भारतसँग किनेको १० लाख डोज खोप खोइ?

नेपालले भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप कूल जनसंख्याको साढे पाँच प्रतिशत अर्थात १६ लाख ५० हजारलाई लगाइसकिएको छ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपालले लगाएको हो। पहिलो चरणमा अनुदानमा भारतबाट पाएको १० लाख डोज खोप लगाइएको हो।

उक्त खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरूलाई लगाइएको थियो।

सरकारले गत वर्ष डिसेम्बरमा कूल जनसंख्याको २० प्रतिशत नागरिकलाई चाहिने खोप आपूर्तिका लागि भारतलाई पत्राचार गरेको थियो। र, कम्पनीले अग्रिम भुक्तानीबिना खोप पठाउन नसक्ने जनाएको थियो।

त्यसपछि नेपालले २० लाख डोज खोप खरिद गर्न ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरिसकेको छ। प्रतिडोज चार अमेरिक डलर पर्ने गरी खोप खरिद सम्झौता भएको थियो।

नेपालले अग्रिम भुक्तानी रकम पठाउँदा पनि भारतले नेपाललाई १० लाख डोज खोपमात्रै पठाएको छ। १० लाख डोज खोप आउन बाँकी छ।

भारतमा पुनः कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा सेरम इन्स्टिच्युटले अन्य देशमा खोप पठाउन रोकेको छ। जसले गर्दा नेपालले खरिद गरेको खोप ल्याउन गाह्रो भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुदानमा पाइएको र भारतबाट पहिलो चरणमा खरिद गरेर ल्याइएको खोप साढे १६ लाख मानिसलाई लगाइसकेको जनाएका छन्।

सरकारले दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाएको थियो।

किन आउन सकेन खोप?

भारतको सर्वोच्च अदालतले बाहिर खोप पठाउन बन्द गर्न आदेश दिएको छ। भारतमा पुनः कोरोना तीव्र गतिमा फैलिरहेको भन्दै सर्वोच्चको यस्तो आदेश आएको हो।

सर्वोच्चले आफ्नो देशका नागरिकलाई पहिलो प्राथमिकतामा राख्न भनेको छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिङ्करी भारतबाट खोप ल्याउन पहल भइरहेको बताउँछन्।

‘अन्य थुप्रै देशले खोप पाएका छैनन्। हामीले खरिद गरेका मध्ये १० लाख डोज त ६ दिनमै आयो,’ उनले भने, ‘कम्पनीले अहिले हामीलाई धेरै प्रेसर छ। ९२ देशमा सप्लाइ गर्नुपर्ने छ। सबै देशको दबाब उत्तिकै छ भनिरहेको छ। त्यसैले थोरै अप्ठ्यारो भएको हो।’

उनले भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएको र चाँडै खबर गर्ने जानकारी दिएको जानकारी दिए। तीन–चार दिनयता भारतसँग कुनै सम्पर्क नभएको बताउँदै उनले चाँडै फेरि छलफल गरिने जानकारी दिए।

‘खरिद ऐनअनुसार कुनै सम्झौता नै हुँदैन। हामीलाई खोप चाहिएको थियो। मन्त्रिपरिषदको निर्णयबाट ल्याएका हौं,’ उनले भने।

कम्पनीले सुरुमै सतप्रतिशत पैसा मागेकोमा आफूहरूले ८० प्रतिशत दिएको तिङ्करीले जानकारी दिए।

‘सबै पैसा गएको छैन। ८० प्रतिशत पैसा गएको छ। २० प्रतिशत पैसा जान बाँकी छ,’ उनले भने, ‘भारतको पोलिसी मलाई थाहा छैन।’

उनले ७ लाख डोज अझै मौजुदा रहेकाले जनतालाई खोप अभावबारे चिन्ता नलिन आग्रह गरे।

उनले अब केही दिनमै ८ लाख डोज खोप चीनबाट आउने जानकारी दिए।

अब तेस्रो चरणमा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भनिएको भए पनि कम्पनीबाट समयमै खोप उपलब्धता नहुने भएपछि केही समयका लागि योजना प्रभावित भएको उनको भनाइ छ।

समय र बाध्यताअनुसार सरकारको रणनीति परिवर्तन हुँदै जाने उनको भनाइ छ।

कोभ्याक्सको खोपका लागि पनि सेरमलाई निकै दबाब दिने काम भइरहेको उनले बताए। सेरमले नेपाललाई पहिलो प्राथमिकतामा राख्ने वचन दिएको तिङ्करीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय