तीन स्वास्थ्य प्रतिष्ठानमा उपकूलपतिः यी हुन् सम्भावित र आकाँक्षी

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतका तीन प्रमुख स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकूलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य मन्त्रालयले चार वर्षअघि जस्तै प्रक्रियागतरूपमा उपकूलपति नियुक्ति गर्ने भन्दै निवेदन आह्वान गरेको छ।

यो आधारमा निवेदकमध्येबाटै उपकूलपति नियुक्तिको सम्भावना रहेपछि उपकूलपतिका लागि राजनीतिक र प्रतिष्ठानका आन्तरिक जोडघटाउ सुरु भएका छन्।

हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पास), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति पद रिक्त छ।

मन्त्रालयले आइतबारसम्मका लागि दिएको दरखास्त म्याद तीन प्रतिष्ठानमध्ये कर्णालीको उपकूलपति हुन सबैभन्दा बढी आकाँक्षी देखिएका छन्।

हालैमात्रै पिजी पढाइ सुरु भएको र एमबिबिएसमा पढाइ अनुमतिको प्रतिक्षामा रहेको कर्णालीका लागि २१ जनाले उपकूलपति बन्ने इच्छा देखाएका छन्।

त्यसबाहेक पाटन र पोखरामा १२–१२ जना उपकूलपतिका आकाँक्षी देखिएका छन्।

यद्यपि, प्रज्ञिक पठनपाठन र बिरामी चापका आधारमा पनि पाटनको उपकूलपति बढी महत्व राख्छ।

प्रतिष्ठानका रूपमा खासै लामो इतिहास नभएको पाटनले चार उपकूलपति बेहोरिसकेको छ।

यसबीच बाहिरबाट उपकूलपति ल्याएको भन्दै आन्तोलितसमेत भएको पाटनमा यसपटक पनि बाहिरबाटै नेतृत्व आउनेभन्दा भित्रकै चिकित्सकबीच प्रतिस्पर्धा छ। तर,

निवेदकको संख्यामा संस्था बाहिर कार्यरत बढी छन्।

तर, तीनवटै प्रतिष्ठानमा उपकूलपतिका दौडमा सम्बन्धित संस्थामै कार्यरत चिकित्सकहरूको पल्ला भारी छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

पाटनका लागि १२ जनाको आवेदन परेको छ। जसमध्ये पाटनबाटै तीन र बाहिरबाट नौ चिकित्सक छन्।

समग्र आवेदकमध्ये पाटनका पुराना प्राध्यापक डा. राजेशनाथ गंगोलको सम्भावना बलियो देख्नेको संख्या अधिक छ।

प्रतिष्ठानमा यसअघि निर्वाह गरेका जिम्मेवारी, निरन्तरता, निष्ठा र नेतृत्व क्षमताका आधारमा प्रतिष्ठानभित्र डा. गंगोललाई नेतृत्वमा देख्न चाहने बढी छन्।

पाटनका चिकित्सकमा पासलाई हाँक्न बाहिरको व्यक्तिले सक्दैन भन्नेमा मतैक्यता छ। डा. गंगोलसँगै हालका रजिस्ट्रार प्रा. डा. पारसकुमार आचार्य पनि उपकूलपतिका बलिया दाबेदार हुन्। उनी पूर्वनिर्देशकसमेत हुन्।

डा. आचार्यको व्यवस्थापन क्षमतामा पनि खासै प्रश्न उठ्दैन।

तर, रजिस्ट्रारका रूपमा राम्रो नतिजा दिइरहेको आधारमा पनि आचार्यलाई त्यही भूमिकामा दोहोर्‍याउन सुझाउनेको संख्या अधिक छ।

यसअघि संस्थापक उपकूलपतिका रूपमा डा. अर्जुन कार्कीको भूमिका महत्वपूर्ण थियो। त्यसपछि सरकारले संस्था बाहिरबाट डा. संगीता भण्डारीलाई ल्याएपछि आन्दोलन नै भएको थियो।

सरकारले बाध्य भएर भण्डारीलाई हटायो र नयाँ उपकूलपति बनायो। पछि भण्डारीले अदालतबाट मुद्दा जितेर काममा फर्किएपछि खासै उल्लेखनीय काम गर्न सकिनन्।

उनलाई प्रतिष्ठानभित्रैबाट सहयोग भएन।

‘बाहिरी मानिस ल्याउँदा प्रतिष्ठान अराजकताको अवस्थामा पुगेको थियो,’ एक चिकित्सकले भने, ‘भित्रै राम्रा र दक्ष हुँदाहुँदै बाहिरबाट ल्याउनुहुन्नँ।’

पाटनको सेवा विस्तारका लागि स्थान अभाव छ।

‘भवन तथा जग्गा पाटनसँग सीमित छ। सेवाको पहुँच बढाउँदै लैजानुपर्ने छ,’ अर्का वरिष्ठ चिकित्सकले थपे, ‘यस्ता विषयलाई नेतृत्व लिने खालको व्यक्तित्व चाहिएको छ।’

सरकारले यस्ता विषयमा पाटनमा खासै चासो नदेखाएको उनको आरोप छ।

‘कोरोना महामारीमा पाटनको योगदान ठूलो भयो। तर, सरकारले धरान, वीरजस्ता संस्थालाई मात्रै हेर्‍यो,’ उनले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

अहिले कर्णालीमा २१ जनाको आवेदन परेको छ। कर्णाली उपकूलपतिका लागि निवर्तमान उपकूलपति डा. राजेन्द्र वाग्लेदेखि कामु उपकूलपति डा. मंगल रावलसम्म दौडमा छन्।

खासगरी संस्थामा हाल कार्यरत र कुनै समय जोडिएका धेरै चिकित्सक उपकूलपति बन्न आकाँक्षी देखिएका छन्।

जसमा डिन डा. रेशम राना, रेक्टर निरेश थापा, डा. सूर्यमान लिम्बु, प्रा. डा. तरुण पौडेल, डा. राजीव साह, प्रा. डा. गेहनाथ बरालले पनि कर्णाली हाँक्ने तत्परता देखाएका छन्।

मन्त्रालयका अनुसार कर्णालीका लागि २१ जनाको आवेदन परेको छ।

यसभन्दा अगाडि कार्यकालका लागि पाँचजनाको मात्रै आवेदन परेको थियो।

कर्णालीमा काम गर्न चाहने संख्या बढ्नुलाई सरकारले सकारात्मक रूपमा लिएको छ।

यसपछि प्रदेश सरकार र स्थानीयरूपमा वर्तमान सरकारसँग राम्रो समन्वय गर्ने सम्भावना देखेर बलियो उम्मेदवारका रूपमा डा. रावललाई हेरिरएको छ।

तर, दौडमा रहेका अन्य उम्मेदवारले भने रावल जुनियर भएको र आगामी दिनमा पनि नेतृत्व गर्ने–पाउने सम्भावना रहेको भन्दै निर्देशककै रूपमा निरन्तरता दिन मन्त्रीलाई समेत सल्लाह दिइरहेका छन्।

कोरोना महामारीका समयमा गरेको काम केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सम्बन्धनका आधारमा पनि प्रतिष्ठान हितका लागि उनकै निरन्तरता चाहने मत ठूलो छ।

निवेदन दिएकामध्ये प्रधानमन्त्रीसँगको सम्बन्ध, प्राज्ञिक क्षमता, कुशल व्यवस्थापकका रूपमा डा. बराललाई पनि बलियो सम्भावनाका रूपमा हेरिएको छ।

प्रसुती गृहमा लामो समय काम गरेका बराल न्याम्स उपकूलपतिको दौडमा समेत अगाडि थिए। डा. बराल जत्तिको क्षमतावान चिकित्सकलाई जिम्मेवारी दिँदा कर्णालीको

आकर्षणले अझै उचाइ लिने विश्वास गर्नेको संख्या पनि ठूलो छ।

पछिल्लो समय कर्णालीमा शैक्षिक कार्यक्रम पनि अघि बढेका छन्। विशेषज्ञ सेवा थप हुँदै गएको छ। सरकारले कर्णालीलाई एकदमै ‘फोकस’ गरेर समन्वय गरिरहेको छ। जसका कारण धेरै इच्छुक भएका हुन्।

तर, यसो भनिरहँदा कर्णालीमा धेरै चुनौती पनि छन्।

राम्रो वातावरण बनाएर सबैलाई मिलाएर लैजान सक्ने व्यक्तिको खाँचो भएको त्यहाँ कार्यरत एक चिकित्सक बताउँछन्।

‘भौगोलिक हिसाबमा टाढा छ। सरकारको सहयोग अझै लिनुपर्ने छ,’ उनले भने, ‘सबैका कुरा सुन्ने राजनैतिक आग्रह, पूर्वाग्रह नराख्ने मानिसको खाँचो छ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

वरिष्ठता र पोखराका सन्दर्भमा धेरैले मानेका डा. बुद्धिबहादुर थापाले हाँकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अबको उपकूलपति को बन्ने भन्नेमा पनि उत्तिकै चासो छ।

उनी प्रतिष्ठानका पहिलो उपकूलपति हुन्। उनको कार्यकालपछि उपकूलपतिको दौडमा डा. ध्रुव अधिकारी, डा. भरत खत्री, डा. श्रीकृष्ण श्रेष्ठलगायत १२ जना छन्।

पोखरा उपकूलपति नियुक्तिका सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीको चासो निर्णायक बन्ने अनुमान धेरैको छ।

प्रतिष्ठानलाई नेतृत्व गर्नका लागि प्राज्ञिक क्षमता बुझेको मानिसको खाँचो रहेको पूर्वउपकूलपति डा. थापा बताउँछन्।

उनका अनुसार प्रतिष्ठानमा थुप्रै चुनौती छन्।

‘हामीले ढोकामात्रै खोलिदिएका छौं,’ उनले भने, ‘प्रतिष्ठानमा भएका चुनौतीलाई व्यवस्थापन गर्न सक्ने नेतृत्व आवश्यक छ।’

एमबिबिएसलगायत अन्य कार्यक्रम पनि चलाउनुपर्ने छ। विद्यार्थीका लागि होस्टल, ल्याब, इन्टरनेटलगायत सुविधाको थप व्यवस्थापन गर्नुपर्ने उनले बताए।

नयाँ आउने उपकूलपतिले टिम बनाएर काम गर्ने हो भने धेरै समस्या हल हुने उनको भनाइ छ।

सरकारको नियम कानुन बुझेको र प्रतिष्ठानको र अस्पतालको नेतृत्व लिन सक्ने व्यक्तित्व चाहिने थापाको भनाइ छ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीनजनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ।

तीनबाट प्रधानमन्त्री ओलीले एकजनालाई उपकुलपति चयन गर्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय