भारतमा कोरोना बढेपछि सुदूरपश्चिममा उच्च सतकर्ता

सुदूरपश्चिम प्रदेशसँग सीमाना जोडिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण पुनः बढेसँगै सुदूरपश्चिमका सीमा नाकामा सतकर्ता बढाइएको छ।

भारतमा कोरोनाको दोश्रो लहर सुरु हुँदै गर्दा भारतबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरेको हो।

संघीय सरकारले सीमा नाका खुला गरे पनि नेपाल आउने भारतीय नागरिकलाई भने अनिवार्य स्वास्थय रिर्पोट आवश्यक पर्ने गरेको थियो। तर, पछिल्लो समय भारतमा पुनः कोरोना संक्रमण बढेपछि त्यहाँबाट आउने सवै नागरिकको स्वास्थय परीक्षण गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताए।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत दोस्रो लहरको संक्रमण जोखिमलाई ध्यान राखेर सीमा नाकाबाट भित्रिनेहरूको अनिवार्य परीक्षण गर्न निर्देशन दिएको उनले बताए।

कैलालीको गौरीफन्टा नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा अनिवार्य एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताए। यसका साथै अन्य जिल्लाका सीमा नाकामा पनि अनिवार्य परीक्षण गर्ने व्यवस्था गर्ने तयारी गरिएको उनले बताए।

सीमामा गरिने परीक्षणका क्रममा कुनै पनि नागरिकमा कोरोना पोजेटिभ देखिए अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनसमेत स्थानीय तहलाई पत्राचार गरिएको उनले बताए।

यस्तै भारतबाट स्वदेश आउने सवै नागरिकलाई १० दिन अनिवार्य सेल्फ क्वारेन्टिनमा बस्न मन्त्रालयले आग्रह गरेको छ। ‘स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने गरी भारतबाट फर्केका नागरिकलाई १० दिन अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ,’ प्रबक्ता कार्कीले भने, ‘यसको सवै नागरिकले पालना गरेमा दोस्रो लहरको संक्रमण फैलनबाट रोक्न सकिन्छ।’

उनले सवै नागरिकलाई अनिवार्य मास्क लगाउने वानी बसालन पनि आग्रह गरेका छन्। ‘पछिल्लो समय मास्क लगाउने नागरिकको संख्या घट्दै गएको छ’, प्रबक्ता कार्कीले भने, ‘यसले कोरोना संक्रमणको जोखिम उच्च हुन्छ, सवैजनाले मास्क लगाई अन्य सुरक्षाका नियमको पनि पालना गर्न आवश्यक छ।’

शुक्रबार भारतमा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमति थपिएका थिए। संक्रमण बृद्धि भएसँगै सीमा नाकाहरूमा भारतबाट फर्किनेहरूको संख्या पनि बृद्धि भएको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन धामीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय