बिएन्डसीलाई जबरजस्ती सम्बन्ध दिए तत्काल सत्याग्रह सुरु गर्छु : गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासेको कालो धनको लगानी स्थापित गर्न निजी संस्थाको दुषित स्वास्थ पुर्तिका लागि कानुन बनाउने र राज्य कब्जा गर्ने गरेको आरोप लगाएका छन्।

राजधानीमा पत्रकार सम्मेलन गर्दै डा. केसीले ओलीलाई अपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक भएको दावी गरे।

‘आफ्ना अर्थ-राजनीतिक साझेदारको झापास्थित निजी मेडिकल कलेजलाई गैरकानुनी सम्बन्धन दिलाउन ओली मन्त्रीमण्डलका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय तथा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायत नैतिकताहीन स्वार्थी पदाधिकारी तथा अन्य आसेपासेलाई उनले परिचालन गरी रहेको कुरा सर्वत्र सार्वजनिक भैरहेका छन्’, उनले भनेका छन्।

प्रधानमन्त्री के.पी.शर्मा ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशन बमोजिम चिकित्सा शिक्षा ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउनु अनैतिक हर्कत भएको र त्यो क्षम्य नहुने उनको टिप्पणी छ।

एक दशक समयदेखि दुरदराजका नेपालीसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुग्नुपर्छ तथा सबै वर्गका योग्य विद्यार्थीले इच्छाएको विषय पढेर चिकित्सक वा स्वास्थ्यकर्मी बन्न पाउनुपर्छ भनेर लड्दै आएकोमा सरकारले त्यसलाई लत्याउन खोजेको केसीको भनाइ छ।

‘चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार २०८० फागुनसम्म सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशका कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुग्नैपर्छ। तर, प्रधानमन्त्री ओलीले आफूनिकट माफियाहरूको त्यसमा तगारो हाल्ने काम गरिरहेका छन्’, उनले भने।

उनले ओलीको सत्तारोहण राजनीति भ्रष्टिकरण, राजनीतिको भिजिलान्तेकरण र राजनीतिको अपराधीकरणमा आधारित भएको बताए।

डा. केसीले २०२८ साल देखि २०२९ सालसम्म ओली झापाका ग्रामिण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएको अदालतले पुष्टि गरिसकेको बताए।

‘उनी धर्मप्रसाद ढकाल, ज्ञानप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद विमली, रुद्रकान्त राजवंशी, ईश्वरी चुडाल, दुर्गा खरेल, ज्ञान बहादुर बस्नेत, कर्ण बहादुर गौतमको हत्यामा संलग्न व्यक्ति हुन्’, उनले भने, ‘अदालतले समेत व्यक्ति हत्याको घट्नामा संलग्न भनी हत्यारा ठहर गरेको व्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारीमा पुग्न दिनु हामी नेपाली जनताको पनि दुर्भाग्य हो। एक सत्याग्रहीको नाताले त्यसको समेत नेतृत्व लिन हामी तयार छौं।’

चिकित्सा क्षेत्र सुधार तथा सुशासनका लागि १९औं पटकसम्म आमरण अनसनसहितको सत्याग्रह बसी सकेको सत्याग्रहीका नाताले बिएन्डसीलाई चोर बाटोबाट दिन लागिएको सम्बन्धन प्रक्रियालाई रोक्न उनले माग गरेका छन्।

‘अनियमिततामा सम्लग्न केयु र विपी प्रतिष्ठानका पदाधिकारीले पनि तत्काल राजीनामा गर्नुपर्छ। प्रधानमन्त्री ओली तथा उनले राज्य कब्जा गर्नका लागि उच्च पदमा नियुक्त गरेका मतियारलाई पदमुक्त गराई कानूनी जवाफदेहीताका लागि आवश्यक पहल कदमी लिनसमेत सम्पूर्ण सरोकारवाला तथा नागरिकलाई अपिल गर्छौं’, उनले भनेका छन्।

चैत्र ४ गते चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन लगाएको भन्ने सूचना आएको भन्दै उनले आपत्ति जनाए।

‘आयोगका पदाधिकारीलाई सम्बन्धन दिन नमानेमा अख्तियारमा हालै अवैध रूपमा नियुक्त गरिएका पदाधिकारीमार्फत मुद्दा लगाउनेसम्मका धम्कीसमेत दिएका छन्। त्यसरी आयोगको बैठक बोलाएर ऐनविपरीत जबर्जस्ती सम्बन्धनको प्रक्रिया अघि बढाएको खण्डमा प्रधानमन्त्री ओलीको राजीनामाको मागसमेत राखेर तत्काल सत्याग्रह सुरु गर्ने घोषणा गर्छौं’, उनको चेतावनी छ।

One thought on “बिएन्डसीलाई जबरजस्ती सम्बन्ध दिए तत्काल सत्याग्रह सुरु गर्छु : गोविन्द केसी

  1. फेरी !!!
    ” बिएन्डसीलाई जबरजस्ती सम्बन्ध दिए तत्काल सत्याग्रह सुरु गर्छु ”
    “ चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मेडिकल माफियाहरूको संरक्षण गर्ने काम भइरहेको आरोप लगाएका छन्।“
    we believe this is pure malignant grandiose Narcissism narcissists !!!!
    ओह, वाह, कस्तो प्रकारको दुई जिब्रे कोब्रा हो यो श्री ३ सम्राट ? हामी यस दुर्गम क्षेत्रका साधारण नागरिकहरू वास्तवमै धेरै नै यस किसिमको नक्कल खेलबाट पीडित छौं ! हामी अब उनको खेल र राजनीतिक महत्वाकांक्षी को बारे मा धेरै धेरै शंकास्पद छौं ! कुनै लाज छैन शरम छैन यसलाई !!! यस धूर्त व्यक्तिलाई कस्तो दुई किसिमको अनुहार लागेको छ र उसले कसरी झूटो भोक हडताल गरेर सरकारलाई तर्साउनु, धम्काउनु चाहन्छ !!! समय समयमा, हामी आम नागरिकहरू आधारभूत मानव अधिकार र स्वास्थ्य सेवाबाट समेत वञ्चित यस प्रकारको नाटक खेलबाट पीडित छौं। उनको धूर्त धम्कीबाट स्वास्थ्य क्षेत्रमा हामीलाई के सुधार दिइएको छ ? वरिष्ठता, जेष्ठता नियुक्ति सम्बन्धी उनको अडानलाई उसका अन्धा अनुयायीहरू, हरूले लोभका साथ स्वागत गरे, तर किन अहिले सम्म धेरै कनिष्ठ निर्देशक र औषधीको डीन अझै उनीहरूको पदमा छ ??? यो आश्चर्यजनक र धेरै रहस्यमय छ !!! किन यस मानिस, यस विषयमा यति चुप लागिरहेको छ ??? कुनै उत्तर उहाँसँग छ !!! ऊ आफ्नो घरको सुधारसमेत गर्न सक्दैन तर जताततै नाक घोच्नु खोज्छ !!! उसको वर्तमान डीन संग के सम्बन्ध छ कि उसले एक शब्द विरुद्ध पनि केही भन्न सक्दैन !! किन ?? सबैलाई थाहा छ कि उसले माफिया, दलाल र व्यापार मानिसको प्रतिनिधित्व गर्ने हुन, रूपमा अघिल्लो सबै डीनलाई लेबल गरेको थियो !!! अब जुनियर डीन कसको प्रतिनिधित्व गर्दछ, यसको उत्तर उहाँसँग छ !!!!

Leave a Reply to Ram Nepali Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय