‘इसिजी’ मा कैद नभएको त्यो प्रेमिल धड्कन

कुनै कुराले असाध्यै मन खाँदा त्यो प्राप्त गर्ने हुटहुटी सबैलाई जाग्दो होला।

मलाई दर्शनको पुस्तकहरुले निकै मन खाने गर्छन्। आध्यात्मिक चिन्तनको बहसमा सहभागी हुन मन आफै डोरिन्छ।

पुस्तक, कार्यक्रम, वस्तु आदिले मन खाँदा हरसम्भव प्राप्त गर्न प्रयास गरिन्छ। त्यो प्राप्तीमा सफल नहुँदा त मन खिन्न हुन्छ भने जीवन यात्रामा कोही मन खाएको व्यक्ति आफुसँग नहुँदा कति छट्पटी हुन्छ होला!

त्यसमा पनि नैसर्गिक रोजाइले चिताएको विशेष मान्छेले मन चोरेर लैजाँदा कस्ता मीठा भाव जाग्छन्।

तर मिलन नहुँदै छुट्टिनुपर्ने बाध्यता भएकाको मन अत्ति नै पिर्छ होला।

जीवनको कुनै समयमा यी प्रश्नका उत्तर आफै बन्नुपर्ने दिन आउँदा मनको भाव पोखिन खोज्छ नै।

दुर्लभै पग्लिने आफ्नै मनप्रति नमन छ मेरो।

भाग्यमानीलाई मात्रै कुनै मनोवाद्विना आफ्नो मन कसैप्रति आत्मसमर्पण गरेको अनुभव हुन्छ।

उनले मेरो मन खाएको दिन मेरा सबै अड्कलवाजीमा मात्रै सिमित हुने प्रेमील भावनाहरु एकाएक यथार्थमा उत्रिएका थिए।

बकम्फुसे लाग्ने प्रेमकथाहरू सान्दर्भिक लागेका थिए।

दर्शक म र दर्शन उनको। पात्र उनी कल्पना मेरो। उनका नयन निकै आकर्षक देखिन्छन्। उनका आँखीभौँ ती नयनमाथि गजक्क परेका छन्।
अनुहारको चमकबाट कालो कोठी दाहिने आखिभौँमा लुक्न खोजेको प्रतीत हुन्छ।

ओठका किनार तन्किँदा मिलेका चम्किला दन्तलहर सोभा बढाउँछन्। उनको बोली निकै सुमधुर सुनिन्छ। गोधुली साँझमा सूर्यको शितलताभन्दा पनि शितल उनको अनुहारको चमकले मेरा आँखा शितल हुन्छन्।

आँखामा राख्ने ‘टियर ड्रप्स’ का थोपा नराखे पनि मेरा आँखाले उनका नयन एक टक हेरिरहन सक्छन्।

लाग्छ उनलाई मैले देखेकै रहेनछु।

सायद मनको आँखाले हेर्ने समय निकालेको रहेनछु। मनले हेर्दा त अझै सुन्दर देखिन्छिन्। उनको कर्णप्रिय आवाजले मेरो मनलाई सिधै भेदन गर्छ।

स्कुटरमा बस्दा उनको फिँजारिएको कालो केशले मेरो अनुहार छोप्दा कस्तो उर्जा सन्चार होला भनेर सोच्छु।

धन्यवाद हावालाई दिने कि स्कुटरको गतिलाई भन्ने द्विविधा हुन्छ। यति महसुस गर्दै गर्दा पौडिन नसकिने कुन्डमा डुबेको अनुभव हुन्छ मलाई। त्यसैले म अन्तै हेर्न खोज्छु । तर आँखा घुमेर उनलाई नै हेर्न पुग्छन्।

कस्ता अटेरी आँखा!

भनेको नमान्ने कस्ता लोभिएका प्रेमिल आँखा!

मलाई केही बोल्न मन लाग्छ। तर बोली फुट्न गाह्रो मान्छ।

‘तिमी विछट्टै राम्री’ भनेर जिब्रो दाँत र ओठ सबैले सल्लाह गरिसकेका थिए। तर मस्तिष्कले ब्रेक लगाउँछ।

कस्तो ‘फ्लर्ट’ गरेको भन्छिन् कि भन्ने पीरले अर्कै शब्द समायोजन हुन्छन् ‘खाजा खायौं?’

यो दृश्य देखेर मेरो मनमा उकुसमुकुस हुन्छ। उनको कफी आइपुग्छ। उनले मास्क निकालेपछि पूरा अनुहार देख्छु। उज्यालो चेहरामा चम्किएका नयन।

बडो सुन्दर लाग्छन्।

कफीको स्वाद लिँदालिँदै उनको कप रित्तिँदै थियो। मेरो कफी सकिने छाँट थिएन। खासमा मलाई कफी सक्न नै मन थिएन। चुस्की लिएजस्तो गर्दै फेरि कपकै डिलबाट ओरालो फर्काउँथे ओठहरुले। जादु जानेको भए उनको कफी कहिल्यै नसकिने बनाइदिन्थेँ। रेस्टुरेन्टप्रति पनि खुब रिस उठ्यो।

सानो कपमा कफी दिएको भएर। एक मनले कफीको कप आफै ल्याउनपर्ने जस्तो लाग्यो। कफी नसकिँदै म द्रुत गतिमा सिनेमा हलमा पुग्छु।
कस्तो जादु!

मनलाई कतै पुग्न एक निमेष पनि नलाग्ने। मेरो दाहिनेतिर उनी बसेकी छिन्। उनी रमाउँदै फिल्म हेर्दै छिन्। मेरो टाउकोले सिधा हेर्दैछ। तर मेरा आँखाले दायाँमा उनलाई हेरिरहेछन्। मनले भने उनको र मेरो आँखा जुधिरहेको देख्दै छ।

फिल्मका कुनै कुरामा डुब्दा उनी गम्भीर देखिन्छिन्। बेलाबेला उनको हाँसोले वातावरण ‘स्यानिटाइज’ हुन्छ भने मुस्कानले आभामण्डल ‘एनर्जाइज’ हुन्छ।

एक पटक उनको शीर मेरो छातिमा अडिन पुग्यो भने धड्कनको आवाज र गति पक्कै थाहा हुन्थ्यो होला! इसिजि मा कैद नहुने धड्कनको चाल सुन्नुपर्छ। हेरेर थाहा हुन्न। तर फिल्महलमा दुई सिटबीचको डन्डी भिलेन बनेको भान हुन्छ।

फिल्महलको बाहिर एउटा सानो पान पसल रहेछ।

‘मीठा पान खान्छौ?’

म मनशाय बुझ्ने प्रयास गर्छु।

हुन्न भन्न सकिनन्। पानको डल्लोलाई अटाइ नअटाइ मुखमा राख्दा गाला फुक्क फुल्छन्। मुखको किनारबाट रस चुहिन्छ। कपडामा लाग्ने डरले तर्किन खोज्छिन्। तर उनी त्यसलाई छल्न सफल हुँदिनन्। दाग लागेर नै छाड्छ।

त्यो देखेर मलाई खुसी नै लाग्छ। त्यो चिनारी मेटाउने इच्छा नै जाग्दैन। कल्पनामा डुब्दै गर्दा कफी पनि सकिन्छ।

‘तपाइँ कता ध्यानमग्न?’

कल्पनाको जहाजबाट धरातलमै उत्रिन्छु।

कल्पनामा तिमीसँग कफी खाँदै, फिल्म हेर्दै , स्कुटरमा पछाडि बस्दै थिएँ भन्न आतुर थियो मेरो बोली।

तर रोकिन्छु। उनको मनको ‘स्टाटस’ बाट अज्ञात हुँदा त्यो उत्तर शीष्ट लागेन मलाई।

अनि भन्छु ‘तिमीलाई रचना गर्न ब्रह्मजीले पक्कै आफ्नो उमेरको १००० वर्ष लगाएका होलान्।’

नयन नै मुस्कानमा पसारिन्छन्।

सुन्दर अवयवमा ‘हरि’ मन भेटिने उनी दुर्लभ छिन्।

उनलाई धेरैले इन्स्टाग्राममा खोज्दो होलान्। फेसबुकमा खोज्दा होलान्।

म त उनलाई सदा आफ्नै अगाडि खोजिरहन्छु। आफैभित्र देखिरहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय