सरकारले खरिद गरेकै खोप ल्याउन सकेन, अभियान रोकियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको दोस्रो प्राथमिकतामा परेकाहरूलाई सहज रूपमा खोप उपलब्ध भएपछि मात्र दिने जनाएको छ।

मन्त्रालयले चैत ४ देखि ६० वर्ष माथिका जेष्ठ नागरिक र त्यसको केही दिनमै ५५ वर्ष माथिकालाई खोप दिने योजना बनाएको थियो।

तर, सरकारले भारतको सेरम इस्टिच्युटसँग खरिद गरेको खोप नै नेपाल ल्याउन नसकेपछि खोप अभियान रोकिने निश्चित भएको छ।

सरकारले सेरम इस्टिच्युटसँग २० लाख डोज खोप खरिद सम्झौता गर्दै सोही अनुसारको रकम बुझाइसकेको छ। र, हालसम्म सरकारले १० लाख डोज मात्रै नेपाल ल्याएको छ।

सरकार खोप अभियानलाई निरन्तरता दिन भारतबाट ल्याउन बाँकी रहेको १० लाख डोज खोप र कोभ्याक्स फ्यासिलिटीबाट आउने भनिएको ३ लाख ४८ हजार खोपमा निर्भर थियो। तर, दुबै खोप नआएपछि सरकारको अभियान प्रभावित बनेको हो।

फागुन २३ गतेबाट सञ्चालन गरिएको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान चैत ३ गतेदेखि सकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘दोस्रो प्राथमिकतामा परेका ५५ देखि ६४ वर्षसम्मका नागरिकलाई पहिलो मात्रा खोप दिने सूचना खोप उपलब्ध भएपछि प्रकाशन गरिने छ’ उनले भने, ‘थप खोप प्राप्त हुनासाथ हामीले ५५ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु गर्नेछौं।’

हालसम्म १६ लाख ४४ हजार ५५८ जनाले कोभिड – १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका लगाएका छन्।

सरकारले खरिद गरेको १० लाख डोज र कोभ्याक्स फ्यासिलिटी मार्फत नेपाललाई आउने भनेको ३ लाख ४८ हजार भनेको खोप समयमा नआएपछि दोस्रो चरणको खोप अभियान स्थगित भएको छ।

डा. गौतमले पहिलो प्राथमिकतामा परी माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा खोपको पहिलो डोज लगाइसकेका व्यक्तिकहरुका लागि भने वैशाख ७ गतेदेखि ११ गतेसम्म खोपको दोस्रो मात्रा दिइने बताए।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै दैनिक सञ्चालन गर्दै आएको प्रेस ब्रिफिङ हरेक हप्ता आइतबार र बुधबार मात्र प्रेस ब्रिफिङ सञ्चालन गर्ने डा. गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय