कोरोनाको दोस्रो लहर : उच्च जोखिममा नेपाल, कसरी जोगिने?

भारतमा दोस्रो चरणमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि त्यसको जोखिम बढेको छ।

भारतका केही प्रदेशमा पुन: लकडाउन गर्न थालिएको छ।

कोरोना मत्थर हुँदै गएको अवस्थामा थुप्रै नेपाली फेरि रोजगारिका लागि भारत गएका थिए।

भारतमा लकडाउन हुनथालेपछि उनीहरू पुन: नेपाल फर्किन थालेका छन्।

र, उनीहरूसँगै नेपालमा पनि फेरि कोरोनाको दोस्रो लहर फैलिने जोखिम बढ्दै गएको छ।

शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल पनि उच्च जोखिममा रहेको बताउँछन्।

भारतबाट आउने मानिसबाट पहिलो लहर फैलिए झै दोस्रो लहर पनि फैलिने जोखिम बढेको उनले बताए।

पछिल्ला दिनमा नेपालमा मानिसहरूको व्यवहार पुन: पुरानै अवस्थामा फर्किनु पनि चिन्ताको विषय भएको बाँस्तोलाले बताए।

‘मानिसको यस्तो व्यवहारले सिस्टम थाक्नथालेको छ। र, त्यही मौका हेरेर बसेको कोरोना पुन: सक्रिय बन्नथाल्छ’, उनले भने।

अहिले समाजमै कोरोना रहेकाले समयमै सावधानी नअपनाए भारतबाट आउने मानिसबाट फैलिन थप टेवा पुग्ने उनको तर्क छ।

‘अहिले जिम्मेवार मानिसहरू नै गैरजिम्मेवार बनिरहेका छन्। ठूला-ठूला राजनीतिक भेलाहरू भइरहेका छन्। मानिसले माक्स लगाउन छोडिसकेका छन्। पुरानै अवस्थामा बिहे तथा भोज हुनथालेका छन्। यो चिन्ताको विषय हो’, उनले भने।

उनले नयाँ भेरिएन्ट नेपाल भित्रिएको आशंका गरिएको बताए। नेपालमा नयाँ भेरिएन्ट भित्रिएको अवस्थामा त्यसको फैलिने क्षमता तिब्र हुने भएकाले पहिलेको भन्दा थप भयावह अवस्था आउने भन्दै डा. बाँस्कोटाले चिन्ता व्यक्त गरे।

‘पहिलाको जस्तै भयावह अवस्था आउन नदिन माक्स, सेनिटाइजर लगाउनुपर्यो।

भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्नुपर्यो। पहिले हामीले धेरै पाठ सिकिसकेका छौं। त्यो सिकाइलाई कार्यान्वयन गर्नुपर्यो’, उनी भन्छन्।

फागुनमा मात्रै टेकुमा २९ जना आइसोलेशनमा भर्ना भएको अवस्थामा समाजमा कोरोना छदै छैन भन्ने भ्रम हुनु दुखद् भएको उनी बताउँछन्।

डा. बास्तोलाले अहिले पनि तीन जनाको आइसियुमा उपचार भइरहेको बताए।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डले नअपनाउँदा समस्या विकराल बन्दै जाने जोखिम बढेको उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय