छ्या! केटी भएर यस्ता कुरा गर्ने?

जिन्दगीको एक समय थियो– कक्षामा ‘स्वास्थ्य शिक्षा’ पढाउने शिक्षकले जब ‘यौन तथा प्रजनन् शिक्षा’को पाठ सुरु गर्थे कक्षाभरि सन्नाटा छाउँथ्यो।

कुनै कुनै केटाहरूका नजर उत्साहित हुन्थे। तर कक्षाभरि केटीहरूको नजर झुक्थ्यो। उनीहरू शीर निहुराउँथे।

सविता, अनि करुणाहरू त्यही स्कुले जीवन पार गरेका आएका हुन्। स्कुलको त्यो भोगाइ घर, परिवार अनि समाज सबैतिर थियो।

यौनका कुरा कसले गर्ने? त्यो कुरा सबैले थाहा पाउने गरी कसले पो सुन्ने? त्यो सब वर्जितजस्तै थियो।

हाम्रो परिवार, हाम्रो समाज अहिले पनि त्यस्तै छ। हाम्रो सोचाईं अहिले पनि उस्तै छ।

यस्तै यस्तै भोगाइ अनि अहिलेका किशोर किशोरीहरूको ‘भाव’ बुझेका सविता अनि करुणाहरूले अहिले ठ्याक्कै अहिलेका ‘किशोर आवाज’ बोल्छन्। यौनका बारेमा कुरा गर्छन्। शरीरमा हुने प्राकृतिक परिवर्तनका बारेमा जानकारी दिन्छन्। प्रजननका बारेमा कुरा बुझाउँछन्।

यौन र यौन हिंसाका बारेमा सोधीखोजी गर्छन्। हामीले पाइला पाइलामा भोगाइलाई अलि फरक दृष्टिले ब्याख्या गर्छन्। कसैका नजरलाई अलि बेग्लै तरिकाले सोच्ने तरिका सिकाउँछन्। कसैका स्पर्शलाई ‘नियत’सँग जोडेर महसुस गर्न सिकाउँछन्।

र, यो सबलाई एउटा सुन्दर ढिक्कामा सजाउँछन्– ‘गुलाबी संवाद’ बनाएर।

अनि जन्मियो गुलाबी संवाद
बाल्यकाल छिप्पिँदै जान्छ। किशोरावस्थाले पछ्याउन थाल्छ। शरीरको संरचनाहरूले आकार लिँदै जान्छ। र, मन पनि फेरिँदै जान्छ। चाहनाहरूले रंग फेर्न थाल्छन्। सपनाहरू सल्बलाउन थाल्छन्। जिज्ञासाहरूले चिमोट्न थाल्छन्।

शरीरका प्राकृतिक लयहरू फेरिन थाल्छन्।

मनभित्र धेरै कुराहरू गुम्सिन थाल्छन्। आफ्नै शरीरका ‘अवयव’हरूले आफैंलाई झस्काउन थाल्छन्।

तर, त्यो सब उत्कन्ठाहरू कहाँ पोख्नु? कोसँग कुरा गर्नु?

पहिलोपटक महिनावारी हुँदाको भोगाइ कोसँग भन्नु? आफ्नै उमेरलाई जिस्क्याउँदै बाहिर निस्केको त्यो ‘रगत’ को परिभाषा कोसँग माग्नु?

प्रकृतिले नै दिएको त्यो पहिलो ‘स्वप्नदोष’को सन्देश कसलाई भन्नु? आफैसँग जिस्किरहने शरीरका ती ‘कुतकुती’ कहाँ पोख्नु, कसरी पोख्नु? कोसँग पोख्नु?

सविता अनि करुणाहरूका आफ्नै भाइबहिनीहरूले पनि भोगेका छन् यस्तै।

हाम्रो समाज उस्तै छ। मानिसको सोचाइ उस्तै छ। शिक्षा छ। चेतना छैन। चेतना छ, विवेचना छैन। विवेचना सुन्ने धैर्यता छैन। समय उदार हुन खोज्दा खोज्दै पनि समाज अझै संकुचित छ।

सबैको उमेरमा फुल्ने यस्ता ‘गुलाबी’ भोगाइका कुरा किन नगर्ने?
….

सविता आचार्य अनि करुणा देवकोटा। वर्षौदेखि हाम्रा रेडियोहरूमा सुनिइरहने आवाज हुन्।

वर्षौंसम्म ‘साथीसँग मनका कुरा’मा सुनिने यी आवाज आजकल ‘गुलाबी संवाद’मा गुन्जिन्छन्। किशोर जीवनमा आउने अनेक आरोह अवरोहमा बाटो देखाउने एउटा रेडियो कार्यक्रम थियो ‘साथीसँग मनका कुरा।’

वर्षौसम्म यही कार्यक्रममा आवाज दिएका सविता र करूणाले सोचे– अब किशोर आवाजहरू पनि सुनिनुपर्छ।

कोरोना भाइरसको संक्रमणसँगै गत चैतमा लकडाउन भयो। महिनौंसम्म घरभित्रै थुनिनुपर्ने बाध्यता भयो।

त्यो बेला सविता र करुणाहरूले पनि थुप्रै समाचार सुने – महिला हिंसा। घरेलु हिंसा। यौन हिंसा। बलात्कार अनि हत्याका समाचार। बालबालिका अनि किशोर किशोरी। युवा। सबै त्यसका शिकार हुन्।

दिनदिनै मात्रै होइन, क्षण क्षणमा बजिरहने समाचारका यस्ता ‘नोटिफिकेशन’हरूले उनीहरूलाई पनि झस्काइरह्यो।

हाम्रो समाज अनि घरपरिवार, हाम्रै जीवनमा पनि। यी घटना नयाँ थिएनन्। समाजमा हुँदै आएका घटना हुन्। भइआएका कुरा हुन्। आज प्रविधिको विकास भयो। माध्यमहरू बढ्न थाले। अनि अलि बढी सुनिन थाल्यो। अरु कुरामा जस्तै यस्ता सन्देशमा पहुँच पनि बढ्न थाल्यो।

‘तर, किन यस्तो हुन्छ!’

प्रश्न पनि थियो, जिज्ञासा पनि। तर अहिलेसम्म न यी प्रश्नका जवाफ खोजिएका छन्, न जिज्ञासाहरू मेटिएका छन्।

उनीहरूलाई लाग्यो–यसको एउटा कारण हो, यौन र प्रजनन् ज्ञानको कमी। जो हामीले बच्चैदेखि सिक्नुपर्छ।

तर, मानवसृष्टिको यो आदिनियमलाई न यो समाजले स्वीकार्न सकेको छ, न त नकार्न नै। बस् ‘यौन’लाई ‘अश्लील’ परिभाषा दिएर आफैंभित्र मेटाइरहेको छ।

चाहिने तर, कुराचाहिँ गर्नै नहुने!

‘यौन र प्रजनन्‌का बारेमा किशोरहरूले किन बुझ्न नहुने? यसका बारेमा कुरा किन गर्न नहुने?’ सवितासँगै करूणाले थपिन्– हामीले पनि त त्यस्तै भोगेर आयौं। अब किशोर जीवनका यी कुराहरू गरिनुपर्छ। भनिनुपर्छ। सुनाउनुपर्छ, सुन्नुपर्छ र सुनाइरहनुपर्छ।’
त्यही खाली समयमा उनीहरूले एउटा यस्तै कार्यक्रमको डिजाइन गरे।

नाम के राख्ने?

सुरुमा त नाम जुराउनै सकस भयो।

र, पछि जुर्‍यो – ‘टीनेज टक।’

चिनजान भएकाहरूसँग सरसल्लाह भइरहेको थियो। छलफल भइरहेको थियो।

एकदिन उनीहरू साहित्यकार अमर न्यौपानेसँग गफिँदै थिए। त्यही बेला उनीहरूले आफ्नो योजना सुनाए। केहीबेर छलफल भयो।
कार्यक्रमको टार्गेट थिए– किशोर।

अनि अमरले फ्याट्ट न्वारान गरिदिए – गुलाबी संवाद।

किशोर जीवनका भोगाइहरूलाई केही समयअघि मात्रै अमरले शब्दाकृतिमा उतारेका थिए– ‘गुलाबी उमेर।’

यस्ता कुरा खुलेर गर्न सजिलो त पक्कै छैन। उनीहरूले पनि भोगेका छन्, कुनै बेला गाउँगाउँमा गएर यौनका कुरा गर्दा पढेलेखेकाहरूले नै उनीहरूलाई तथानाम भनेका थिए।

थुप्रैको गाली खाएका छन्। भनाइ सहेका छन्– छ्या ! पढेलेखेका केटी भएर यस्ता कुरा गर्ने? एकजना मावि पढाउने शिक्षक त मुख खुम्च्याएरै हिँडे।

र, पनि कहिल्यै हिम्मत हारेनन्। सम्झाउने– बुझाउने कोसिस गरिरहे। केही सजिलो भएको छ। तर, पनि अप्ठ्याराहरू धेरै बाँकी छन्। चुनौतीहरू अझैं थुप्रै छन्।

काँडाबीचमा फुलेको गुलाब टिपिहाल्न त कहाँ सजिलो हुन्छ र!

अहिले यो कार्यक्रमको १५औं भाग तयार भइरहेको छ। हरेक कार्यक्रममा उनीहरूले किशोर जीवनलाई जोडेर फरक–फरक विषयमा कुराकानी गर्छन्। विज्ञहरूसँग संवाद गर्छन्। किशोर भोगाइ समेट्छन्। किशोर मनका उर्लिंदा छाललाई संवादमा बगाउँछन्।

हरेक शुक्रबार साँझ यो कार्यक्रम इन्टरनेटमा सार्वजनिक गर्छन्– ‘गुलाबी संवाद’– अ टीनेज टक।

त्यसपछि देशभरका २१ वटा एफएम रेडियोहरूमा पठाउँछन्।

‘केही’ समयका लागि भनेर रेडियोहरूले ‘गुलाबी संवाद’ बजाउने समय दिएका छन्।

रेडियोहरूले आफ्नो अनुकुलतामा सविता–करूणाहरूको आवाज घरघरसम्म पुर्‍याइदिन्छन्।

नत्र त पैसा बिना के नै छ र!

यो कार्यक्रमका लागि उनीहरूले कतैबाट अहिलेसम्म पैसा लिएका छैनन्। आफैं सामग्री खोज्नेदेखि लिएर त्यसलाई अन्तिम रुप दिनेसम्म सविता र करुणा नै गर्छन्।

‘केही’ समयका लागि मदन भन्डारी कलेजले रेडियोको रेकर्डिङ स्टुडियो कार्यक्रमका लागि दिएको छ।

सविताले त्यही कलेजमा पढेकी हुन्।

‘नत्र सुरु सुरुमा त हामीले बाहिरको आवाजले डिस्टर्व नगरोस् भनेर सिरकभित्र बसेर पनि रेकर्ड गर्‌यौं’ करुणा बोल्दाबोल्दै सविताले भनिन्– अफिस त यही हाम्रो झोला नै हो। कसैसँग छलफल गर्नुपर्‍यो। कुराकानी गर्नुपर्‍यो भने चिया, कफीको पैसा पनि हामी दुईजनाले आधाआधा तिर्छौं।’

उनीहरूले ‘गुलाबी संवाद’का लागि एउटा ब्लग पनि बनाएका छन्। त्यसमा सबैले आआफ्ना भोगाइहरू लेख्न सक्छन्। पढ्न सक्छन्।

उनीहरूको अर्को एउटा ‘गुलाबी सपना’ पनि छ– अब स्कुलहरूमै त्यो कुरा सानै कक्षादेखि पढाइयोस्। त्यसका लागि उनीहरूले पाठ्यक्रमको डिजाइन पनि गरिरहेका छन्।

‘भोगेको सबैले हुन्छन्। हाम्रा हरेक पाइला पाइलामा त्यस्ता थुप्रै भोगाइ हुन्छन्’ सविता भन्छिन् ‘कसैले त्यो भन्न सक्छन्। कसैले लेख्न सक्छन्। कसैले भन्न अनि लेख्न पनि सक्छन्। कसैले अरुको भोगाइ पढेर पनि धेरै शिक्षा लिन सक्छन्।’

कसैको नजर हामीले सामान्य रुपमा लिन्छौं। कसैको स्पर्श हामीले ‘हल्का’ ठान्छौं।

‘तर, ती नजर अनि ती स्पर्शमै कतिको नियत खराब हुन्छ’ करुणा भन्छिन् ‘कसको नजरमा के छ भन्ने कुरा हामीले पढ्न सक्नुपर्छ। कसको स्पर्शमा के नियत छ भनेर हामीले खुट्याउन सक्नुपर्छ।’

सविता अनि करुणाले सिकाउन खोजेको कुरा पनि यही हो।

खराब नियत साँचेका ती नजरहरू अनि यौन व्यभिचार झल्किने ती स्पर्शहरूलाई सजिलै चिन्न सकियोस्। र, तुरुन्तै प्रतिवाद गर्न सकियोस्।

यस्ता ‘गुलाबी’ कुरा गर्दा समाजमा कसैले पनि छ्या! नभनोस्।

हो, सविता अनि करुणाहरूले समाजमा फुलाउन खोजेको गुलाब पनि त्यस्तै हो काँडा निकालिएको गुलाबजस्तै।
जहाँ हेरे पनि त्यो नबिझाओस्।

जहाँ समाए पनि त्यसले नघोचोँस्।

 

One thought on “छ्या! केटी भएर यस्ता कुरा गर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय