लागूऔषध र विषादीको कनेक्सन : काठमाडौंमा १० दिनमा तीनको हत्या, पाँचजनाले गरे आत्महत्या

लागूऔषधको बढ्दो प्रयोग र बिक्रीको अवस्थालाई तत्कालै नियन्त्रण गर्न नसके यसले विकराल रुप लिने चिन्ता बढेको छ। पछिल्लो १० दिनमा काठमाडौंमा लागूऔषधका कारण ५ जनाले ज्यान गुमाएका छन्।

काठमाडौं प्रहरीका अनुसार चार हत्या र दुई आत्महत्याका घटनामा नौ जनाको ज्यान गएको छ। अधिकांश घटनामा लागूऔषध र विषादीको कनेक्सन देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए।

गत २९ फागुनमा टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशीष लिम्बुको हत्या भएको थियो भने २ चैतमा बल्खुमा ह्याम्मर प्रहार गरेर श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेका थिए।

प्रहरीले गत शुक्रवार काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल जंगलबाट दुई युवकको शव फेला पारेको थियो। यसैगरी बौद्ध क्षेत्रमा गत शुक्रवार तीन जनाले विभिन्न कारणले आत्महत्या गरेका छन्।

यस्तै आइतबार बिहानै कलंकी क्षेत्रमा एक युवकको ढुंगा प्रहारबाट निधन भएको छ। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइसकेको छ। आइतबार नै प्रहरीले बलम्बुस्थित सडकपेटीबाट एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला पर्‍यो।

टोखा हत्याकाण्ड
गत २९ फागुनमा टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशीष लिम्बुको हत्या भएको थियो। टोखामा भएको हत्याको घटना लागुऔषध सेवनको विषयमा भएको विवादका कारण भएको काठमाडौंका एसएसपी सिंहले बताए। सो घटनामा गाँजाको विवादले हत्याको रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

प्रहरीले सो हत्यामा संलग्न तीन आरोपीलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका मोहम्मद कासिम मन्सुरी र सेख अब्दुल आलम छन्।

उनीहरुबीच २८ फागुनमा टोखा नगरपालिका–३ सूर्यदर्शन हाइटस्थित मन्सुरीले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा गाँजाको विषयमा विवाद भएको र त्यसले हत्याको रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

बल्खु हत्याको कारण पनि लागुऔषध
बल्खुमा आफ्नै श्रीमतीलाई घन प्रहार गरी हत्या गर्ने व्यक्तिसमेत लामो समयदेखि लागूऔषध सेवन गर्ने व्यक्ति भएको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ।

बल्खुको सुकुम्वासी वस्तीमा भएको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतक सन्तोषीका श्रीमान् सन्तोष सापकोटालाई पक्राउ गरी कारबाही अघि बढाइसकेको छ।

पक्राउ परेपछि सन्तोषले प्रहरीसमक्ष दिएको बयानमा आफूले लागूऔषध सेवन गर्ने गरेको र श्रीमतीसँग विवाद बढ्दै गएपछि हत्या गरेको स्वीकार गरिसकेका छन्।

उनीहरुबीच विवाद बढ्दै गएपछि श्रीमती सन्तोषी गत वैशाखदेखि नै माइती बस्दै आएको र सधैँ झगडा हुने गरेका कारण श्रीमतीले डिभोर्स मागेपछि आफूले सहन नसकेर घर आएको मौकामा हत्या गरिदिएको बयान सन्तोषले प्रहरीसमक्ष दिएका छन्।

मृत भेटिएका दुई विद्यार्थी पनि गाजाका अम्मली 
गत शुक्रवार दक्षिणकाली नगरपालिका–१, खहरेमा प्रहरीले मृत अवस्थामा दुई विद्यार्थीको शव फेला पारेको थियो। उनीहरूको शव भेटिएको स्थान नजिकै सल्फास नामक विषादीको बट्टासमेत प्रहरीले फेला पारेका कारण आत्महत्याको शंका छ।

उक्त शव नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङ रहेको खुलेको थियो। खड्का असनको ट्यौड स्कुलमा कक्षा १० मा र तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे।

उनीहरु साथी हुन्। उनीहरु लागूऔषध सेवनकर्ता रहेको हुनसक्ने प्रहरीको अनुमान छ। ‘केही समयअघि परिवारले उनीहरुको साथबाट गाँजा बरामद गरेको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

कलंकी हत्यामा आरोपी लागूऔषध सेवनकर्ता
आइतबार बिहानै कलंकीमा भएको हत्या घटनाका अभियुक्त पनि लागूऔषध सेवनकर्ता रहेको खुलेको छ। महानगरीय प्रहरी प्रभाग कलंकीका अनुसार आइतबार बिहानै तीन बजे ढुङगाले हानेर कलंकी थापागाउँमा चौधरी थरका व्यक्तिको हत्या गरिएको हो।

प्रहरीले हत्या आरोपीलाई पक्राउ गरिसकेको जनाएको छ। घटनामा संलग्न भएको भन्दै प्रहरीले सिन्धुली सुनकोशीका २१ वर्षीया दिनेश थापालाई पक्राउ गरेको हो।

थापा लागूऔषध सेवनकर्ता रहेको अनुसन्धानबाट खुलेको छ। घटनालगत्तै महानगरीय प्रहरी प्रभाग कलंकीसहित परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले घटनास्थल पुगी सिसिटिभी फुटेज निकालेको थियो।

सो क्रममा होचो कदका क्याप लगाएका व्यक्तिको संलग्नता रहेको प्रहरीले ‘क्लू’ फेला पारेको थियो। सोही आधारमा खोजतलास अघि बढाएको प्रहरीले सिन्धुलीका थापालाई पक्राउ गरेको हो।

उनले शनिबार मृतकसँग झगडा भएको र सोही कारणले आफूले हत्या गरेको प्रारम्भिक बयान प्रहरीमा दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एकैदिन तीनजनाले गरे आत्महत्या
गत शुक्रबार काठमाडौंको मुलपानी, अत्तरखेल र कपनमा भएको घटनामा तीनजनाले आत्महत्या गरे। उनीहरुले आत्महत्या गर्नुको कारण केही खुलेको छैन्। यस विषयमा महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवीन कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठले आफू बस्ने घरको छतमा फलामे बारमा झुण्डिएर आत्महत्या गरेकी थिइन्। घटनास्थलबाट प्रहरीले केही सामान पनि बरामद गरेको छैन।

यसैगरी अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका थिए। ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका ३५ वर्षीय बस्नेत साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै बुढानीलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीलेसमेत सोही दिन नै झुण्डेर आत्महत्या गरेकी थिइन्। काभ्रे घर भएकी पहरी आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

यी तीनवटै घटनास्थल बौद्ध प्रहरीको क्षेत्रमा पर्छ।

बलम्बु घटना शंकास्पद
कलंकी हत्यामा संलग्न थापा पक्राउ परेको केही समयमा बलम्बुमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला पर्याे। शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। थानकोटका डिएसपी मोहन खाणका अनुसार सडकपेटीमा वेवारिसे शव भेटिएको हुँदा शंकास्पद छ।

करिब ३५ वर्षका पुरुषको मृत्युबारे अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

सांकेतिक तस्बिर स्रोत : ड्रगफ्री डट ओआरजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय