‘कोरोना रिटर्न-२’ : पहिला भन्दा धेरै घातक

तपाईंहरूले विभिन्न फिल्मका ‘सिक्वेल’ हेर्नु भएको होला। एउटा नामले बनेका फिल्मका ‘सिक्वेल’ चर्चित हुनुका साथै सफल पनि छन्।

वर्तमानमा सम्पूर्ण विश्व नै प्रकृतिको सबैभन्दा सानो सदस्य सम्भवतः प्रकृतिको पहिलो रचना (सिंगल अरएनए ) एउटा भाइरसको नयाँ परिमार्जित अवतार (सिक्वेल) ले आक्रान्त बनेको छ।

सन २०२० मा आफ्नो उपस्थितिले विश्वभरिकै सबै सिनेमा हल बन्द गराएर कोभ‌िड-१९ नामक ‘हरर्, थ्रिलर, सस्पेन्स, एक्शन’ लगायत सबै विधाको सफलतम फिल्मका रूपमा कुख्याति कमाएको यस फिल्मले आफ्नो ‘सिक्वेल’को प्रिमियर ‘शो’ मै पुनः कीर्तिमानको नयाँ उचाई छुने सन्देश र समिक्षात्मक ‘भ्याल्यु’ प्राप्त गरिसकेको छ।

प्रकृतिले  पुरानो फिल्म कोभिड १९ को नयाँ ‘सिक्वेल’ विश्वका कैयौं देशमा झण्डै एकसाथ नै ‘प्रोड्युस’ गरि ‘लन्च’ गरेको छ। युके भ्यरिएन्ट, दक्षिण अफ्रिकी भ्यरिएन्ट, ब्राजिलियन भ्यरिएन्ट,  इन्डियन भ्यरिएन्टलगायत अनेकौं प्रिन्टका साथ फिल्मको ‘ओपनिङ्ग शो’ भव्यताका साथ सम्पन्न भइसकेका छन्।  सम्बन्धित ‘क्रिटिक’ का नजरमा नयाँ ‘सिक्वेल’ले  पुरानो फिल्म कोभिड १९ का सबै कीर्तिमान ध्वस्त गरी भय, आतंक र जीवनको तृष्णाका नयाँ रेकर्ड कायम गर्नेछ।

नयाँ ‘सिक्वेल’ को ‘प्रिमियर शो’ ले नै साउदी अरेविया, तन्जानिया, ब्राजिल, स्पेन, फ्रान्स, युके, जर्मनी, इटाली भारतलगायत अनेकौं देशमा हाहाकार मचाउँदै  लकडाउनको पथ अवलम्बन गर्ने प्रारम्भीक सफलता पाइसकेको छ। यस सम्बन्धित विशेषज्ञहरूका अनुसार शीघ्र नै नयाँ यस ‘सिक्वेल’ ले विश्वभरका सिनेमा हल बन्द गराई आफ्नो विजय झन्डा फहराउने छ।

साहित्य सन्दर्भ समापन गरि संसारभर देखा परेका कोरोना भाइरसका नयाँ ‘भ्यारिएन्ट’ बारे खुलस्त चर्चा गरौं। हिजो एकजना मित्रले नेपालको ‘टुरिज्म’ लाई प्रवर्धन गर्ने मनशायले एउटा पोस्ट लेख्नु भयो। नेपालमा ‘क्वारेन्टाइन आइसोलेसन’ बस्नु पर्दैन। पिसिआर रिपोर्ट ७२ घन्टामै पाइन्छ उल्लेख गर्दै उहाँले संसार भरि कै पर्यटकहरूलाई नेपाल आउने निम्तो दिनुभयो।

कता-कता मलाई योगेश भट्टराईको सम्झना आयो। गत वर्ष शायद यसै समयको महारीमा उहाँ पर्यटनमंत्री पदमा सुशोभित हुनुहुन्थ्यो। उहाँले पनि त्यो समयमा नेपालमा कोरोना छैन-कोरोनाको डर छैन भनी संसारभरीकै पर्यटकलाई निमन्त्रणा पठाउने कार्य गर्नुहुन्थ्यो। बदलिएको समयक्रममा उहाँ अहिले सरकारमा हुनुहुन्न, बागी झै बन्नु भएको छ। अहिले उहाँलाई पर्यटक चाहिएको छैन, बदलिएको भूमिकामा उहाँ बगावतको बिगुल फुक्दै विभिन्न सभा समूहको आयोजना गरेर कोरोना प्रसारित गर्न/गराउन सक्ने उद्यमशीलतामा केन्द्रीत हुनुहुन्छ।

दुईदिन पहिला ब्राजीलमा एकै दिनमा कोरोना संक्रमणका ९० हजार केस आउनुले ‘कोरोना रिटर्न’ को भयावहता उजागर गरेको छ। छिमेकी देश भारतमा दैनिक ४० हजार नयाँ संक्रमित देखिने क्रमले ‘कोरोना रिटर्न’ को प्रभावकारिता र भयावहता दुव‍ैलाई उजागर गरेको छ। भारतमा १ सय १० दिनपछि झन्डै ४ महिनाको अन्तरालमा दिनहुँ ४० हजार संक्रमित देखिन थालेका छन्।

यस क्षेत्रका विशेषज्ञ मात्रै होइन भाइरसबारे सामान्य जानकारी राख्ने जो कोहीलाई थाहा छ कुनै भाइरसको प्रभावकारिताको ग्राफ घट्दै गइरहेको अवस्थामा यदि पुनः यो ग्राफ उकालो लाग्छ भने त्यसको कारण भाइरसमा भएको ‘म्युटेशन’ का फलस्वरूप उतपत्ति भएका यसका नयाँ-नयाँ ‘भ्यारिएन्ट’ कै कमाल हो।

नयाँ ‘भ्यारिएन्ट’ यस कारणले पनि खतरनाक हुन्छ किनकी यसको पूर्ववर्ति संस्करणबारे चिकित्सा जगतका कामदारहरूले जेजति बुझेका हुन्छन् अथवा भनौं पुरानो संस्करणको रोकथाम र उपचारबारे विभिन्न प्रकारका विज्ञ तथा चिकित्साकर्मीलाई जेजति थाहा हुन्छ त्यो नयाँ ‘भ्यारिएन्ट’ सँग ‘डिल’ गर्न पर्‍याप्त हुन्न।

चिकित्साकर्मीले नयाँ ‘भ्यारिएन्ट’ का संक्रमितको उपचार गर्दा विस्तारै यसको रोकथाम र उपचारका बारेमा बुझ्छन्। यस क्रममा संक्रमण तीव्र गतिले बढिसके हुन्छ।

कोभीड १९ का बारेमा धेरै कुराको संज्ञान भइसकेको थियो। जस्तो यसको प्रसार दर कति हो? यसको ‘लोड क्यापासिटी’ कति हो? यसको ‘मोर्टेलिटी रेट’ कति हो? संक्रमित मध्ये कति प्रतिशतमा मात्रै संक्रमण ‘सिभिएर’ हुन्छ, कतिमा ‘मोर्ड्रेट’, कतिमा ‘माइल्ड’ र कति प्रतिशतमा संक्रमणका कुनै लक्षण देखिदैनन्?

‘युके भ्यारिएन्ट’ मा यस सम्बन्धी केही अध्ययन भएका थिए र रिपोर्टअनुसार ‘युके’ को नयाँ ‘भ्यारिएन्ट’ पुरानोभन्दा धेरै शक्तिशाली रहेको थियो। कोरोना भाइरस बहु रुपी बनेको छ। यसले यति छिट्टै रूप फेरेर नयाँ अवतार धारण गर्छ कि यसका सबै नयाँ रूपबारे थप केही थाहा हुन सकेको छैन।

दुखद् कुरा के प्रकाशमा आइरहेका छन् भने ‘कोरोना रिटर्न’ का नयाँ-नयाँ अवतारले पुरानो भाइरस संस्करण (कोभिड १९) का विरुद्ध बनेका भ्याक्सिनलाई निष्प्रभावी तुल्याइएको छ। यहाँनिर ध्यान दिनु पर्ने कुरा के हो भने सवै भ्याक्सिन चाहे जुनसुकै कम्पनीका भ्याक्सिन हुन्, ती सबैलाई अब कोरोना भ्याक्सिन भन्नु हुँदैन। बाजारमा आएका भ्याक्सिन ‘कोभीड १९ भ्याक्सिन’ हुन्। All vaccine are simply design for  covid  १९ virus and they are effective only against covid  १९ virus .so all vaccine are ‘covid  १९ vaccine ‘ . don’t  called  them  corona  vaccine.

भ्याक्सिन लाएका कतिपय व्यक्ति नयाँ ‘भ्यारिएन्ट’ बाट संक्रमित भइसकेका अनेकौं समाचार आइसकेका छन्। यसैगरी कोभीड १९ बाट संक्रमित भइ निको भएका अर्थात शरीरमा कोभीड १९ विरुद्ध एन्टिबडी बनेका व्यक्तिहरूलाई पनि नयाँ ‘भ्यारिएन्ट’ ले आफ्नो चपेटामा लिएका समाचार प्रकाशित भइसकेका छन्। भारतमा भ्याक्सिनका दुबै डोज लिइसकेका व्यक्ति पनि संक्रमित भएका छन्। यसमा दोष भ्याक्सिनको होइन। सबै कम्पनीले भ्याक्सिनको ‘इफिकेसी’ बारे तथ्याङ्क सार्वजनिक गर्दै आइरहेका छन्।

एस्ट्रेजेनेकाको ‘इफीकेसी’ दुवै डोज लाएपछि ७० प्रतिशतसम्म रहेको छ। यसको स्पष्ट आशय के हो भने दुवै डोज लिएका सयजना मानिस मध्ये ७० जनामा मात्रै भ्याक्सिनले प्रभावकारिता देखाउँछ। ३० जनामा भने भ्याक्सिनले सुरक्षा दिँदैन। यो त भयो कोरोनाको पुरानो संस्करणविरुद्धको प्रभावकारिता! कोरोनाका नयाँ ‘भ्यारिएन्ट’ बारे केही थाहा छैन। यसले ७० प्रतिशत  व्यक्तिमा (भ्याक्सिन लाएर एन्टिबडी बनेका व्यक्तिमा) संक्रमण गर्छ कि गर्दैन त्यसबारे संसारको कुनै पनि प्राणीलाई केही थाहा छैन।

विश्व स्वास्थ्य संगठन, विभिन्न स्वास्थ्य एजेन्सी, भ्याक्सिन निर्माता कम्पनी र यस क्षेत्रसँग सम्बंधित विज्ञले यसबारे केही बोल्दैनन्। तर, खुला दिमाग राखेर अलि कति चिन्तन गर्ने हो भने यस विषयमा छर्लङ्ग जानकारी पाउन सकिन्छ। अलिकति यसबारे  चिन्तन गरी हेरौं। यदि पूर्वमा कोरोना संक्रमित भइ निको भएका व्यक्ति जसको शरीरमा कोभीड १९ विरुद्ध एन्टिबडी रहेको छ र यदि नयाँ ‘भ्यारिएन्ट’ ले शरीरमा रहेको त्यस एन्टिबडीका विरुद्ध अड्डा जमाउन सक्छ भने भ्याक्सिनले बनेको एन्टिबडीविरुद्ध पनि नयाँ ‘भ्यारिएन्ट’ले तान्डव मचाउन सक्छ।

स्थिति अत्यन्त जटिल, दुरूह एवं विषम छ। अहिलेसम्म कोभीड १९ को शिकार नभएका अथवा शिकार बनी स्वस्थ भएर शरीरमा एन्टिबडी बनेका अथवा भ्याक्सिन लिएर एन्टिबडी निर्माण हुने क्रममा रहेका (भ्याक्सिनको एउटा डोजले कति एन्टिबडी बनाउछ त्यो अर्को अनुसन्धानको विषय हो, सरकारले दोस्रो डोज भ्याक्सिन बैशाखको दोस्रो सातादेखि लाउने  घोषणा गरेको छ) व्यक्ति ‘कोरोना रिटर्न’ बाट के कति सुरक्षित छन् यसको जबाब श्री पशुपतिनाथसँग भए होला, संसारका कुनै विज्ञसँग त छैन।

सबैजनाले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था छ, तपाईंले एक डोज भ्याक्सिन लिँदैमा सुरक्षा पाउनु भएको छैन दोस्रो डोजले पनि कुनै ग्यारेन्टी दिन्न।

नेपालमा बढीमा १७ लाख मानिसले भ्याक्सिन लिने अवसर पाएका छन् यो कूल जनसंख्याको ३ प्रतिशत पनि हुन्न। उहाँहरू पनि पूर्णरूपमा सुरक्षित हुनु हुन्न। भ्याक्सिन नपाएका वर्गको कुरै नगरौं। आफ्नो सुरक्षा आफै गरौं। यस बाहेक अन्य कुनै उपाय छैन।

सुरक्षित हुने जे-जे वैकल्पिक उपाय अपनाउन सक्नु हुन्छ ती सबैको प्रयोग गरेर आफू आफ्नो घर परिवारका सदस्य, आफन्त, मित्र सबैलाई सुरक्षित राख्नुस्। यस क्रममा तपाईंले  संक्रमणबाट जोगिन सन् २०२० मा अपनाएका सबै उपाय पालन गर्नुका साथै विभिन्न घरेलु उपाय, जडीबुटी, वैकल्पिक चिकित्सा पद्धति, होम्योप्याथ, आयुर्वेद प्राकृतिक चिकित्सा, विभिन्न अन्य थेरापी तपाईंलाई जेमा विश्वास लाग्छ सबैको प्रयोग गर्न स्वतंत्र हुनु हुन्छ। जसरी भए पनि आफूलाई सुरक्षित राख्नु नै सबैभन्दा ठूलो धर्म-कर्म-पुरुषार्थ हो।

कुनै महानुभावलाई यस विषयमा थप केही जान्ने कौतुहल हुन्छ भने ‘मेल’ अथवा फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय