भेरी अस्पतालले राम्रो ब्यवहार गर्दैन : सिकलसेल एनिमियाका बिरामी

हेल्थपाेस्ट/नेपालगन्ज
प्रकाशित
२०७७ चैत ५ गते १८:१९

थारु समुदायका ब्यक्तिमा देखिने सिकलसेल एनिमियाका बिरामी उपचारका लागि आउँदा भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको गुनासो गरेका छन्।

उपचारका लागि अस्पतालमा आउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो ब्यवहार नपाएको उनीहरूको गुनासो छ। बिरामी भएर उपचार गर्न आउँदा पीडा सहन नसकेर बेडमा छटपटाउँदा समेत चिकित्सकले बेवास्ता गर्नेगरेको बिरामीहरूले गुनासो गरेका छन्।

सिकलसेल एनिमियाका बिरामीको उपचार नगरि चिकित्सकहरू पन्छिनेगरेको बढैयाताल गाउँपालिका–४ का भोला सिंह थारुले दुखेसो पोखे।को भनाईरहेको छ। सिकलसेल एनिमियाका बिरामीको उपचार निश्चित चिकित्सकले मात्र गर्दै आएको उनको भनाई छ‌।

‘अस्पतालमा बिरामी आएपछि उपचार गर्ने दायित्व सवै चिकित्सकको हो, तर फलानो चिकित्सकलाई देखाउनुस भन्दै ड्यूटीमा रहेका चिकित्सकसमेत पन्छिने गरेका छन्। दुखाई सहन नसकेर बेडमा छट्पटाएको टुलुटुलु हेरेर बस्छन्,’ उनले भने।

भेरीमा उपचार गराउन आउने भोला घटनाका एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्तै उपचारका लागि आउने विरामीलाई भेरी अस्पतालले बेवास्ता गर्ने गरेको पीडितहरूको गुनासो छ।

‘पीडाले छट्पटाई रहेका बिरामीलाई सिधै जनरल वार्डमा राखिन्छ। त्यहाँ न समयमा चिकित्सक पुग्छन् न त स्वास्थ्यकर्मी नै,’ बर्दिया धधवारका रामनरेश थारुले भने।

उनले समयमा चिकित्सक नआउँदा धेरै पीडा खेप्नु परेको हेल्थपोष्टलाई बताए। ‘समयमै चिकित्सक पुग्ने हो भने सहज हुने थियो,’ उनले भने। यसअघि सिकलसेल एनिमियाका बिरामीको उपचार बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले गर्दै आएका थिए। उनी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि भेरी अस्पतालमा स्थापना गरिएको सिकलसेल शाखाको बोर्डसमेत हटाइएको छ। बोर्ड हटाइएपछि बिरामीहरू झुक्किने गरेको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बताए।

उनले पछिल्लो समय भेरी अस्पतालमा आउने बिरामी उपचारबाट बञ्चित भइरहेको बताए। अस्पतालमा आएका सिकलसेलका बिरामीलाई बेवास्ता गरिएको उनले बताए।

सिकलसेल एनिमियाका विरामी हेर्ने छुट्टै विभाग भएको भन्दै अन्य चिकित्सकले त्यसतर्फ ध्यान नदिएको उनको भनाई छ। ‘उपचार गर्नुको साटो हेयको दृष्टिले हेर्ने गरिन्छ,’ उनले भने, ‘विरामीले राम्रो ब्यवहार नपाउँदा पीडा माथि पीडा थपिने गरेको छ।’

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले भेरी अस्पतालले एक लाख रुपैयाँ बराबरको उपचार दिँदै आएको बताए। उनले बिरामीलाई भेदभाव नगरिएको बताए।

‘उपचारका लागि आएका बिरामीलाई भेद्भाव गर्ने कुरा हुँदैन। बिरामीलाई यो या त्यो चिकित्सकले हेर्ने भन्ने हुँदैन,’ उनले भने, ‘सिकलसेल एनिमिया बिरामीको उपचार गर्ने छुट्टै युनिट छ, त्यसमार्फत उपचार हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय