चीनको कोरोना खोप ल्याउन किन भयो ढिलाई?

सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ।

चिन सरकारले उपलब्ध गराउने भनेको ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जान लागेको हो।

कोरोना खोपलगायत अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो।

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट १६ गते सोमबार राति काठमाडौं अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो। सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ।

बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए।

कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवम् सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ। नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ।

सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइड बडी जहाज चैत १५ गते साँझ ५:३० बजे काठमाडौंबाट बेजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेजिङको स्थानीय समयानुसार अपराह्न ४:३० बजे काठमाडौंका लागि प्रस्थान गर्नेछ। सोही दिन राति ८:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ।

निगमका प्रवक्ता श्रेष्ठले सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप आन्तरिक गृहकार्य अघि बढेको जानकारी दिए।

उनका अनुसार निगमको ए ३३० जहाज काठमाडौं–बेजिङ–काठमाडौं उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ। निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो। निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ।

किन भयो खोप ल्याउन ढिलाई

स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख भिमसिंह तिङ्करिका अनुसार चिनले सामान लैजान आफ्नै जहान ल्याउन भनेकाले चीनले उपलब्ध गराउन लागेको सामान ल्याउन ढिलाई भएको हो।

‘नेपालमा कुन फ्लाइटबाट सामान ल्याउने भन्ने विषयमा छलफल भयो। हिमालय एयरलाइन्ससँग कुरा गर्दा तीन/चार फ्लाइट भर्नुपर्ने कुरा गर्यो। कति पैसा लाग्छ भन्ने कुरा भयो। अर्को नेपाल एरलाइन्सको वाइट बडिबाट ल्याउनुपर्छ भन्ने कुरा भयो। त्यसो गर्दा एउटा फ्लाइटमा अटाउने निष्कर्षमा पुगियो,’ उनले भने।

सोही अनुसार आफूहरूले मन्त्रालयलाई पत्र लेखेको उनले बताए। ‘त्यसपछि नेपाल वायुसेवा निगमको जहाज बुक गर्ने भन्ने निश्कर्षमा हामी पुगेका हौं’, उनले भने, ‘त्यसमा अर्थ मन्त्रालयले पैसा तिर्ने कुरा भएको थियो।’ राससको सहयोगमा तयार पारिएको सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय