?

नेपालमा पछिल्लो हप्ता कोरोना संक्रमित संख्या बढ्दै गएको छ।

मंगलबार ४ हजार ३२ जनामा पिसिआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भयो।

भारतका विभिन्न स्थानमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको हो।

नयाँ भेरियन्ट फैलिएको आशंका समेत गरिएको छ। संक्रमण फैलन नदिन लागि सरकारले उच्च सतर्कता अपनाउँदै कोरोना व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ।

१३ पुसमा बेलायतबाट यात्रा गरेर आएका ५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो।

नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण भित्रिएको आशंमा ती ५ जनाको स्वाब जिन सिक्विनिङको लागि विश्व स्वास्थ्य संगठनको हङकङमा रहेको ल्याबमाा पठाइयो। र, त्यसको रिपोर्टमा युके भेरियन्ट पुष्टि भएको थियो।

त्यसैगरी, १ महिना अघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिमा पनि नयाँ प्रकारको कोरोना संक्रमण देखिएको थियो। उनीसँग कन्ट्रयाक ट्रेसिङमा रहेका १३ जनामा पनि संक्रमण नयाँ भेरियण्टको भाइरस पुष्टि भएको थियो।

तर, जिन सिक्विनिङ नगरिएकाले यूके भेरियन्ट हो या अन्य नयाँ भेरियन्टको भाइरस हो भन्ने एकिन हुन सकेको छैन।

पछिल्लो समय भेटिएका केही संक्रमितमा एस जिन नदेखिएकाले नयाँ भेरियन्ट हो या होइन भनेर एकिन गर्न नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए।

उनका अनुसार भाइरसको भेरियन्ट पत्ता लगाउने नेपाल जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी ल्याब, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको विज्ञ सम्मिलित टिम बनेको छ।

उनका अनुसार नेपालमा नयाँ भेरियन्ट फैलिएको छ कि छैन अबको केही दिनमा पत्ता लाग्ने छ।

मन्त्रालयले सातै वटा प्रदेश, संघीय तथा प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरू, सबै जिल्लास्थित स्वास्थ्य कायलय र सिमा नाकाका हेल्थ डेक्हरूलाई उच्च सतर्कता अपनाउन समेत निर्देशन दिइएको छ।

मन्त्रालयले यी सबै निकायलाई कोभिड–१९ को व्यवस्थापनका लागि १० बुँदे निर्णय कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ।
डा. पौडेलका अनुसार भारतसँग जोडिएका १४ सिमामा हेल्थ डेक्सलाई चुस्त बनाउने काम भइरहेको छ।

हेल्थ डेस्कहरूलाई भारतबाट नेपाल प्रवेश गर्नेहरूको ज्वरो जाँच गर्न तथा एटिजेन्ट किटमार्फत परीक्षण गरिने छ।

यसरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकाहरूको उपचार व्यवस्थापन स्वस्थ्य संस्था र अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड–१९ को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरू बमोजिम गर्न पनि निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षणमा पोजेटिभ आएकाहरूलाई स्थानीय निकाय, अस्पताल, स्वास्थ्यसंस्था तथा प्रयोगशालाहरूले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पनि सबै निकायलाई निर्देशन दिएको छ।

यस्तै क्वारेन्टिन आदेश, २०७७ बमोनिमको व्यवस्था लागु गर्न, सर्भिलेन्सलाई चुस्त बनाउ, केस इन्भेष्टिकेसन र कन्ट्याक ट्रेसिङलाई बढावा दिन, आवश्यक पिसिआर तथा एन्टिजेन टेष्टको सुनिश्चितता गर्नसमेत निर्देशन दिएको छ।

यस्तै सबै पालिकाहरूलाई आफ्नो पालिकाहरूमा संक्रमणको उच्च खोजिम क्षेत्र पहिचान गरि समुदायस्तरमा कोभिड–१९ को एन्टिजेन परीक्षण प्रक्रिया सम्बन्धी प्रोटोकल अनुसार व्यवस्थापन गर्नसमेत भनिएको छ।

यस्तो छ पछिल्ला दिनमा बढ्दै गएको संक्रमित संख्या

गत मंगलबार ३ हजार ३ सय ३१ नमुना परीक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, बुधबार २७ सय ९० नमुना परीक्षण गर्दा १ १४ जनामा संक्रमण देखियो भने कोहीपनि संक्रमितको मृत्यु भएको थिएन ।

बिहिबार २७ सय ८१ जनामा परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार ३ हजार २ सय ५४ वटा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै शनिबार ३१ सय ६१ नमुना परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये कास्कीमा ४८, काठमाडौंका ३० जना, भक्तपुरमा १० र ललितपुरमा ५ जना थिए । र, बाँकी संक्रमित अन्य जिल्लाका थिए ।

त्यस्तै आइतबार ३१ सय ८१ नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि देखिएको थियो । संक्रमितमध्ये ३४ जना काठमाडौं र ५ जना ललितपुरका थिए ।

सोमबार परीक्षण बढाएर ४ हजार ४ सय ७२ पुर्‍याइएको थियो र, १५० जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु समेत भएको छ ।

आज ४ हजार ३२ जनामा पिसिआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय