डाक्टर सचिव बन्न नदिन सरकारी छलछाम, बढुवा समिति बसेपछि खुल्यो दरबन्दी नै गायब गरेको रहस्य

३५ हजारभन्दा बढी कर्मचारी भएको स्वास्थ्य सेवाबाट सचिव हुन नदिन सरकारले सचिव दरवन्दी नै हटाएको तथ्य बाहिरिएको छ।

चिकित्सक सचिव बन्दा मन्त्रालयको परफरमेन्स राम्रो नभएको र सरुवा गर्न ठाउँ नहुँदा सरकारलाई समेत अटेरी गर्ने प्रवृति बढेपछि प्रधानमन्त्री केपी ओलीकै योजनामा यस्तो गरिएको हो।

तत्कालिन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले सरकारबिरुद्ध मुद्दा हालेपछि गत वर्ष नै दरवन्दी हटाएर प्रधानमन्त्री कार्यलयमा अस्थायी दरवन्दी राखिएको हो।

पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको मन्त्री ह्दयेश त्रिपाठीले चिकित्सक सचिव बनाउने अग्रसरता लिएर प्रक्रिया सुरु गर्दा यो तथ्यबाहिर आएको हो।

चिकित्सकबाट सचिव हुने परम्पराकै बीचमा सरकारले तत्कालिन चिकित्सक सचिव डा. पुष्पा चौधरीलाई २०७५ असोजमै मन्त्रीपरिषद्को अतिरिक्त समूहमा सरुवा गरेर प्रशासनका सचिव पठाएको थियो।

चौधरी सरकारविरुद्ध अदालत गरेर मुद्दा जिते पनि सरकारले उनलाई सुरुमा जिम्मेवारी र पछि राजिनामा गर्न समेत दिइएन।

त्यतिबेलाकै सरकारी अधिकारीले स्वास्थ्यमा सचिवको दरवन्दी काटेको नभई प्रशासनको दरवन्दी थप गरेको बताएका थिए।

पछिल्लोपटक स्वास्थ्यमा प्राविधिक सचिवको बढुवाका लागि शुक्रबार लोकसेवाको बैठक राख्दा चिकित्सक सचिवको दरवन्दी नै नरहेको तथ्य सार्वजनिक भएको छ।

स्वास्थ्य मन्त्रालयमा हाल १२औं तह प्रमुख विशेषज्ञ मध्येका तीन जनाको नाम सिफारिसका लागि बढुवा समितिको बैठकमै अधिकारीहरुले दरवन्दी गायब भएको भेटेका थिए।

स्वास्थ्य तर्फको प्राविधिक दरबन्दी नभएकाले नयाँ सचिव सिफारिस गर्ने प्रक्रिया रोकिएको सङघीय मामिला तथा प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए।

‘हिजो सिफारिस समितिको बैठक बसेको थियो,’ उनले भने, ‘तर, प्राविधिक तर्फको दरबन्दी देखिएन। स्वास्थ्य मन्त्रालयसँग विवरण मागिरहेका छौ। जवाफ आएको छैन।’

मन्त्रिपरिषद्ले दरबन्दी सिर्जना गरेपछि मात्रै नयाँ सचिवको नियुक्ति हुने अर्यालले बताए।

योसँगै स्वास्थ्यको प्राविधिक सचिव बन्ने बाटो तत्कालका लागि सम्भावना टरेको छ।

मन्त्रालयको संरचना हेर्दा प्रशासनको सचिवको मात्रै दरबन्दी देखिएको मन्त्रालयका एक उच्च कर्मचारीले बताए।

‘मन्त्रिपरिषद्ले २०७५ मसिंरमा प्राविधिक तर्फको पनि दरबन्दी हुनुपर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘तर, त्यसअनुरूपको दरबन्दी सिर्जना भएको पाइएन।’

‘तत्कालिन सचिव चौधरीको दरबन्दी अस्थायी प्रकृतिको थियो। त्यसपछि पुरानै अनुसार स्थायी दरवन्दीलाई निरन्रता दिनुपर्थ्यो। तर, निरन्तरता पाइएको देखिएन्,’ ती कर्मचारीले भने।

तत्कालीन स्वास्थ्यसचिव डा. पुष्पा चौधरी सरकारको बिबादपछि राजिनामा दिए पनि त्यसलाई समेत रोकिएको थियो । सरकारले ०७६ पुसमा बल्ल उनको राजिनामा स्वीकृत गरेको थियो ।

यसबीचमा चिकित्सक संघ र मन्त्रालयका अधिकारीले समेत बारम्बार चिकित्सक सचिव बनाउन माग गरेपनि सरकारले कुनै चासो दिएको थिएन।

यसबीचमा कोरोनाको यति ठूलो महामारी हुँदा समेत सरकारले स्वास्थ्य सचिव बनाउन चासो नदिनुको कारण बल्ल खुलेको हो।

२८ असोज ०७५ मा डा. पुष्पा चौधरीको सरुवापछि प्रशासन क्षेत्रका सचिवले स्वास्थ्य मन्त्रालय चलाउँदै आएका छन्।

लोक आयोगका सदस्यहरूको समयावधि चैत्र १० गतेबाट सकिँदैछ ।

योसँगै लोकसेवा आयोगले तत्काल पूर्णता पाउँने संभावना पनि कम छ ।

मन्त्रिपरिषद्ले पद सिर्जना गरेपछि मात्रै बढुवा समितिले सिफारिस गरेर दरवन्दी सृजना गर्ने र लोकसेवाका पदाधिकारी नियुक्ती प्रक्रिया पूरा हुँदा यो विषय अझै अनिश्चित बनेको छ ।

दोस्रो जनआन्दोलनपछि सरकारले स्वास्थ्य सेवाको छुट्टै ऐन जारी गरेर प्राविधिक तर्फको स्वास्थ्य सचिव हुने व्यवस्था गरेको थियो ।

स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई मन्त्रीपरिषद्ले खारेज गर्न नसक्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन्।

‘३५ हजारभन्दा बढी स्वास्थ्यकर्मी भएको मन्त्रालयमा भएको एउटा सचिव पद डेढ वर्षदेखि रिक्त रहनु दुर्भाग्य हो,’ कार्कीले भने।

‘विगतमा एक जना पात्रले काम गर्न सकेन भनेर व्यवस्थालाई दोष दिनु गलत कुरा हो,’ उनले भने, ‘यसभन्दा अगाडी केही चिकित्सकले कशुलता पूर्वक काम गरेका छन्।’

ऐनमा भएको विषयलाई जालझेल गरेर दरबन्दी हटाउन नपाइने उनले बताए।

स्वास्थ्य मन्त्रालयमा ९० प्रतिशतभन्दा बढी काम प्राविधिक खालको हुने भएकाले चिकित्सक सचिव हुनपर्ने डा. कार्कीको भनाई छ।

अहिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रबहादुर श्रेष्ठ सचिवका पनि दाबेदार हुन्।

मन्त्रालयले तीनै जनाको कार्यसम्पादन र जेष्ठताको आधारमा बढुवा समितिमा सिफारिसका लागि फाइल नै तयार गरिसकेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय