भारतीय जेलबाट छुटेका दुर्गाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

भारतीय जेलबाट ४० वर्षपछि छुटेर तीन दिनअघि घर फर्केका इलामको माई नगरपालिका-१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) को उपचार प्रदेश १ सरकारले गर्ने प्रतिबद्धता जनाएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले तिम्सिनाको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने बताए। सोमबारमात्रै दुर्गाका भाइ धिरेन्द्र शर्मा र बुहारी लक्ष्मी न्यौपानेले दाजुको उपचार पहिलो शर्त भएको आयोमेललाई बताएका थिए। भारतीय न्यायालयले मागभएअनुसार क्षतिपूर्ति उपलब्ध गराउनु भन्ने आदेश दिएपनि दुर्गाको उपचार पहिलो प्राथमिकता भएको परिवारले बताएको थियो।

चार दशकसम्म भारतका विभिन्न जेलमा बस्दा पाएको यातनाका कारण दुर्गाको स्वास्थ्य अवस्था नाजुक छ। उनको आवश्यक उपचारका लागि प्रदेश सरकारले काम अघि बढाएको मन्त्री कार्कीले बताए। उनले इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्कालाई तिम्सिना परिवारसँग तत्काल सम्पर्क र समन्वय गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जनाए। मन्त्री कार्कीले प्रारम्भिक उपचार इलाम वा झापाको बिर्तामोडमा हुने बताए। समस्या पहिचान भइसकेपछि थप उपचारका लागि अन्यत्र लानसमेत सरकार तयार रहेको र समस्या अनुसार अघि बढ्न सरकारले विलम्ब नगर्ने स्पष्ट पारे।

प्रदेश सांसदसमेत रहेका धिरेन्द्रले जिल्ला प्रशासनका तर्फबाट केहीबेरअघि सम्पर्क गरेर समन्वयका लागि आग्रह गरेको सुनाए। प्रजिअ खड्काले घरमा प्रशासनकातर्फबाट मानिस पठाइसकेको जानकारी गराएको धिरेन्द्रले बताए। मन्त्री कार्कीले तिम्सिनाको उपचारसँगै भारत सरकारसँग क्षतिपूर्तिका लागि  आवश्यक पहल गरिने बताए। ‘म आफैं यो काममा लाग्छु’, मन्त्री कार्कीले भने, ‘उहाँको सम्पूर्ण उपचार खर्च  प्रदेश सरकारले बेहोर्छ। क्षतिपूर्तिका लागि भारत सरकारसँग पहल पनि थाल्छौँ।’

इलामका प्रजिअ खड्काले मन्त्री कार्कीबाट आएको निर्देशन बमोजिम काम सुरु भएको जनाए। ‘आजै मन्त्रीज्यूसँग कुरा भएको हो’, प्रजिअ खड्काले भने, ‘सोही बमोजिम तिम्सिनाको परिवारको घरमा खबर भइसकेको छ। प्रशासनका तर्फबाट गर्ने काम अघि बढिसकेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय