देशकै उत्कृष्ट बन्यो त्रिशुली अस्पताल, कसरी?

त्रिशुली अस्पताल देशकै उत्कृष्ट बन्न सफल भएको छ। अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा ८८ अंक ल्याउँदै त्रिशुली देशभरकै सेवा गुणस्तर र अन्य सेवामा प्रथम बन्न सफल भएको हो।

मंगलबार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विभागले अस्पताललाई उत्कृष्ट घोषणा गरेको हो।

पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन असम्भव जस्तै रहेकोमा त्रिशुली अस्पतालले व्यवस्थित रूपमा आइसियु सञ्चालन गर्दै उदाहरणिय काम गरेको विभागकी सामाजिक सेवा महाशाखा निर्देशक रोशनी तुईतुई बताइन्।

भौतिक संरचनादेखि सेवा प्रदानमा समेत अस्पताल उत्कृष्ट रहेको उनको भनाइ छ।

अनुगमनका क्रममा विरामीलाई प्रदान हुने सेवादेखि कर्मचारीको आन्तरिक ब्यवस्थापन, श्रोत वाडफाड र भौतिक संरचना र पूर्वाधारको अवस्थालगायत कुरामा जाँच गरिएको थियो।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले आफूहरू सधै उत्कृष्ट सेवा प्रदान गर्नमा नै तल्लिन हुने भएकाले यो सफलता प्राप्त भएको बताए।

उनले नेपाल सरकारले तोकेको न्युनतम स्वास्थ्य सेवा मापदण्डमा रहेर नै आफूहरूले सधै काम गरिरहेको बताए।

‘हामीले सयमा ८८ प्रतिशत नम्बर ल्याएका छौं।

अहिलेसम्म हाम्रो लेवलको अस्पतालको यो नेपालमा सबैभन्दा बढी हो भनेर स्वास्थ्य विभागले घोषणा गरिसकेको छ’, उनले भने, ‘यसले हामीलाई खुशी प्रदान गर्नुका साथै थप हौस्याएको छ।’

उनले यो सफलताका लागि आफ्नो टिमले राम्रो काम गरेको बताए। सबैले कुसलतापूर्वक जिम्मेवारी निर्वाह नगरेको भए यो सम्भव नहुने उनी बताउँछन्।

त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परीक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकमा आशा जगाएको उनले बताए।

यसले जनतामा सरकारी अस्पतालले पनि राम्रो सेवा दिन्छन् भन्ने भावना जगाएको र सरकारी अस्पतालप्रति जनताको अपनत्व बढ्ने डा. पाण्डेको भनाइ छ।

‘हामीले सेवाभावका लागि स्टाफलाई मोटिभेसन गर्‍यौं। यसो गर्दा सरसामान जुटाउन सजिलो भयो। काम गर्न पनि सजिलो भयो। र, हामी यो सफलतामा पुग्यौं’, उनी भन्छन्।

अस्पताल व्यवस्थापन समितिको सहयोग पनि आफूहरूको सफलताको अर्को पाटो भएको उनले बताए। उनी पुराना मेसुहरूले आत्मसाथ गरेको बाटोलाई अवलम्बन गर्दै अगाडि बढ्ने बताए।

‘७२१ सेवा मध्ये हामीले केही सेवामा राम्रो गरेका छौं। केसी सेवा नराम्रा पनि छन्। कमिकमजोरी औंल्याउन पाएका छौं।

हाम्रो क्यान्टिनमा ५० प्रतिशत मात्रै सुधार छ। यस्ता थुप्रै कमिकमजोरी औंल्याइएका छन्। हामी छुट्टाछुट्टै योजनाका साथ ति कमिकमजोरीलाई पूर्ण गर्दै लैजानेछौं’, मेसु पाण्डे भन्छन्।

उनले कमजोर क्षेत्रलाई बलियो बनाउँदै लैजाने र बलियो क्षेत्रलाई थप मजबुद कसरी बनाउन सकिन्छ भन्ने उदेश्यका साथ आफूहरूले काम गर्ने बताए।

कोरोनाले गर्दा आइसियु थपिएको अवस्थामा जनसंक्ति थपिएकाले अहिले जनसक्ति प्रयाप्त भए पनि दीर्घ कालमा अस्पतालले कर्मचारी अभाव खेप्नुपर्ने जोखिम रहेको उनले बताए।

‘अहिले हामी १ सय ६० कर्मचारी छौं। तर, थाइ कर्मचारी २६ जना मात्रै छौं।

अरु सबै समितिले राखेका कर्मचारी हुन्। कोरोना जोखिम सकिँदा ति कर्मचारी जान्छन्। र, हामीलाई समस्या हुने देखिन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय