डा. ओममूर्तिको सुझाव : हृदयघात हुन नदिन अपनाउनुहोस यी १० साधारण उपाय

चुरोटको सेवन नगर्ने

चुरोटको सेवनले हृयघात हुने जोखिम धेरै हुन्छ। त्यसमध्ये पनि युवा वर्गलाई बढी हुन्छ। त्यसैले चुरोटको सेवन पूर्णरूपले बन्द गर्न जरूरी हुन्छ।

मदिराको प्रयोग नगर्ने
एकैदिन बढी मदिरा सेवन गर्ने व्यक्तिको मुटुको रक्तनली बन्द भएर हृदयघात हुन सक्छ। पछिल्ला अध्ययन तथा अनुसन्धाले पनि यसलाई पुष्टि गरेको छ।

दैनिक व्यायाम

दैनिक गरिने व्यायामले पनि मुटु रोगको जोखिम घटाउन मद्दत गर्छ। प्रत्येक दिन ३० देखि ६० मिनेटसम्म छिटोछिटो हिँड्ने गर्नुपर्छ। शारीरिक गतिविधि गर्न जुनसुकै तरिका अवलम्बन गर्न सकिन्छ। जस्तै, साइकल चलाउने, हिँड्ने, पौडी खेल्नेजस्ता गतिविधि गर्न सकिन्छ।

तौललाई नियन्त्रण गर्ने

यदि कुनै व्यक्तिको तौल बढी छ भने त्यसले मुटु रोगको जोखिम बढाइरहेको हुन्छ। वर्तमानमा भइरहेको तौल १० प्रतिशतले घटाउँदा हृदयघात हुने सम्भावना कम हुन्छ। यसले अन्य जोखिमलाई पनि कन्ट्रोल गर्न मद्दत गर्छ।

स्वस्थ आहारको सेवन

खानामा नुन, चिनी र चिल्लोको प्रयोग बढी गर्नु हुँदैन। अस्वस्थ खानेकुरामा नुन, चिनी र चिल्लो पदार्थको प्रयोग अधिक हुन्छ। यसलाई घटाउन सक्यौं भने हृदयघातको जोखिम कम हुन्छ। अस्वस्थ खानेकुराले कोलेस्ट्रोल बढाउने, सुगर, रक्तचाप तथा तौल बढाउने गर्छ।

फलफूल, सागपात र माछाको प्रयोग

दैनिक कम्तीमा दुईदेखि तीन पटकसम्म ताजा फलफूल खानुपर्ने र तीनदेखि पाँच पटकसम्म हरियो सागपात वा सलाद खानुपर्छ।

शुद्ध र किटनासमुक्त माछा पाइन्छ भने कम तेलमा फ्राई गरेर खान सकिन्छ। माछामा भएको गुड कोलेस्ट्रोलले फाइदा गर्छ। त्यस्तै सागपात, फलफूलमा भएको फाइवरले कोलस्ट्रोल घटाउन मद्दत गर्छ।

अधिकांश मानिसलाई सुख्खा खानेकुरा राम्रो होइन भन्ने लाग्छ। तर, स्वास्थ्यको लागि सुख्खा खानेकुरा पनि एकदमै महत्वपूर्ण छन्। सकेसम्म खानामा भातको मात्रा कम हुनुपर्दछ। दाल, गेडागुडीको मात्रा बढायौं भने फाइदाजनक हुन्छ।

निरन्तर स्वास्थ्य परीक्षण

४० वर्ष नाघिसकेका व्यक्तिमा विभिन्न स्वास्थ्य समस्या आउन सक्छ।

त्यसकारण ‘फास्टिङ ब्लड टेस्ट’ र एक–दुई महिनाको फरकमा रक्तचापको परीक्षण गर्नुपर्छ। यदि सुगर, कोलस्ट्रोल बढेको छ भने त्यसलाई तुरुन्तै नियन्त्रणमा लिनुपर्छ।

औषधि प्रयोग वा जीवनशैली परिवर्तनले जोखिम तत्वलाई नियन्त्रण गर्नुपर्छ।

उच्च रक्तचाप, सुगर र कोलस्ट्रोल नियन्त्रण

यदि कुनै व्यक्तिलाई उच्च रक्तचाप, सुगर र कोलस्ट्रोलको समस्या छ भने, डाइट, व्यायाम वा औषधिको प्रयोग गर्नुपर्दछ। उच्च रक्तचाप, सुगर र कोलस्ट्रोल हृयघातका प्रमुख कारण हुन्। यी जोखिम तत्वलाई समयमा नै उपचार गर्न सकेमा फाइदा गर्छ।

औषधिको प्रयोग निरन्तर गर्ने

व्यक्तिलाई हृदयघात रोक्न कुनै न कुनै औषधि प्रयोग गर्न सल्लाह दिइन्छ। विशेष गरेर कोलस्ट्रोल, प्रेसरका औषधि खानुहुन्छ भने त्यसको निरन्तर प्रयोग गर्नुपर्दछ।

मानसिक समस्या, तनावलाई कम गर्ने

मानसिक समस्या, तनाव तथा रिस हृदयघातको लुकेको कारण हो। त्यसकारण तनाव तथा रिसलाई कम गर्नुपर्दछ।

माथिका १० उपाय अवलम्बन गर्दा हृदयघातको जोखिम कम गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय