६५ वर्षीया क्यान्सर विजेता हिमाको अनुभूति- हिम्मतै ठूलो रहेछ

‘मेरो त हरेक दिन बारीमा नै बित्छ, सबै काम गरिरहेको छु, बिरामी हुँ जस्तो पनि लाग्न छाडिसक्यो’ २०६९ साल मंसिरको अन्तिम साता क्यान्सर पुष्टि भएकी झापा मेचीनगर नगरपालिका-१० लालपानीकी ६२ वर्षीया हिमादेवी पौडेलले आफ्नो दैनिकी सुनाइन्।

हिमालाई पाठेघरको सिष्टमा क्यान्सर भएको थियो। उपचारपछि उनी स्वस्थ्य छिन्। घरीयसी कामका साथै उनी दिनहुँ बारीमा खटिरहेकी हुन्छिन्।

हिमालाई त्यसबेला अचानक पिसाब बन्द हुने समस्या देखियो। पिसाब बन्द भएपछि उनी हुन थालिन्।

‘कति पटक त बेहोस भएर शौचालयमा नै लडेँ रे,’ हिमाले विगतलाई स्मरण गरिन्, ‘करिब १०/१५ पटक बेहोस भएपछि मात्रै म डाक्टरलाई देखाउन गएँ।’

उनी सुरुमा झापा बिर्तामोडको एउटा अस्पताल पुगिन्। डाक्टरले चेकजाँच गरे, ५ दिनको औषधी दिए। औषधीले कत्तिपनि सन्चो भएन।

एक्सरे गराइन्। डाक्टरले समस्या देखिएको भन्दै उपचारका लागि भारत जान सल्लाह दिए। ‘एक्सरे गरेर घर फर्कदा गाडीमा नै बेहोस भएछु’, हिमाले भावुक हुँदै भनिन्, ‘बुहारी निकुञ्ज साथमै थिइन्, मरेको जस्तै अवस्थामा घरमा उनैले ल्याइछन्, घरमा ल्याएको धेरै बेरपछि मात्रै थाहा पाएँ।’

उनको जेठो छोरो निरज र परिवारका केही सदस्य अध्ययनका लागि त्यसबेला काठमाडौंमा बस्थे। उपचारका लागि उनलाई २०६९ पुस २३ गते काठमाडौं लगियो।

श्रीमान घनेन्द्रको २०५० सालमा निधन भएपछि एकल महिलाको जीवन बिताइरहेकी उनको उपचारमा कुनै कमी हुन दिएन परिवारले।

आमालाई उपचारका लागि काठमाडौं लान सुरुमा हवाइ जहाजको टिकट काटे पनि बाक्लो हुस्सुका कारण जहाज नउडेपछि रात्री बसमा लगेको छोरी शोभाले सुनाइन्।

उनलाई ओम अस्पतालमा भर्ना गरियो। डा. भोला रिजालले परीक्षण गरे। अनि तत्कालै अपरेसन गर्न भने। अपरेसन भयो, पाठेघरको सिष्ट निकालियो।

‘मलाई उतिसाह्रो याद छैन अस्पताल पुर्‍याउँदा म उठ्नै नसक्ने अवस्थामा थिएँ’, हिमाले भनिन्, ‘मलाई बाँच्छु भन्ने आश नै थिएन, मुडो जस्तै लडिरहेँ।’

अप्रेसन गरेको ५ दिनपछि उनको रिपोर्ट आयो, क्यान्सर पुष्टि भयो। ‘मलाई डाक्टरले बोलाए र तपाईं लाई ठूलो रोग लागेको छ भने,’ विगत सुनाउँदै उनले भनिन् , ‘पाठेघरबाट निकालिएको मासुमा क्यान्सर देखियो भन्दा त छाँगाबाट खसे जस्तै भएँ, पढ्दै गरेका छोराछोरीको भविश्य बाहेक केही पनि सम्झिनै सकिन।’

क्यान्सर लागेपछि मरिहालिने डर र छोराछोरी टुहुरा हुने चिन्ता बाहेक अरु केही नलागेको उनले सुनाइन्।

हिमालाई केमो चडाउन थालियो। परिवारले उपचारमा कुनै कमी गरेन। पहिलो पटक केमो चडाउँदा औषधीले एलर्जी भएर रातभरि सुत्न नसकेको स्मरण हिमासँग छ। ६ साइकल केमो दिएपछि हिमालाई डाक्टरले एक महिना आराम गर्न सल्लाह दिए। उनी घर आइन्,आराम गरिन्।

हिमालाई २०७० जेठ १३ गते अन्तिम केमो दिइयो। साउन २५ गते उनी फेरि घर फर्किइन्। उनी सिथिल थिइन्। त्यसबेला छिमेकी र आफन्तले डाक्टरले बाँच्ने समय कति दिएको छ भनेर सोद्धा मन छियाछियाँ हुने हुने र एकोहोरो सुनिमात्रै रहने गरेको उनले बताइन्।

घर फर्केको एक महिनापछि उनी काठमाडौँ गइन्। चेकजाँच भयो। उनको शरीरमा क्यान्सर नभएको रिपोर्ट आयो।

‘करिब १५ महिना जति भयो डाक्टरलाई नदेखाएको तर पनि कुनै समस्या छैन’, उनले भनिन्, ‘कोरोनाको डरले अस्पताल गएकी छैन,अब जाने तयारी गर्दैछु।’

हिमा त्यसबेला सरस्वती प्राथमिक विद्यालय इटाभट्टामा अस्थायी शिक्षक थिइन्। क्यान्सर देखिएपछि उनी करिब ८ महिना विद्यालय जान सकिनन्। परिवारका सदस्यले जागिर छोड्न बारम्बार भने तर उनले मानिन्।

‘परिवारका सबैले जागिर खान पर्दैन भन्दैथिए तर म बिस्तारै स्कुल जाने र सकेको पढाउन थालें’, उनले भनिन् , ‘त्यतिबेला विद्यालयका प्रधानाध्यापक एकराज नेपाल गरेको सहयोग कहिल्यै बिर्सन सक्दिनँ।’

क्यान्सर भएर पनि उनले पाँच वर्ष पढाइन्। २०७५ सालसम्म आफूले उपदान लिएर जागिर छोडेको बताइन्।

हिमाको दैनिकी अहिले घरको काम र बारीमा सागसब्जी लगाएरै बित्छ। उनी नयाँ घर पनि बनाउँदैछिन्। घर निर्माणको रेखदेख पनि बुहारी र आफूले नै गर्ने गरेको उनले सुनाइन्।

‘घुँडा दुख्ने र थाइराइडले कहिले काँही दुःख दिन्छ तर क्यान्सर चाहिँ जितेँ जस्तो लागेको छ’, उनले भनिन्, ‘अहिले त मलाई क्यान्सर रोग थियो जस्तो भन्नेनै लाग्दैन।’

अहिले क्यान्सर जितेर पारिवारसँग रमाइला दिन बितिरहेको हिमाले सुनाइन्। ‘बेलैमा उपचार गरे क्यान्सर ठिक हुने रहेछ’, उनले भनिन्, ‘पारिवारको सहयोगले रोग जित्न औषधीको काम गर्दो रहेछ।’

सदभावपूर्ण व्यवहार हरेक रोगीलाई आवश्यक हुने उनको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय