निमुखाका भराेसा बनेका अब्बल सर्जन

सधैं अब्बल!

सधैं सफल!

पढाइमा अब्बल। जागिरमा अब्बल। सेवामा अब्बल। र, त्योभन्दा कयौं गुणा बढी गरिब–निमुखाकै उपचारमा खटिनुपर्छ भन्ने दृढतामा अब्बल।
ती अब्बल हुन्, वीर अस्पतालका जनरल सर्जन डा. विकास नेपाल।

उनमा अब्बलताको रवाफ छ, न दम्भ।

एक साधारण व्यक्तिजस्तै मिजासिला डाक्टर।

‘डाक्टर साब, तपाईंको जीवनका आरोहअवरोहको कथा लेख्न मन थियो!’

‘मसँग त्यस्तो केही पनि छैन। सधैं कर्ममा तल्लिन हुन्छु। बस! त्यत्ति हो।’

‘खै, किन मनले तपाईंको प्रेरणाको कथा खोज भनिरहेको छ,’

बल्ल मिठो मुस्कानसहित डा. विकास हामीसँग खुल्न तयार भए।

डा. विकासको जन्म नुवाकोट विदुर नगरपालिका–१० मा भएको थियो।

गाउँमा जन्मिएका उनको बाल्यकाल अन्य बच्चा झैं सामान्य तरिकाले नै बित्यो। गाउँको हिलो र माटोसँगै हुर्किएका हुन् उनी।

२०५४ सालमा गाउँकै पायोनियर स्कुलबाट उनले एसएलसीमा जिल्ला टप गरे।

विज्ञान संकाय पढ्न काठमाडौं आए। बागमती मोडल क्याम्पसबाट विज्ञान स‌‌‌कायमा प्लस टु गरे।

उच्च शिक्षामा चिकित्सा पढ्न मन लाग्याे। शिक्षा मन्त्रालयले स्कलरसिप आह्वान गरेको थियो। त्यसमा फारम भरे। नाम पनि निकाले। र, भरतपुरमा एमबिबिएस अध्ययन सुरु गरे ।

त्यहाँ साढे पाँच वर्ष पढे। चिकित्सा परिचालन निर्देशिकाले स्कलरसिपमा पढेका विद्यार्थीले दुई वर्ष काम गर्नुपर्ने भन्यो।

जिल्ला–जिल्ला गएर काम गर्नुपर्ने भयो। डा. विकासले सेवा प्रवाहका लागि आफ्नै जन्मस्थान नुवाकोट रोजे।

त्यहीबीच उनले लोकसेवा दिए। पहिलोपटकमै नाम निकाले।

उनको दरबन्दी सोही अस्पतालमा तोकियो। उनले फेरि त्यहीँ एक वर्ष काम गरे। र, लगातार तीन वर्ष सोही अस्पतालमा काम गरे।

काम गर्दागर्दै भारत नयाँदिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युट मेडिकल साइन्सेजले एमएसमा विदेशी विद्यार्थीका लागि विज्ञापन आह्वान गर्‍यो।
त्यसमा विदेशी विद्यार्थीलाई केही सिटमात्रै हुन्थ्यो।

सर्जरीमा एउटा सिट थियो।

सन् २०११ मा उनले सर्जरी अध्ययनका लागि त्यहाँ नाम निकाले।

भर्खरै लाेकसेवाबाट सरकारी सेवा सुरुभएकाे थियाे ।

उनले बिदा लिएर पिजी अध्ययन गर्न चाहेका थिए।

बिदा स्वीकृत नभएपछि जागिर छाडे।

एम्समा तीन वर्ष सर्जरी तालिम लिए। नेपाल फर्किएपछि पाटन अस्पतालको सर्जरी विभागमा ६ महिना काम गरे।

त्यसपछिकाे साढे तीन वर्ष त्रिबी शिक्षण अस्पतालमा काम गरे।

त्रिवी सेवा करार थियाे । उनले दाेस्राेपटक लाेकसेवा आयोग लडे।

नवौं तहमा कन्सल्टेन्ट सर्जनमा नाम निक्लियाे ।

लाेकसेवापछि पोस्टिङ मुलुककै जेठो अस्पताल वीरमा भयो।

गत वर्ष तेस्राे पटक ११औं तहका लागि आयोग लडे।

प्रमुख कन्सल्टेन्ट सर्जन एघाराै‌ तहमा खुल्ला प्रतिस्पर्धामा नाम निस्कियाे ।

र, डा. विकास अहिले वीरमै प्रमुख कन्सल्टेन्ट सर्जनका रूपमा सेवा गरिरहेका छन्।

Dr. Bikash Nepal

उनी सामान्य किसान परिवारमा हुर्किएका हुन्। बुबा विद्युत प्राधिकरणका जागिरे थिए।

परिवार खेतिकिसानीमा आश्रित थियो।

सानैदेखि सरल स्वभावका थिए। डा. विकास अहिले पनि सरल कुरा नै गर्न मन पराउँछन्। उनी सरलतालाई आफ्नो सत्यता ठान्छन्।

हुन पनि सरलताभित्र आदर्श र इमान्दारिता लुकेको हुन्छ ।

बाल्यकाल देखि नै उनकाे छवी सधै गम्भीर र नम्र। एकनासले बगिरहने, सुसाइरहने सागरजस्तै।

बाल्यकालमा पनि बढी पढाइमै रमिरहेका हुन्थे।

एसएलसीमा जिल्ला टप भए। राम्रो नतिजाले नै उनलाइ चिकित्सक बन्ने बाटाेमा डाेर्यायाे ।

‘राम्राे पढ्नुपर्छ भन्ने मात्रै थियाे , भविष्यमा यही बन्छु भन्ने थिएन।’ उनले भन्छन् ।

राम्रो नतिजा आउँदा छोराछाेरी इन्जिनियर, डाक्टर बनोस् भन्ने सबैका अभिभावकको चाहना हुन्छ। तर अविभावकले पनि याे बन/उ बन भनेर कहिल्य दबाब दिएन ।

स्कुले जीवनमा गणित र विज्ञानका सुत्रसँग रमिरहेका हुन्थे। त्यसैमा दिमाग बढी चल्थ्यो। र, रम्थे पनि।

अहिले पनि कतै हिसाब गर्नुपर्‍यो भने क्याल्कुलेटर चाहिँदैन। दिमाग चलिहाल्छ।

प्रथम नै हुनुपर्छ भनेर उनले कहिल्यै पढेनन्। तर, राम्रो गर्नुपर्छ भन्ने मनमा सधैं हुन्थ्यो। त्यही सकारात्मक सोचले उनलाई जीवनको सत्मार्गमा डोर्‍याइदियो। र, त्यो यात्राबाट उनी खुसी छन्।

कसरी बने जनरल सर्जन?

नुवाकोट अस्पतालमा काम गर्दा उनले गाउँका गरिबका थुप्रै पीडा देखे।

त्यहाँ एक–दुईजना स्वास्थ्यकर्मी हुन्थे। बल्ल भेटिने डाक्टर दिनभरि व्यस्त हुन्थे।

धेरैजसो पोस्टमार्टमको काम गर्नुपथ्र्यो। सामान्य बिरामी नै बढी हुन्थे र तीनका उपचारमा कठिनाइ थिएन ।

तर अस्पतालमा सर्जरी सुविधा पनि थिएन। सामान्य ब्लड टेस्ट हुन्थ्यो।

क्षयरोग घाउ, चोटपटक लागेका बिरामी आउँथे। सर्जरी गर्नुपर्ने बिरामी आउँदा  काठमाडौं रेफर गर्नुकाे विकल्प थिएन ।

तर, अहिले त्यो अस्पताल सुविधासम्पन्न बनेकोमा उनी खुसी छन्।

न्याम्सको अनुभव

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), एम्स , लाेकसेवा खुल्लामा नाम निकाल्नु आफैंमा गौरवको विषय हो।

उनी याे कसीमा सधै अब्बलता ठहरिए ।

र, सुरुमा काम गर्न सबैलाइ गाह्रो नै हुन्छ।

‘सुरुमा १८ घन्टासम्म नै काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘सहजरूपमा कुनै पनि कुरालाई लिन पाइँदैन। आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गर्नुपथ्र्यो।’

उनले त्यहाँबाट अनुशासन जीवनको महत्वपूर्ण पाटो भएको बुझे। सर्जरीमा अनुशासनको महत्वलाई केलाए।

त्यसको फाइदाबारे चिन्तन गरे। र, त्यसको फाइदा उनलाई अहिले पनि भइरहेको छ।

‘त्यो एरियाकै रिफरल सेन्टरजस्तो हो। नेपाल, इन्डिया, अफगानिस्तान, बंगलादेश, श्रीलंकामा नसकिएका केस त्यहीँ आउँथे। यस्तो अवस्थामा काम सिक्ने कुरा त छँदैछ। त्यसका साथै अनुशासनको महत्व पनि सिकियो,’ उनी भन्छन्।

किन बने सर्जन?

सर्जन बन्न पाएकोमा उनी खुसी छन्। सर्जरीको रिजल्ट तुरुन्तै पाइने भएकाले उनलाई कामले सन्तुष्टि दिन्छ।

‘कसैलाई समस्या भइरहेको भए यो गर्नुपर्छ भन्दा तुरुन्तै रिजल्ट हुन्छ। इमर्जेन्सीमा केही गर्नुपर्‍यो भने लाइफ सेभिङ प्रोसिडियर्स हुन्छ। त्यो गरियो भने बिरामी बाँच्छ। गरेन भने दुई–तीन दिनमा बिरामीको मृत्यु हुन्छ,’ उनी भन्छन्।

त्रिशुली अस्पतालमा तुरुन्त सर्जरी गर्न नसकेर एक युवकले ज्यान गुमाउनुपरेको घटना उनको आँखा अगाडि नाचिरहन्छ।

‘११–१२ वर्षको बच्चा थियो। पौडी खेल्दा डाइभ हान्दा कोखामा इन्जुरी भयो। अस्पतालमा आउँदा अवस्था गम्भीर थियो। हेर्दा स्प्रिन इन्जुरी भयो भन्ने भयो। स्प्रिन गएर त्यसबाट ब्लिडिङ भइरहेको थियो,’ उनी भन्छन्।

सर्जरी नगरी बाँच्नै नसक्ने अवस्थामा पुगेको बच्चालाई अस्पतालले रेफर गर्नुपर्‍यो। सलाइन लिने लगायतकाे आधारभुत काम डा. विकासको टिमले गर्‍यो।

तर, चिकित्सक र उपकरणको अभावले सर्जरी गर्न सक्ने अवस्था थिएन। र, काठमाडौं रेफर गर्नुपर्ने भयो।

काठमाडौं रेफर गर्दा बालकले बाटैमा ज्यान गुमाउनुपर्‍यो। त्यस्ता घटनाले उनको मन छुन्थ्यो।

र, उनलाई सर्जरी भनेको ठूलो लाइफ सेभिङ प्रोसिडियर्स गर्न सकिन्छ भन्ने लाग्यो। त्यसैले यही विषयमा विशेषज्ञता हासिल गरे।

डा. विकासलाई मन नपरेको पाटो

स्वास्थ्य सेवा ऐनमा दुई वर्ष काम गरेपछि मात्रै असाधारण बिदा पाउन सकिने व्यवस्था छ।

उनी कसैले केही पढ्ने इच्छा व्यक्त गरे यस्ता व्यवधान लगाएर रोक्न नुहने टिप्पणी गर्छन्। समयमै विशेषज्ञता हासिल गरेर आएर उसले सेवा नै दिने उनी बताउँछन्।

‘त्यतिबेला मेरो सेवाले निरन्तरता पाएको भए ग्रोथ अलग्गै हुन्थ्यो। मैले जागिर नै छाडेर जानुपर्‍यो,’ उनले भने, ‘मैले खुलाबाट कभर गर्नुपर्ने सबै कुरा कभर गरिसकेँ। तर, सबैले यस्तो गर्न सक्दैनन् नि!’

कसैले पढ्छु, कतै जान्छु भन्दा प्रमोट गर्नुपर्ने उनले बताए।

एउटै किसिमको पढाइ भइरहेको ठाउँमा एउटै कुरा सिकिने भएकाले फरक–फरक ठाउँबाट फरक–फरक दक्षता लिनुपर्ने उनको धारणा छ।
अप्ठेरा ऐनले थप ज्ञान आर्जन गर्न नसकिने उनको भनाइ छ।

‘कुनै मानिसलाई बाहिर पठाउँदा उसले नयाँ कुरा ल्याउँछ। नयाँ कुरा सिकाउँछ। र, नलेज सेयरिङ बढ्दै जान्छ,’ उनी भन्छन्, ‘ऐन, सैन भनेर बाँध्न हुँदैन।’

आत्मसन्तुष्टिले दिएको खुसी

वीरमा सेवा गर्न पाउँदा डा. विकास सन्तुष्ट छन्। उनी गरिबको डाक्टर बन्न चाहने स्वभावका छन्।

वीरमा आउने अधिकांश विपन्न नै हुन्छन्।

वीरमा आवश्यकता परेर सेवा लिन आउने विपन्नको संख्या ठूलो भएको उनी बताउँछन्।

‘धनीहरूले त ठूला अस्पताल रोज्छन्। प्राइभेटमा बिरामी गनेर बस्नुपर्छ। मलाई त्यो ठिक लाग्दैन। वीरमा त सबै किसिमका बिरामी आउँछन्। र, ती एकदमै जरुरी सेवा चाहिने खालका हुन्छन्,’ उनी भन्छन्।

उनी ती बिरामीलाई अहिलेको गुणस्तरीय सेवा दिन तल्लिन हुन्छन्। भएका पूर्वाधारको भरपुर सदुपयोग गर्दै एकदमै गुणस्तरिय सेवा कसरी दिने भन्नेमै डा. विकासको ध्यान केन्द्रित हुन्छ।

उनी धनी र गरिबले एउटै किसिमको स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यता राख्छन्।

उनी किताब पढेरभन्दा बिरामी जाँचेर डाक्टरको विशेषज्ञता बढ्ने भएकाले सेवामा आनाकानी गर्न नहुने तर्क गर्छन्।

‘दिनमा एक–दुई अप्रेसन गर्ने र पाँच–६ अप्रेसन गर्ने मानिसमा अवश्य नै फरक पर्छ,’ उनी भन्छन्।

उनै कुनै पुरस्कारभन्दा आत्मसन्तुष्टि ठूलो कुरा भएकाले त्यो आफूले प्राप्त गरिरहेको बताउँछन्।

र, आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढिरहेका छन्।

निजी क्षेत्र ठूलो भइसक्दा पनि डा. विकास विपन्न वर्गको सेवामै रमिरहेका छन्। र, उनीहरूसँगै वर्षौंसम्म रम्न चाहन्छन्।

वीरले आफूलाई ठूलो जिम्मेवारी दिएकाले त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नु नै आफ्नो दायित्व भएको ठान्छन् डा. विकास।

उनी जनरल विशेषज्ञ हुन्। क्यान्सरको सर्जरीमा विशेष ध्यान दिइरहेका हुन्छन्।

‘सरकारले एक्सपोजको दायरा बढाउनुपर्छ। अन्य देशमा के भइरहेको छ त्यो बुझ्नका लागि सरकारी तवरबाटै सहयोग हुनुपर्छ। एउटै कुरा सधैं गरेर हुँदैन,’ उनले भने।

पहिला क्यान्सरको उपचार चिरेरै गर्ने भए पनि अहिले धेरै ल्याप्रोस्कोपीले नै गर्न सकिने उनी बताउँछन्।

डाक्टरहरूलाई ‘फ्लेक्जिबल’ छाड्नुपर्ने उनले बताए। कुनै डाक्टरले कतै राम्रो गरिरहेको भए तुरुन्तै सरुवा गर्न नहुने उनी बताउँछन्।

‘वीरमा काम गरिरहेको डाक्टरको सीप पनि बढ्नुपर्छ। मन्त्रालयको मान्छेले डाक्टरलाई चलाइरहनुहुन्छ। भोलि आफूलाई केही पर्दा त्यही डाक्टरकोमा उपचार गर्न सक्ने हैसियत बनाउनुपर्छ,’ उनको सुझाव छ, ‘त्यसका लागि हरेक डाक्टरको कसरी क्षमता बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ। वीरमा त्यस्तो हुनसकेको छैन।’

सरकारले कुनै राम्रो देशमा केही समयका लागि तालिममा पठाउनुपर्ने उनको तर्क छ। त्यसो गर्दा डाक्टरको विशेषज्ञताको दायरा फराकिलो हुने र राम्रो सेवा प्रवाह गर्न सकिने उनी बताउँछन्।

डा. विकास बिरामीको उपचारमात्रै गर्दैनन्, बिरामीको मर्म पनि बुझ्छन्।

वीरमा कुनै विपन्न आउँदा डा. विकास आफैं भेट्छन्। बिरामीको अवस्थाको चित्रण गर्छन्। र, निःशुल्क उपचार गराउँछन्।

उनी वास्तविक समस्यामा परेकाहरूले वीरमा आइसकेपछि पैसाकै कारणले ज्यान गुमाउने अवस्था नआओस् भन्ने चाहन्छन्। त्यसैले पनि वीरको सेवाबाट डा. विकास खुसी छन्।

 

3 thoughts on “निमुखाका भराेसा बनेका अब्बल सर्जन

  1. म ब्यक्तिगत रूपमा डॉ विकाश नेपाल भाईलाइ चिनेको छू। दिल्ली बस्दा नेपाल बाट गएका थुप्रै साथीभाईहरुलाइ खुल्ला मनले हेल्प गर्नु हुन्थ्यो। डॉ प्रज्वल श्रेष्ठ भाई लै पनी जो कसैलाई जस्तो सुकै सहयोग गर्न सधै अगाडी हुनुहुन्थ्यो। लेखकलाइ धन्यवाद।
    अब्दुल हक़ अंसारी
    फिजियोलॉजी प्रोफेसर
    टेक्सिला अमेरिकन यूनिवर्सिटी गुयाना, साउथ अमेरिका

  2. Thanks Dr Bikash. Thanks for your positive attitude and thoughts on valuable service. You have done well. Do your best in coming future. God bless you. My best regards. Karki

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय