यी चर्चित व्यक्ति जसले उपचारकै क्रममा जिउँदै पाए श्रद्धाञ्जली…

सुजन पन्त/काठमाडौं
प्रकाशित
२०७७ चैत ५ गते ९:२०

यथार्थ नबुझी हल्लाकै भरमा कसैको मृत्युको समाचार प्रकाशित गरिदिँदा पाठमकमाझ मिडियाको विश्वास पातलो हुँदै गइरहेको छ। समाचार ‘ब्रेक’ गर्ने हतारोमा जीवित व्यक्तिलाई मृत घोषित गर्दै ठूला ‘हेडलाइन’ बनाउँदा आफन्त र जनमानसमा नकारात्मक सन्देश जाने गरेको छ।

मंगलबार राति एउटा त्यस्तै घटना भयो। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको समाचार एक्कासी ‘भाइरल’ भयो। कांग्रेसकै केन्द्रीय सदस्य प्रदीप पौडेलले जोशीको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा समवेदना व्यक्त गरे।

त्यसपछि झनै जताततै जोशीको निधन भएको खबर फैलियो।

मष्तिष्कघात भई नर्भिक अस्पतालको भेन्टिलेटरमा जोशीको उपचार भइरहेको अस्पतालले बताइरहँदा मृत्युको समाचार भाइरल बनेपछि त्यसैलाई आधार मानेर अनलाइन मिडियादेखि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राममा समवेदना दिनेको होड नै चल्यो।

तर, बुधबार बिहान जोशीको फेसबुकमा एउटा विज्ञप्ति पोस्ट भयो। नर्भिक अस्पतालले प्रकाशित गरेको खण्डनयुक्त विज्ञप्तिमार्फत जोशीको अवस्था गम्भीर भएको जानकारी दिइयो। त्यसपछि सबैले भटाभट माफी माग्न थाले।

नेता पौडेलले समेत मिडियाको भरमा पर्दा यस्तो अवस्था आएको बताउँदै फेसबुकमार्फत् माफी मागेका छन्।

जिउँदो छँदै निधनको समाचार बन्दै श्रद्धाञ्जलीका शब्द पाउने कांग्रेस नेता जोशीमात्र होइनन्, उनीअघि धेरै शीर्ष नेता तथा सामाजिक व्यक्तित्वहरूले पनि यस्तै नियति भोगेका थिए। यसबारे तयार गरेको यो रिपोर्टमा जिउँदो छँदै निधनको समाचार बनाइएका र श्रद्धाञ्जलीका शब्द पाएका केही चर्चित व्यक्तिहरूको चर्चा गरिएको छ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
जिउँदै श्रद्धाञ्जली पाउनेमा नेपाली कांग्रेसका तत्कालीन सभापति पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइराला पनि एक हुन्। २०६६ चैत ७ गते कोइरालाको निधन भएको थियो। केही दिन थलिएका कोइरालाको सोही समयमा पटक–पटक निधनको समाचार बनेको थियो।

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले पनि जिउँदै श्रद्धाञ्जली पाएका थिए। २०७५ फागुन १८ गते उनको ८२ वर्षको उमेरमा निधन भएको थियो। त्यसअघि नै उनलाई पनि श्रद्धाञ्जली दिइएको थियो।

राष्ट्रकवि माधवप्रसाद घिमिरे
१९७६ साल असोज ७ मा लमजुङको पुस्तुन गाउँमा जन्मेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन १ सय १ वर्षमा भएको थियो। तर, त्यसअघि नै उनको निधन भएको समाचार बनेको थियो। त्यतिबेला आफ्नो मृत्युको समाचार उनले आफैं पढेका थिए।

हास्य कलाकार मनोज गजुरेल
हास्य कलाकार मनोज गजुरेल पनि गलत समाचारको शिकार बने। कोरोना भाइरस संक्रमण भएका बेला धेरैले उनलाई श्रद्धाञ्जली नै दिए। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसियुमा गजुरेलको उपचार भइरहेकाे थियो, जतिबेला उनको निधन भएको भन्दै श्रद्धाञ्जली दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय